उदयपुर : करिव आठ दशकअघिको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता आइसकेको छ। युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको परिवर्नतन र प्रविधिको विकासले दशैंलाई फरक बनाउँदै लगेको पाइन्छ।
भौतिक पूर्वाधारमा आएको विकास, सूचना प्रविधिमा भएको परिवर्तन दशैं बदलिएको हो। चेतनाको विकास र प्रविधिको विकासले दशैंको प्रचार प्रसार बढाउँदै लगेको छ भने यसको महत्वलाई पनि बढवा दिएको बताइन्छ।
नेपाल धर्म निरपेक्ष राष्ट्र हो। तर, पनि सबै धर्मावलम्बी र जातजातिको नजरमा दशैं साझा पर्वको रूपमा विकास हुँदै गएको छ। दशैंमा गाउँका घरघरमा पुगेर क्लाँटा बाजा बजाउँदै मालाश्री धून बजाउने चलन हट्दै गएको छ। अहिले त्यो धुन रेडियो, टेलिभिजनमा प्रशस्त सुन्न पाइन्छ। क्लाँट बजाउँदै विभिन्न धून गुञ्जाउँदै दशैंमा रौनकता आधुनिक बन्दै गएको छ। यता वैदेशिक रोजगारीले दशैंको रौनक घट्दै गएको छ।
वैदेशिक रोजगारीले गाउँमा रौनक हराएको दशैं
प्रयाः गाँउघरका युवा वैदेशिक रोजगारीमा रहेकाले गाँउघरमा दशैंको बेला पिङ हाल्ने, बाटोघाटो सरसफाई गर्ने विभिन्न लोक संस्कृति कार्यक्रम आयोजना हुने परम्परा लोप हुँदै गएको छ।
घटस्थापानको सातौँ दिन अर्थात् फूलपाति भित्रिदासम्म पनि गाउँघरमा दसैंको उति चहलपहल नभएको बताइन्छ। रोजगारीका लागि युवा पलायनसँगै आर्थिक अभावमा गत वर्षहरूको तुलनमा चहलपहल कम भएको बताइन्छ। गाउँघरमा वृद्धा, महिला र बालबालिका मात्रै बस्छन्।
राम्रो लाउने र मीठो खाने मान्यता बोकेको चाड दशैं रेमिट्यान्सका कारण वर्षभरी नै राम्रो लाउने र मीठो खाने चलन बढ्दै गएको छ। दशैंमा उत्सहा नआएको युवा कुशल राउतको भनाइ छ। ‘दशैंमा मीठो खाने र राम्रो लाउनुपर्ने बाध्यता हटिसकेको छ,’ राउत भन्छन्, ‘पहिले पहिलेको जस्तो २/४ महिनाअघि नै दशैंका लागि जोहो गर्ने बानी हटिसकेको छ, त्यही भएकाले दशैंमा रौनक नआएको हो।’
महिनौं पहिलेदेखि मासुका लागि खसी बोका, राँगा र सुंगुरको जोहो गर्ने चलन पनि लोप हुँदै गएको छन', राउत थप्छन्, ‘अहिले गाँउमा पनि खसी, राँगा, सुंगुरको फर्म छ, त्यहीबाट किनेर ल्याउने चलनले पनि दशैंको महत्व घट्दै गएको हो।’
चामल चिउरा वर्षभरी नै घरमै मौज्दात भइरहेकाले पनि दशैंको महत्त्व घटदै गएको ग्रामीण क्षेत्रका सर्वसाधारण बताउँछन्। ‘दशैंका लागि मास र चालमको जोहो गर्न आतिनुपर्ने अवस्था रहेन,’ ताप्ली गाँउपालिकाको २ का ७९ वर्षीय रणबहादुर विकले भने, ‘अहिले चाहिएको दिन आवश्यक परेको मासु चालम घरमै आउँछ, त्यसैले खानुभन्दा एक दिनअघि मगाउँदा व्यापारीले घरमै ल्याइदिन्छ।’
‘हुर्केका तीन भाई छोरा सवै विदेशमा छन, सबैले पैसा पठाउने हुन, मेरो दशैं नाति र नातिनासँग हुन्छ। ढुंगामाटोको घर, गोरेटो बाटो, आफैंले कुटेर तयार गर्नुपर्ने चिउराका कारण गाउँ दशैं धेरै छिटो आउने गर्दथ्यो' उदयपुरगढी गाँउपालिका ७ भीमबहादुर बस्नेत भन्छन, ‘घर सोह्र श्राद्ध लाग्नुअगावै लिपपोत गरेर दसैं तिहारसम्मका लागि तयार गरिन्थ्यो, अहिले सिमेन्टीको घर छ, लिपोत गर्नु पर्दैन, चिउरा चामल र कपडाको पहिले नै जोहो गर्नु पर्दैन, अहिले तत्कालै जम्मा गर्न सकिन्छ।’
घर सिंर्गान लिपपोत गर्न, चिउरा, चामलको जोहो गर्न, मासुको बन्दोबस्त गर्न एक महिना अघिबाटै थालिने भएकाले दशैं आएको रौनक आउने गदथ्यो। तर अहिले टीकाको दिन आउन ३ दिन बाँकी रहँदा पनि गाउँमा दशैंको रौनक नआएको उनले बताए। यवा पिँढी वैदेशिक रोजगारीमा भएकाले गाँउमा दशैंको रौनकमा परिवर्तन आएको छ। जसको कारण धर्म सँस्कार मान्ने चलन पनि बदलिएको बताइन्छ।
८२ वर्षे वृद्धको नजरमा दशैं
त्रियुगा नगरपालिका ११ का ८० वर्षे गंगाबहादुर क्षेत्रीको अनुभवामा पनि दशैं मनाउने तरिका धेरै परिवर्तन हुँदै गएको छ। अनुभव साट्दै क्षेत्री भन्छन्, ‘भेटघाट, उल्लासा बोकेको दशैंको धार्मिक महत्व र समाजिक महत्व अहिले विज्ञानसँग जोडिएको छ।’
उनी अगाडि थप्छन् 'पहिला पहिलो दशैं १५ दिनसम्म मनाउने चलन थियो। सरकारी विदा लामो हुन्थ्यो। अहिले त्यो चलन छैन। झण्डै पाँचदेखि ७ दिन मत्र अहिले सरकारी विदा हुने गरेको छ। उनले शब्दमा पहिला नदीनाला ठूलाठूला हुन्थे, वर्षामा बाढी आउँथ्यो, पुर्खाले पैदलै हिडेर नदी तर्नुपथ्यो, अहिले सडक बनेका छन, पुल बनेका छन। यातयातका आधुनिक सवारी साधन भएकाले दशैं छोटिदै गएको हो।’
८२ वर्षे क्षेत्री अगाडि भन्छन्, 'टाढाटाढाबाट घर आउनु पथ्र्यो, पुल थिएन, टाढा भएकाहरुको केही खवर आउँदैन थिए, अहिले टेलिफोनमै खवर आउँछन, जतजातै सडक पुगेको छ, अनि दशैं पनि फेरिदै गएको हो।’
एकातिर भौतिक पूर्वाधारमा आएको परिवर्तनले दशैंमा परिवर्तनमा आएको छ भने अर्कोतिर विज्ञानले दशैंको समाजिक महत्व बढाउँदै लगेको छ। ‘सोह्रसश्रा भरी पितृको पुजा हुन्थ्यो,’ उनि भन्छन, ‘अनि नौरथा लागेपछि विभिन्न देवि देवताको पुजा गर्ने चलन थियो, अहिले हट्दै गएको छ।’
विकास र सूचना प्रविधिले छोटिदै दशैं
पूर्वसंविधानसभाका सदस्या तथा दशैंलाई नजिकबाट नियाल्ने नेकपा जिल्ला नेता महोहनबहादुर खत्री पनि दशैं परिवर्तन हुँदै गएको बताउँछन्। खत्री पनि भन्छन्, ‘हिजोको दिनमा पूर्वाधारको विकास थिएन। सूचना संचारमा आज जस्तो क्रान्ति भएको थिएन। आजको जस्तो भेटघाट र खबर आदनप्रदानमा सहज र सजिलो थिएन।'
उनका अनुसार खोला नालामा पुलपुलेसा थिएनन। खोलावारी खोलापरी भेटघाट बर्षासंगै दुर्लभ हुन्थ्यो। मरे बाचेको खबर पाउन पनि गारो हुन्थ्यो। अर्को वर्ष मरिन्छ वा बाचिन्छ भन्ने थियो। प्राकृतिमाथि जित हासिल गरेको भन्दै भेटघाट गरि खुसी साट्न पाउँदा दशैंको महत्त्व र रमाइलो अर्कै थियो।
तर, आज सूचनाको क्रान्ति र पूर्वाधारमा विकासको पहुचले हामी सबैलाई खुम्च्याउँदै लगेको छ। जसको कारण दशैंमा परिवर्तन आएको खत्रीको अनुभव छ। विकास र प्रविधिले हामी विकसित नागरिक भएका छौँ। विकासको गतिसँगै दशैंलगायतका सबै धर्मालम्बीहरूको आ–आफ्नो पर्वहरूलाई पनि समय सापेक्ष परिमार्जित र विकासित गर्नु पर्दछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।