|

काठमाडौं : लकडाउनकै समयमा ओखलढुंगा दूधकोशी किनारस्थित व्याकुल माइला गोल्डकप मैदानको मर्मत गरिएको छ। पक्की वाल नहुँदा वर्षेनी माटो झर्ने भएकाले खेलमैदान मर्मत गरिएको हो।

राष्ट्रिय गानका सर्जक व्याकुल माइलाले वर्षेनी खेलमैदानमा वालको ढिस्को झर्ने भएकाले दीर्घकालीनका लागि खेलमैदान बनाएको बताए। ‘खेलमैदानको वाल माटैमाटो भएकाले वर्षेनी माटो झर्ने समस्या आयो,’उनले भने,‘माटो झर्दा खेतीगर्ने बारी पनि मासिने भयो। त्यसैले लकडाउनको समयमा मैदानको पक्की वाल बनाएका हौँ।’

उनका अनुसार संघीय सांसद क्षेत्र विकास कोषबाट १० लाख बजेट विनियोजन भएको थियो। त्यसै बजेटबाट खेलमैदानको मर्मत गरिएको हो। उनले भने,‘खेलमैदान बनाउने काम सकिसकेको छ। अबको खेलमा दर्शक मज्जाले बसेर खेल हेर्न पाउनेछन्। खेल खेल्दा माटो बग्ने,धुलो उड्ने समस्या हटे्नेछ।’ 

हरेक वर्षको कोजाग्रत पूर्णिमाको अवसरमा व्याकुल माइला गोल्ड कप सुरु हुने गर्छ। व्याकुल माइला जन्मिएको ठाउँलाई चिनाउँदै गाउँको विकासका लागि उनले २०६८ सालदेखी खेल आयोजना गरेका थिए। उनले यस वर्ष कोरोना त्रासलाई हटाउनको लागि गोल्डकप आयोजना गर्ने सोचमा रहेको जानकारी दिए।

‘कोरोना भाइरसको महामारीले फुटबल प्रशिक्षण,सांस्कृतिक नाच प्रशिक्षण स्थगित भएको छ,’उनले भने,‘खेल स्थगित गर्ने अहिले सम्म निर्णय भएको छैन। सबै कोरोना त्रासमा छन। त्यही त्रास हटाउन मनोरञ्जनको लागि खेल गराउने की भन्ने सोचमा छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.