सरकारी एम्बुलेन्स बोकेन, जिपले लग्यो बिरामी

|

पाल्पा : एउटा विद्यालय। त्यही विद्यालय परिसरमा सानो लिचीको रूख। रूखको फेदमा निर्माण भएको सानो चौपारी। त्यही चौपारीमा कम्मरमा पछ्यौरी कसेर लडिरहेको अवस्थामा एक युवक।

यो दृश्‍य रिब्दीकोट गाउँपालिका ३ खस्यौलीस्थित सरस्वती माध्यमिक विद्यालयको हो। सोही विद्यालयको क्वारेन्टाइनमा बसिरहेका ३२ वर्षीय शिवबहादुर झेंडी अर्धचेत अवस्थामा लडिरहेका थिए। उनी दुखाइको पीडा सहन नसकेर गुहार मागिरहेका थिए। वरिपरि साथीहरूले हेरिहेको देखिन्थ्यो।

सोमबार बेलुकीदेखि अलिअलि बायाँ कोखो दुख्न थालेको थियो उनलाई। राति लसुन पोलेर खाएपछि दुखाई केही कम भएको महसुस भयो। पूर्ण निको नभएको दुखाई मंगलबार दिउँसो झन् बल्झियो। बस्नसमेत नसक्ने अवस्थामा रहेका शिवबहादुर चौपारीमा पल्टिरहेका थिए। ‘हिजोदेखि नै बायाँ कोखामा दुख्न थालेको हो’ उनले भने ‘ग्याष्ट्रिकले होला भनि औषधि खाएँ। फेरि आज पनि दुख्न थाल्यो। हिजोभन्दा दुखाइको पीडा आज बढी छ।’ बेलाबेलामा वाकवाकीसमेत लाग्ने गरेको उनले सुनाए।

शिवबहादुरसँगै बस्दै आएका साथीहरूले हारगुहार गरे। त्यसलगत्तै गाउँपालिकाका उपाध्यक्षसहितको टोली बिरामी भएको ठाउँमा पुग्यो। प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलले स्वास्थ्य शाखा प्रमुखलाई त्यहीँबाट फोन गरे। केही समयमा स्वास्थ्य शाखा प्रमुख विष्णुदेव खनाल आइपुगे। बिरामीलाई टाढैबाट हेरे। र अवस्थाबारे सोधे। त्यसपछि कुनै चेकजाँच नै नगरी बिरामीले बताएको आधारमा ग्याष्ट्रिकको औषधि दिए। त्यही औषधि पनि खनालले निकै टाढाबाट फ्याकिदिएँ। बल्लतल्ल उठेर ती बिरामी झेंडिले औषधी टिपे। अनि पानीसँग खाए। औषधि खाए पनि झेंडीको दुखाइ भने कम भएको छैन।

तर स्वास्थ्यकर्मीको व्यावहारले झेडींसँगै बस्दै आएका साथीहरूको भने निकै चित्त दुखेको रहेछ। स्वास्थ्यकर्मीको यस्तो व्यावहारले अकालमै मरिने भन्दै उनका साथीहरूले चिन्ता प्रकट गरेका थिए। कोरोनाले भन्दा पनि अरू बिमारले मरिन्छ कि भन्ने चिन्ता लागेको उनीसँगै क्वारेन्टाइनमा बस्दै आएका दीपकबहादुर दिशुवाले गुनासो गरे।  ‘कोखा दुखेर छट्पटिएको साथीले राम्रो उपचार पाएनन्’ उनले भने ‘अन्य कारणले ज्वरो आएर आइसोलेसनमा पुग्दा त् मर्नुको विकल्प छैन होला!’

क्वारेन्टाइनमा बिरामी पर्दा राम्रो उपचार पाए मर्नुपर्ने अवस्था आउने थिएन त्यहीँ बस्दै आएका श्रीधर गौतम भन्छन्। क्वारेन्टाइनमा सामान्य बिरामी भएनै सिधै आइसोलेसन लैजाने प्रवृत्तिले धेरै युवाले ज्यान गुमाउन बाध्य हुने उनले दाबी गरे। जहाँ भए पनि डाक्टरले आफू सुरक्षित भएर बिरामीको समयमै राम्रो उपचार गरे अकालमा मर्नुपर्ने अवस्था नआउने गौतमले बताए।

उपचारमा कमी हुन दिँदैनौँ

तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलले बिरामीको नजिक पुगेर आश्वस्त पार्दै भने तपाईंको उपचारमा कुनै कमी हुन दिने छैनौं। स्थानीय सरकारले तपाईलाई खान, बस्न र बिरामी पर्दा उपचारको लागि सक्दो र भरपर्दो पहल गर्ने उनले प्रतिवद्धता गरे। 

सरकारी एम्बुलेन्स मानेबोलेरोले लग्यो बिरामी

एम्बुलेन्सले बोक्न नमानेपछि बोलेरो जीपले बिरामी बोकेर अस्पताल पुर्‍याएको छ। खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रबाट संचालन हुँदै आएको एम्बुलेन्स चालकले क्वारेन्टाइनमा बसेका बिरामीलाई बोक्न अस्वीकार गरेका हुन्।

स्वयं अस्पताल व्यावस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका प्रवक्तासमेत रहेका विष्णुप्रसाद खनाल र प्रमुख प्रशासकीय अधिकृत ऋषीराम अर्जेलले गरेको सिफारिसलाई नै एम्बुलेन्स चालकले अस्वीकार गरेका हुन्।

रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानस्थित महेन्द्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका एक पुरूषलाई सामान्य ज्वरो आएपछि खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरेको थियो। तर एम्बुलेन्स चालकले नमानेपछि बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकिएन।

लु१ज २८५ नम्बरको एम्बुलेन्सका चालक स्थानीय विष्णु कार्की हुन्। एम्बुलेन्समा अन्य बिरामी बोक्नुपर्ने भएकोले क्वारेन्टाइनका बिरामी नबोकेको चालक कार्कीले प्रतिक्रिया दिए। घरमा रहेका साना छोराछोरीलाई जोखिममा पारेर क्वारेन्टाइनमा भएका बिरामी बोक्न सक्दिन उनले थपे।

मानवीय धर्मनै भुलेर बिरामी बोक्दिनँ भन्नु ठूलो अपराध भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताइन्। यस्तो व्यावहार गर्ने चालकलाई कारबाही हुनपर्नेमा उनले जोड दिइन्। उनकाअनुसार ती पुरूषलाई नीजि बोलेरो जीप रिजर्व गरेर अस्पताल लगिएको छ। अहिले ती पुरूषको लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसन कक्षमा उपचार भइरहेको उपाध्यक्ष बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.