बहिनीको विहे खर्च जुटाउन बम

|

विराटनगर : विराटनगर महानगरपालिकामा गत साउन २७ गते बम विष्फोट गराएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। विष्फोटमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को संलग्नता रहेको भन्दै प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरू सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएकाहरूमा बम बोक्ने सिरहा लक्ष्मीपुरपतार–३ हरिनगरका २० वर्षीय अभिमनु गिरी, भारतबाट बम ल्याउने र राख्ने मोरङ जहदा २ हरिनगराका ५३ वर्षीय मनोजकुमार सिंह र रिमोटबाट बम विष्फोट गराउने सिरहा सुखिपुर ५ का २४ वर्षीय रामरिझन यादव रहेका छन्। बम विष्फोट गराउन उक्साउने मुख्य अभियुक्त सिरहा धनगढीमाई नगरपालिका ३ हनुमाननगरका विक्की भनिने विरेन्द्रकुमार यादव भने फरार रहेकोले खोजी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

प्रहरीका अनुसार बम विष्फोट गराउनका लागि भारतको दरभंगामा गत जेठ महिनामै योजना बनाएको अनुसन्धानबाट खुलेको छ। भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले विभिन्न महत्वपूर्ण स्थान तथा कार्यालयहरूमा बम विष्फोट गराई सर्वसाधरणलाई आतंकित बनाउने उद्देश्य लिएको पाइएको प्रहरीको दावी छ।

प्रहरीले बम विष्फोटन गराउन आउने सिरहाका दुईजना गिरी र यादवलाई सहयोग गर्ने मोरङका मनोजकुमार सिंहलाई शुक्रबार नै पक्राउ गरेको थियो। गिरी र यादवलाई भने २ नम्बर प्रदेश प्रहरीको सहयोगमा शनिबार पक्राउ गरेको जनाएको छ। विष्फोटमा संलग्नहरूलाई विष्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

तराईमा भूमिगत संघर्ष गरिरहेको गोइत नेतृत्वको सो समूह पछिल्लो समय निस्कृय जस्तै थियो। सुरक्षा अधिकारीले सरकारलाई पूर्वी तराईमा पछिल्लो समय कुनै पनि भूमिगत समूहको चलखेल र गतिविधि नभएको भनेर आश्वास्त पार्दै आएका थिए। महानगरपालिकामा दिउँसै विष्फोट गराएर गोइत समूहले आफूहरू निस्कृय पनि छैनौँ भन्ने सन्देश दिन खोजेको सुरक्षा अधिकारीको बुझाइ छ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू सुरुवातमा विष्फोटमा गोइत समूहको संलग्नत स्वीकार्न पनि तयार थिएनन्। उनीहरूले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले बिष्फोट गराएको दावी गर्दै आएका थिए।

महानगरको सिसिटिभी रेकर्ड मोडमा नराखेको पाइएपछि घटना शंकास्पद बनेको थियो। प्रहरीले बजारको सुरक्षाका लागि महानगरपालिका कार्यालय बाहिर सडकमा राखिएको सीसिटिभी फुटेजमा कैद भएको दृष्यलाई आधार मानेर घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

पक्राउ परेका मनोजकुमारले चलाएको मोटरसाइकलको पछाडि बसेर अभिमनुले महानगरपालिका कार्यालयभित्र बम लगेको सिसी क्यामाराको फुटेजमा देखिएको छ। बम राखेर केही समयपछि उनी पैदलै महानगरबाट निस्केको फुटेज प्रष्ट देखिने प्रहरीले जनाएको छ। उनीहरूले बम राखेपछि रामरिझनले रिमोटमार्फत नगरपालिका गेट नजिकै बसेर विष्फोट गराएका थिए।

महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष नजिकै प्यासेजमा रहेको सोफा मुनी राखेर बम विष्फोट गराइएको थियो। विष्फोटबाट पराजुलीले चढ्दै आएको गाडीको सिसा फुटेको थियो। सोफा र प्यासेजमा रहेको दराज धुजाधुजा बनेको थियो।

पक्राउ परेका तीन जनाविरुद्ध विष्फोटक पदार्थसम्बन्धी कसूरमा आइतबार मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको एसपी केसीले बताइ।

बहिनीको बिहे खर्च जुटाउन बम

महानगरपालिकाभित्र बम राखेर फर्किएका अभिमनु गिरीले बैनीको बिहे खर्च जुटाउन विस्फोटक पदार्थ बोकेको बयान प्रहरीमा दिएका छन्। अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारीका अनुसार विक्की भनिने विरेन्द्रकुमार यादवले बम बोकेर महानगरपालिकासम्म पुर्‍याए पैसा दिने भनेपछि गिरी लोभिएको अनुसन्धानबाट खुलेको छ।

आवश्यक अनुसार पैसा दिने भनेपछि बम बोकेर लगेको प्रहरीमा गिरीले बयान दिएका छन्। पक्राउ परेका मनोजलाई पनि वीरेन्द्रकुमार र रामरिझनले आवश्यकताअनुसार पैसा दिने मौखिक सम्झौता गरेको अनुसन्धानमा देखिएको छ।

मनोज विराटनगर क्षेत्रको बारेमा जानकार भएकोले  पैसा पाउने सहमतिपछि उनी विस्फोटमा संलग्न देखिएको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.