|

नेपालको प्रहरी संगठनले सोमबार (हिजो) केही दिनका लागि नयाँ नेतृत्व पायो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएपछि नयाँ नेतृत्वका लागि भइरहेको रस्साकस्सीपछि नयाँ नियम बनाउँदै सरकारले प्रहरीको नयाँ नेतृत्व कार्यवाहकको रुपमा प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई दिएको छ।

करिब एकसातादेखिको रस्साकस्सीका बीच प्रहरीको नेतृत्वमा को आउँछ, भन्ने अन्यौल सोमबार झन बढेको थियो। सोमबार प्रहरी महानिरीक्षक अर्याल घर जानुपर्ने भएपछि सोमबार नै नयाँ नेतृत्व चयन गर्नुपर्ने बाध्यताका कारण नेपाल प्रहरीका तल्लो तहका कर्मचारीदेखि सुरक्षासँग सम्बन्धित सबैको ध्यान प्रहरीको नेतृत्व कसले गर्ने भन्नेमा नै थियो।

बिहानैदेखि प्रहरी उच्च अधिकारीहरु समेत अड्कलबाजी गर्दै बसिरहेका थिए, सबै जना अन्यौलमा देखिन्थे। प्रहरी प्रधान कार्यालयमा कार्यरत एक वरिष्ठ अधिकारी भन्दै थिए– ‘सबै तिर अन्यौल छ, कार्यवाहक तोक्न मन्त्रीपरिषद् बैठक नै बस्नुपर्दछ, मन्त्रीपरिषद् के बस्ला र ! अब प्रधानमन्त्रीको सल्लाहमा गृहमन्त्रीले निमित्त तोक्नुहोला। कसलाई तोक्ने हो थाहा छैन।’

बिहानैदेखिको यो अन्यौलता दिनभरजसो चलि नै रह्यो। त्यही बीचमा दिउँसो प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले हालेको रिटमा सर्वोच्च अदालतको फैसला आयो। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले ‘सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेका जयबहादुर चन्दको पदस्थापन नगराउनु’भन्ने फैसला सुनायो। 

यो फैसलासँगै फेरि अर्को अड्कलवाजी सुरु हुन थाल्यो। डीआईजी सिलवाललाई नै निमित्तको रुपमा सरकारले प्रहरीको नेतृत्व दिँदैछ, सिलवाल बर्दी लगाएर प्रधान कार्यालय छिरेको खबरहरु विभिन्न अनलाइन र सामाजिक संजालहरुमा छ्यापछ्याप्ती देखिए। त्यसको केही समयमा नै प्रहरी प्रधान कार्यालयले महानिरीक्षक अर्यालको विदाइको समाचार संकलनका लागि प्रधान कार्यालय आउन निम्तो आएपछि सिलवाललाई नेतृत्व दिने कुरा पक्का भएकाले विदाई कार्यक्रम गर्न लागिएको अडकल काटियो।

तर, गृह मन्त्रालय स्रोतले भने प्रहरी नियमावली २०७१ का अनुसार चार नम्बर वरियतामा रहेका डीआईजी बमबहादुर भण्डारीलाई निमित्त बनाउने तयारी भएको जानकारी दियो। मन्त्रालय स्रोतले भन्यो, ‘नियमावलीमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी महानिरीक्षक पछिको दोस्रो वरीयताका प्रहरी अधिकारीलाई निमित्त दिने तयारी भइरहेको छ।’ 

'एक नम्बर वरीयताका सिलवाल केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जमा, दुई नम्बर वरीयताका प्रकाश अर्याल ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा र तीन नम्बर वरियताका चन्द लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा कार्यरत छन्,' स्रोतले भन्यो– ‘त्यसैले प्रधान कार्यालयमा रहेको विशेष ब्यूरोमा कार्यरत चार नम्बर वरीयताका भण्डारीलाई निमित्त दिने तयारी छ।’ 

यस्तो खबर आए लगत्तै साँढे तीन बजेलाई बोलाएको विदाइ कार्यक्रम पनि एकघण्टा पछि सर्‍यो। साँढे चार बजेलाई सारिएको विदाइ कार्यक्रम साँढे छ बजे बल्ल सुरु भएको थियो।

विदाइ कार्यक्रममा उपस्थिति उच्च प्रहरी अधिकृतहरु समेत अन्यौलमा थिए, उनीहरु संचारकर्मीहरुलाई सोध्दै थिए– ‘के हुने भो, कसलाई दिने भयो ?’ तर संचारकर्मीहरु पनि विभिन्न स्रोतबाट आएको फरक-फरक जानकारीका कारण अन्यौलमा नै थिए। 

विदाई कार्यक्रमको समय साढे चार बजे तोकिएको भए पनि डीआईजी सिलवालकी श्रीमती चार बजे नै विदाई कार्यक्रममा उपस्थित भएपछि सबैले डीआईजी सिलवाललाई नै निमित्त दिन लागिएको बुझेका थिए, तर उनी एकछिन बसेर बाहिर निस्किइन्, त्यसपछि फेरि अर्को अड्कल काट्न थालियो। उनी फेरि फर्किइन्, त्यो पनि छोराछोरीसहित। पुन: सिलवालकै बारेमा गाइँगुइँ चल्दै थियो, उनी तुरुन्तै बाहिरिइन्। उनी चढेको गाडी केहीबेर महानिरीक्षकको कार्यालयमा बसेर बाहिरिएपछि फेरि अर्को अड्कल सुरु भएको थियो।

त्यसको केहीबेरमा प्रहरी महानिरीक्षक अर्यालसहित अवकाश पाउन लागेका अतिरिक्त महानिरीक्षकहरु कार्यक्रमस्थलमा आए। त्यहाँ विदाई कार्यक्रम मात्र रहेकोले विदाई मात्र भयो। नयाँ नेतृत्वबारे न त कसैले बोले, न त कसैले प्रहरी महानिरीक्षकलाई सोधे नै। उनलाई प्राविधिक तर्फका अतिरिक्त महानिरीक्षक डा. पोखरेलले विदाई गरेपछि प्रहरी महानिरीक्षक अर्याल सबैसँग विदा हुँदै सरकारी निवास छोडेर हात्तिगौडास्थित निजी निवास लागे।

उत्तराधिकारी नपाउँदै महानिरीक्षक अर्यालले विदा लिए। त्यसको आधा घण्टापछि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गर्दै प्राविधिकतर्फका एआईजी डाक्टर पोखरेललाई कार्यबाहक तोक्यो।

हुन त आइतबार नै वरिष्ठताका आधारमा प्राविधिकतर्फका भएपनि पोखरेललाई कार्यवाहक दिने विषयमासमेत छलफल नचलेको होइन।  तर, भोलि फेरि पोखरेल पनि कार्यवाहक चलाएको नजिर दिँदै सर्वोच्च अदालत पुग्ने हो कि भन्ने डरले आइतबार उनलाई कार्यवाहक तोक्न डराएको गृह मन्त्रालयका स्रोतले जानकारी  दियो। स्रोतले भन्यो– ‘सबै जना अदालत नै गएका छन्, पोखरेल पनि भोलि अदालत गए के हुन्छ भन्दै आइतबार निर्णय हुन सकेन।’

जेहोस्, सकसका बाबजुद पनि प्रहरीले नयाँ नेतृत्व पाएको छ। प्रहरी संगठन नेतृत्वविहीन हुनबाट जोगिएको छ। यसबारे चासो राख्नेहरुको ध्यान अब फागुन ८ गते सर्वोच्चले के फैसला सुनाउँछ भन्ने मै केन्द्रित छ। हेरौँ, के हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.