काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ । अन्य सवारीसाधनको तुलनामा दुइपांग्रे सवारी दुर्घटना धेरै हुँदा त्यसमा पनि पछाडि बसेको मान्छेको हेड इन्जुरीले मृत्यु हुने गरेको भन्दै पछाडि सवार यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागिएकोे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले जानकारी दिए।
मोटर साइकल र स्कुटरमा चढ्ने दुवैजनाले हेल्मेट लगाउनुपर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेको बताउँदै उनले भने, "यातायात व्यवस्था ऐन २-३ महिनामा स्वीकृत हुन्छ साथै ६ महिनामा यो कार्यान्वयनमा आउँछ।' सवारीले लगाउने हेल्मेट पनि साधारण नभई आइएसओ स्ट्याण्डर्डको हुने पन्तले बताए। ‘नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको जनाउँदै आफूहरू त्यहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ।
महानगरीय ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, उपभोक्ता अधिकार मञ्च, उद्योग वाणिज्य संघ र विज्ञहरूको छलफलमा केही महिनाअघि सो मापदण्ड तयार भएको थियो। दुइपांग्रे सवारीसाधनमा सवार दुवैजनाले हेल्मेट अनिवार्य प्रयोग गरे दुर्घट्नामा मृत्यु हुने जोखिम कम हुनुका साथै सुरक्षित पनि भइने हुँदा सबैले अनिवार्य प्रयोग गर्न सुझाव पनि दिएको थियो।
हाल दुर्घटनामा मृत्यु हुनेमध्ये ९६ प्रतिशत मोटरसाइकल र स्कुटरमा सवार व्यक्ति रहने गरेका छन्। यसैबीच वैशाख मसान्तसम्ममा मादक पदार्थ सेवन गरी सवारी चलाउने २६ हजार ५ सय ९८ जना चालक कारवाहीमा परेका छन। आर्थिक वर्ष २०७५-०७६ को वैशाख मसान्तसम्म उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३ लाख ८४ हजार २ सय ६ जना चालक कारवाहिमा परेका छन् । वैशाख मसान्तसम्म उक्त कारवाहिबाट २५ करोड ३७ लाख ११ हजार राजस्व दाखिला भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए। वैशाख मसान्तसम्ममा मादक पदार्थ सेवन गरी सवारी चलाउने २६ हजार ५ सय ९८ जना चालक कारवाहिमा परेका छन।
जसमा पुरुष २६ हजार ४ सय ९ र महिला १ सय ९ जना रहेका छन। लेन अनुशासन उल्लंघन गरी सवारी चलाउने पुरुष ३२ हजार २७ जना रहेका छन् भने महिला १ हजार ३ सय ५० जना चालक कारवाहिमा परेका छन। २०७४ साल वैशाख १ गतेबाट सुरु गरिएको हर्न कारवाहिमा ०७६ को वैशाख मसान्तसम्म १२ हजार २ सय ७१ जनालाई कारवाहि गरिएको छ । २०७५ मंसिर ८ गतेबाट सुरु गरिएको ह्वील लक अन्तर्गत २ हजार ८ सय ७६ सवारी साधन कारवाहिमा परेका छन् ।
सीसीटिभीको सहायताले ५ हजार ६० जनालाई कारवाहि गरिएको छ। २८ जनाको सवारी चालक अनुमति पत्र निलम्बन गरिएको छ। १७ हजार ९ सय ५२ वटा सवारी चालक अनुमतीपत्रमा प्वाल पारिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।