|

बुटवल : रक्षामन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशमा पहाडलाई पनि समावेश गर्नुपर्ने बताएका छन्। 

प्रदेश नम्बर पाँचका पहाड र तराई अलग गर्ने सहितको संविधान संसोधन प्रस्तावको विरोधमा पश्चिम नेपालमा आन्दोलन चलिरहेका बेला रक्षामन्त्री खाँणले घुमाउरो शैलीमा त्यसको समर्थन गरे। रुपन्देहीको तिलोत्तमामा तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले आफ्नो व्यापार व्यवसाय नै बन्द हुने गरी आन्दोलन नगरी काठमाडौं केन्द्रित आन्दोलन गर्न सुझाव दिए।

‘चुरे, महाभारत पर्वत, पहाडको वनस्पति, पानी पनि चाहिन्छ, कालीगण्डकी डाईभर्सन नगरी लुम्बिनी प्रदेश समृद्ध हुनसक्दैन, यो प्रदेशको आवश्यकतालाई ध्यानमा राखेर पनि पहाडलाई अलग गर्नुहुँदैन', रुपन्देही-३ का सांसद् समेत रहेका मन्त्री खाँणले भने। 

‘पहाडको चुरे र महाभारतलाई लुम्बिनी प्रदेशमा राखियोस्, पार्टीमा पनि राखेको छु, सरकारमा पनि राखेको छु, मेरो यो स्ट्रोङ भनाई हो', उनले भने– ‘हामीहरु पहाडबाट आएको भएकाले यो प्रदेशमा पहाड चाहियो भनेको हैन, यो प्रदेशलाई समृद्ध बनाउनका लागि पहाड चाहिन्छ भनेको हो।’ 

सरकारले दर्ता गरेको प्रस्तावको विरोधमा मन्त्री पद छाड्न दबाव आएको भन्दै उनले भने– 'मेरा लागि सरकारी पद ठूलो कुरा हैन, सबै पद छाड्न सक्छु, तर नेपाली कांग्रेस छाड्न सक्दिन त्यो मेरा मित्रहरुले बुझिदिनुस्।’ 

उनले कांग्रेसले कुनै कालखण्डमा गल्ती गरेको भए कांग्रेसलाई सुधारेर लैजाने भन्दै जनताको विपक्षमा कांग्रेस जान नसक्ने बताए। संविधान संसोधन प्रस्तावको समर्थनका लागि आन्दोलनसँगै गोप्य शर्तहरु राखिएको भन्दै उनले गोप्य शर्त राखेर बाहिर आन्दोलन नगर्न आग्रह गरे। ‘बाहिर आन्दोलन गर्ने र गोप्य सहमति गरेर कार्यकर्ताहरुको मन बिथोल्ने काम नगर्नुहोला', उनले भने– ‘कसैलाई लोकमान हटाउनुछ, कसैलाई के शर्त राख्नुछ, त्यसैले संसोधनको विरोध पनि भएको छ।’  

उनले नेताहरुलाई भोट र पार्टीभन्दा माथि उठेर राजनीति गर्न आग्रह गर्दै भने– ‘कांग्रेस, एमाले, माओवादी, मधेशकेन्द्रित दलहरु सँगै बढ्ने हो, यसमा कसैसँग विमति छैन, तर सबैले सबैभन्दा माथि देशलाई राख्नुपर्छ।’ 

संघीय लोकतान्त्रिक व्यवस्थाको समेत विरोधका स्वरहरु सुनिन थालेको भन्दै उनले त्यसबाट पछि नहट्न आग्रह गरे। ‘संघीय लोकतान्त्रिक व्यवस्थामा जाने भनिसक्यौं, सफल बनाउनुपरेको छ, यसको विकल्प छैन', उनले भने। 

उनले तिलोत्तमामा मेला आयोजनाका लागि छुट्टै जग्गाको व्यवस्था गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए। मन्त्री खाँणले भैरहवामा स्तरोन्नति भइरहेको विमानस्थल, बेलहिया-बुटवल सडक खण्ड, तिलोत्तमा चक्रपथजस्ता आयोजनाका लागि निर्माण सामग्री उत्खनन्मा सहयोग गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.