|

सुर्खेत : कर्णाली प्रदेशसभा नियामावली, २०७४ सर्वसम्मत रूपमा पारित भएको छ। कर्णाली प्रदेशको पहिलो अधिवेशनअन्तर्गत मंगलबार बसेको सातौँ बैठकले नियमावली सर्वसम्मतले पारित गरेको हो। 

नियमावली मस्यौदा समितिकी संयोजक सांसद सीता नेपालीले संसदको अघिल्लो बैठकमा नियमावली पेस गरेकी थिइन्। कर्णाली प्रदेशसभा संचालनका लागि तयार पारेकाे नियमावलीमा आठ अनुसूची, २६ परिच्छेद र २२२ नियम रहेका छन्। प्रदेशसभा बैठकको प्रारम्भमा नियमावलीमाथि दफावार छलफल भएको थियो।

नियमवालीमाथि संसादहरूले आफ्ना राय तथा सुझाव पेस गरेका थिए। सांसद विन्दमान विष्ट, पद्मा खड्का, गुलाबजंग शाहलगायतले प्रदेशसभा नियमावलीमा त्रुटि  भएकाले सच्याउनुपर्ने धारणा राखेका थिए। 

सांसदहरूले राखेका सुझावपछि नियमावली समितिका सभापति सीता नेपालीले उक्त नियमावलीलाई संशोधनसहित पारितका लागि सभामा पेस गरेकी थिइन्। लगत्तै सभामुख राजबहादुर शाहीले नियमावलीलाई सभामा निर्णयार्थ पेस गरेका थिए। सर्वसम्मत रूपमा सभाले नियमावली पारित गरेको थियो।

मंगलबार बसेको प्रदेशसभाको अर्को बैठकले कर्णाली प्रदेशको आर्थिक कार्यविधि, २०७४ मा सैद्धान्तिक छलफल सुरु गरेको छ। कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालासहित समितिले तयार पारेको आर्थिक कार्यविधिमा छलफलका क्रममा सांसद चन्द्रबहादुर शाही, धर्मराज रेग्मी, कुर्मराज शाही, देवी वली र विपक्षी दलका सांसद दीनबन्धु श्रेष्ठले सैद्धान्तिक धारणासहित सुझाव दिए। संसादहरूले कर्णाली प्रदेशमा भूगोलका आधारमा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए। प्रत्येक जिल्लामा भएका विकास निर्माणको मूल्यांकन गरी राय सुझाव लिनुपर्ने उनीहरूले बताए। 

सांसदहरूको सुझावपछि बोल्दै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले उक्त विधेयक कानुनी आधारपत्र भएकाले आर्थिक पारदर्शिता र सुशासनयुक्त ढंगबाट बजेट निर्माण गरिने तथा भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्ने गरी काम गर्ने बताए। 

मन्त्री ज्वालाले कहीँ कतै पनि हिनामिना नहुने भन्दै कर्णालीको समृद्धिका लागि आर्थिक कार्यविधि तयार पारिएको बताए। कर्णाली प्रदेशको अर्को बैठक भोलि बुधबार दिउँसो १ बजे बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.