भौतिक मन्त्री नेम्बाङ पुगे अनुगमन गर्न

|

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले निर्माणाधीन मन्त्री निवासको निरीक्षण गरेका छन्। सहरी विकास मन्त्रालय अन्तर्गत सैबु भैँसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको नेम्वाङले शनिबार स्थलगत अनुगमन गरेका हुन्। 

स्थलगत अनुगमनपछि मन्त्री नेम्वाङले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण कम्पनीलाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन्। 

लकडाउन तीन महिना काम रोकिए पनि अब निर्माण क्षेत्रलाई सामान्य रुपमै अघि बढाउनु पर्नेमा जोड दिनुपर्ने उनले बताए। ‘अब निर्माण क्षेत्रलाई सामान्य अवस्थाकै रुपमा अगाडी बढाउनु पर्छ’, उनले भने, ‘आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर  कामलाई सामान्य रुपमै अघि बढाउने कार्ययोजना बनाउनुहोस्।’ 

नेम्वाङले भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रुपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताए। समस्या आए आफूले समन्वय गर्नेसमेत उनले उल्लेख गरेका छन्। 

संघीय मन्त्री निवासको गत साल असोजमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। पुलचोक मन्त्री निवास साँघुरो भएकाले भैँसेपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण गर्न लागिएको हो। संघीय मन्त्रीको निवाससँगै यहाँ प्रदेश सम्पर्क कार्यालय समेत रहनेछन् ।

दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कूल क्षेत्रफल १ सय २४ रोपनी ६ आना रहेको छ। पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनिधिसभाका उपसभामुख गरी २७ ब्लक रहनेछन्। 

दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ। यहाँ सातवटा ब्लक छन्। प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन्। एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ । सबै भवनहरु साढे दुई तलाको बन्नेछन्। 

कुल लागत एक अर्ब तीन करोड

संघीय मन्त्री निवासको कुल लागत १ अर्ब ३ करोड ४६ लाख ६८ हजार ४ सय ३७ रुपैयाँ (भ्याटसहित) रहेको छ। 

यस योजना निर्माणको ठेक्का स्रिको हनुमान जेभीले पाएको छ । त्यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कुल लागत ७२ करोड ४७ लाख ९४ हजार ८ सय ३४ रुपैयाँ ६५ पैसा (भ्याटसहित)   छ । यसको निर्माण ठेक्का केसी समानान्तर जेभीले पाएको छ । 

त्यस्तै मन्त्री नेम्वाङले शनिबार नै गोदावरीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सम्मेलन केन्द्रको पनि अनुगमन निरीक्षण गरेका छन्। मन्त्री नेम्वाङले आयोजना प्रमुख तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग भौतिक प्रगति बारे जानकारी लिनुका साथै  समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्। 

उनीसँगै अनुगमनमा सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया र सहरी विकास सचिव मधुसुदन अधिकारी सहभागी थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.