लोप हुन नदिने अठोटमा ६० वर्षीया फूलमाया

|

बारा : बाराको निजगढ १३ डम्बरपुरकी ६० वर्षीया फूलमाया लोको ससुराले सुरु गरेको पानीबाट चल्ने कुटानपिसानको परम्परागत मिल चलेको ५३ वर्ष पूरा भइसक्यो। घट्टका भमरा फेरियो। काठलाई विस्थापित गर्दै फलामको भमरा जडान भएको छ। कुटानपिसानको शैली फेरियो, आधुनिक मिलले पानी घट्टलाई विस्थापित गर्दै लगिसक्यो तर उनको यो घट्ट निरन्तर चलिरहेको छ।

काठको साँघुरो कोठाभित्र दुईवटा घट्ट आफ्नै तालमा घुमिरहेका छन्। सोलीबाट मकैका दाना फुत्त–फुत्त खसिरहेका छन्। आधा दर्जन मकैका बोरा पालोमा छन्।

घट्टको मुनिबाट कलकल गर्दै पानी बगिरहेको छ। घट्टको घिरघिर र पानीको कलकलको आवाज सुन्दा आनन्द लाग्छ। अनि घट्टमा पिँधेको पीठोको मिठो बास्ना आइरहेको छ। त्यो बास्नाले घट्टमा पिँधेको पीठोले बनेको ढिँडोको स्वादको याद दिलाउँछ।

घट्टकी साहुनीकी छोरी अस्मिता लो पिधिँएका पीठो उठाउँदैछिन्। लकडाउनको कारण उनी आजकल घरमै भएकाले बिहानको समयमा आमालाई घट्टको काममा सघाउँछिन्। पीठो उडेर उनको कपालमा बस्न पुग्छ। त्यतिकैमा उनी लजाउँदै बाहिर निस्किन्छिन्। कुलोबाट घट्टमा पानी झर्ने प्वाल बेला–बेलामा झ्यासले टालिन्छ। फूलमाया छोरीलाई त्यता पठाउँछिन्।

अचानक एउटा घट्ट बन्द हुन्छ। ‘सोलीबाट मकैको दाना एकैपटक धेरै खसेपछि जाम हुन्छ,’ फूलमाया भन्छिन्–त्यसैले हेरिरहनुपर्छ।’ त्यसैबेला उनी तयार भएको पीठो जम्मा गरेर बोरामा राख्छिन्। पीठो झर्ने ठाउँ खाली गरेर पुनः सुचारु गर्छिन्।

स्वादका लागि पिध्छन्

पहिले पीठो पिध्न ७ दिन कुर्नुपर्थ्यो। ‘गाउँभरका सबैको एकै ठाउँबाट पिध्नुपर्दा कहिलेकाहीँ त १० दिनसम्म कुर्नुपर्थ्यो,’ फूलमायाले पुरानो दिन सम्झिइन्। अहिले समय फेरिएको उनको अनुभव छ।

‘जताततै मिल खुलेको छ,’ फूलमायाले भनिन्, मनपराएर यहीँ ल्याउनेहरुको पिधिदिन्छौं।’ घट्टमा पिँधेको पीठो राम्रो हुने, मीठो हुन्छ, चाँडै नबिग्रिने थाहा पाएकाहरु अझै आउने गरेको उनले सुनाइन्। कुटान शुल्कबापत अन्न नै पाथीको मानोका हिसाबले लिने गरेको उनले जानकारी दिइन्।

ठो खोज्दै आउँछन्

जिल्ला बाहिरबाट समेत घट्टको पीठो खोज्दै उनको घट्ट आउनेहरू पनि छन्। हेटौंडा, वीरगञ्ज लगायतका शहरबाट समेत पीठोका लागि आउने गरेको फूलमायाले बताइन्। उनी पीठोसमेत बिक्री गर्छिन्।

‘ढिँडो र रोटीका लागि कोदो र मकैको पीठो खोज्न आउँछन्,’ उनले भनिन्, 'घट्टको पीठो मीठो हुन्छ, अलिकति भए पनि चाहियो आमा भन्छन्। अर्डरअनुसार खोजेर पीठो खोज्नेहरुलाई दिँदै आएकी छु।

धैरथोर जति भए पनि चाहियो भन्दै आउनेलाई उनी खाली हात फर्काउँदिनन्। पर्खिएर लिएर जान्छन्। मकै नङघ्याएर, छोडाएर अनि पिध्नेबेलासम्म कुरेर लैजाने ग्राहक पनि आउँछन् उनकोमा।

घट्टको पानीबाट सिँचा

ससुराले घट्ट स्थापना गर्दा खासै बस्ती थिएन। घट्ट चलाउन शक्तिखोलाबाट कुलो बाँधेर ल्याएको पानी अहिले स्थानीयलाई सिँचाइ गर्नसमेत सहज भएको छ। विस्तारै बस्तीको विकास भयो।

खेतीपाती सुरु भयो। घट्टका लागि बनाइएको कुलोको पानी स्थानीय किसानका लागि सिँचाइको माध्यम बनेको स्थानीय तिलक घलान बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.