भारतीय-चिनियाँ क्षेत्रमा उपस्थिति बढाउँदै नेपाल

|

दार्चुला : भारतीय सीमा क्षेत्रमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी सुरक्षा गस्तीमा मात्रै केन्द्रित छैन। जनतासँग सम्बन्ध विस्तारमा पनि लागेको छ। कयौँ वर्षसम्म नेपाली पक्षको बलियो उपस्थिति हुन नसकेको दार्चुलाको ब्याँस गाउँपालिकास्थित भारतीय अतिक्रमणमा परेको कालापानी क्षेत्रमा सशस्त्र प्रहरी विकास निर्माणमा पनि जुटेको छ।

दार्चुलाको ब्याँस गाउँपालिकास्थित छाङ्‍रुको बोर्डर आउट पोस्टमा सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा तैनाथ सशस्त्र प्रहरीको टोली स्थानीयवासीको दैनिकी सहज बनाउने अभियानमा लागेको हो।

चन्द नेतृत्वको सशस्त्र प्रहरी बलको टोलीले दार्चुलास्थित कालापानी क्षेत्रस्थित छाङरुदेखि तिंकरसम्म जाने घोडेटो बाटो स्थानीयवासीको सहकार्यमा मर्मत गरेको छ। उच्च हिमाली क्षेत्रको उक्त स्थानमा कयौँ पहिरो झरेर घोडेटो बाटो रोकिएको थियो। हिउँ थुप्रिएर समेत अवरुद्ध भएको बाटोलाई छाङरुस्थित बोर्डर आउट पोस्ट (बीओपी)को टोलीले गाउँलेसँग मिलेर मर्मत गरी खुलाएको हो। 

सुख्खा पहिरो र हिउँका कारण त्यस क्षेत्रको बाटो ठप्प भएको थियो। बाटो बन्द हुँदा स्थानीयवासीको आवागमन नै रोकिएको थियो। सशस्त्र प्रहरीले सीमा सुरक्षासँगै कालापानी क्षेत्रमा बस्ने नेपालीको दैनिकी सहज गर्ने अभियान पनि चलाएको चन्दले बताए। उनका अनुसार छाङ्‍रुबाट तिंकर जाने बाटो १० भन्दा धेरै ठाउँमा भत्किएर अवरुद्ध थियो।

उनका अनुसार यो बाटो एक महिना अघिदेखि नै मर्मत थालिएको हो। छाङ‌रुबाट कुञ्‍जा सर्ने क्रममा स्थानीयको सहकार्यमा बाटो बनाइएको उनले बताए। 

यता नेपाली सेनाले दार्चुला सदरमुकामसँग जोड्ने महाकाली किनारस्थित घाँटी बगरमा घोडेटो बाटो निर्माणलाई तीव्र बनाइरहेको छ। खलंगादेखि कालापानी क्षेत्रको छाङ्‍रुसम्म कयौँ ठाउँमा अवरुद्ध भएको उक्त बाट नेपाली सेनाको १४० जनाको टोलीले धमाधम बनाइरहेको छ। 

सेनाले घाँटी बगरमै अस्थायी क्याम्प राखेर उक्त ४ सय ५० मिटर लामो बाटो खोलिरहेको हो। महाकाली किनारमा सुख्खा पहिरो र ठूला चट्टानका कारण सेनाले उक्त बाटो खोल्न कठिन चुनौतीको सामना गरिरहनु परेको छ। यो बाटो असार मसान्तमै खोलिसक्ने योजना सेनाले बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.