|

रुपन्देही : प्रदेश ५ का राष्ट्रिय समाचार समितिकर्मीका लागि आयोजित तीनदिने क्षमता विकास तालिम बुटवलमा सोमबारदेखि शुरु भएको छ। रासस प्रदेश ५ बुटवलको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा शुरु भएको तीनदिने तालिम उद्घाटन गर्दै प्रदेश आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले रासस बलियो हुँदा मिडियामा सकारात्मक प्रभाव पर्ने बताए।

'रासससँग सबै मिडिया जोडिएको हुँदा सकारात्मक विषयलाई महत्व दिएर सम्प्रेषण गर्न आवश्यक छ', उनले भने। राष्ट्रिय  विषयमा बहस हुँदा मिडियाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले पत्रकारले पनि विधागत हिसाबले समाचार संकलन गर्ने विषयलाई प्राथमिकता दिन आवश्यक रहेको बताए। उनले भने, 'कुनै बेला सरकार र मिडियाबीचमा विभिन्न कारण दूरी बढ्छ। सरकार र मिडियाबीचमा ग्याप हुन नदिन राससले प्रमुख भूमिका खेल्नुपर्छ।'

उत्पादन र प्रसारणको विन्दु एउटै नहुँदा समस्या आउने भएकाले प्रदेशस्तरबाटै मिडिया सञ्चालन आवश्यक रहेको उनको भनाइ थियो। मन्त्री केसीले प्रदेश र स्थानीय तहले गरेका कामलाई स्थानीय नागरिकसम्म पुर्‍याउनका लागि सकारात्मक भूमिका खेल्न राससकर्मीलाई आग्रह गरे। उनले भने, 'संघीय सरकारले एउटा दृष्टिकोण दियो भने काँध थाप्न हामी तयार छौँ। यसको मोडल कस्तो बनाउँदा राम्रो हुन्छ भन्नेबारे धारणा बनाउन जरुरी छ।'

रासस बुलेटिन प्रदेशबाट आउने

कार्यक्रममा राससका अध्यक्ष श्यामल अधिकारीले रासस बलियो भए मात्र राज्य बलियो हुने बताए। उनले स्थानीय तहसम्म राससको गुणस्तरीय सेवा प्रदान गर्न प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउँदै यसबाट सरकारलाई नै फाइदा पुग्ने विचार व्यक्त गरे। 'हामीले प्रदेश ५ बाटै राससको बुलेटिन शुरु गर्ने तयारी गरेका छौँ। यसले प्रदेश सरकारका गतिविधि जनतासम्म पुर्‍याउन मद्दत गर्छ', उनले भने। 

अध्यक्ष अधिकारीले राससले सरकार र जनताबीचमा पुलको काम गरेकाले यसलाई कमजोर नसम्झन आग्रह गरे। उनले राससका प्रदेशस्तरका सञ्चारकर्मीको प्रतिस्पर्धी क्षमता विकास गर्न जरुरी रहेकाले त्यसमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरे।

अध्यक्ष अधिकारीले राज्यलाई बलियो बनाउन निर्भीक र निडर भएर काम गर्न राससकर्मीलाई सुझाव पनि दिए। राससका महाप्रबन्धक ओपेन्द्र शर्माले रासस मिडियाको पनि मिडिया भएकाले यसलाई तल्लो तहसम्म विस्तार गर्ने योजना बनाइएको बताए। समाचार बैंकका रुपमा स्थापित राससका सेवा विस्तार गर्ने क्रममा प्रदेशस्तरबाटै समाचार बुलेटिन निकाल्ने गरी तयारी गरिएको जानकारी उनले दिए।

राससको सेवा प्रभावकारी र गुणस्तरीय बनाएर सबै प्रदेशबाट बुलेटिन सञ्चालन गर्ने योजना रहेको उनको भनाइ थियो। राससका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँले राससका समाचार आधिकारिक र सन्तुलित हुने भएकाले यसको महत्व बढेको बताए। उनले राससको सेवा सुदृढ गर्दै प्रदेश संरचनालाई बलियो बनाउन प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए।

प्रदेश सरकारका काम जनतासामू लैजाने महत्वपूर्ण काम राससले गरेको जनाउँदै उनले अब राससको औचित्यमाथि प्रश्न खडा गर्ने कसैको हैसियत नभएको स्पष्ट पारे। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले राससले प्रादेशिक ढाँचामा काम गरिरहनु पर्दा प्रदेश सरकारका प्राथमिकता र यसले गर्न खोजेको के हो भन्ने विषयमा रिपोर्टिङ गर्न जरुरी रहेको बताए।

राससका प्रदेश प्रमुख भरत केसीले प्रदेश र स्थानीय तहका समाचारकर्मीले नयाँ विषय उठाई समाचार संकलन गर्न आवश्यक रहेको बताए। तालिममा प्रदेश ५ का १२  जिल्लाका ३० पत्रकार सहभागी छन्।

तालिममा पत्रकार हस्त गुरुङ र गोपाल गुरागाईँ, राससका सम्पादक हरि लामिछाने र नारायणप्रसाद न्यौपानेले  विभिन्न विषयमा प्रशिक्षण दिनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.