|

काठमाडौं : काठमाडौं महानगरपालिकाका ६ वटा 'ए' डिभिजन क्लबलाई सोमबार महानगरपालिकाले १०/१० लाख रुपैयाँका दरले सहयोग गरेको छ। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नगरप्रमुख विद्यासुन्दर शाक्यले क्लबलाई सहयोग रकम हस्तान्तरण गरे।

आर्थिक सहयोग पाउनेमा मच्छिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकट क्लब र मनाङ मर्स्याङ्दी रहेका छन्। खेलकुदलाई सहरी जीवन पद्धति नै बनाउन महानगरले यसमा क्रमशः लगानी बढाउँदै लैजाने नगरप्रमुख शाक्यले बताए।

‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि भौतिक पूर्वाधार निर्माण, सम्पदा संरक्षण, हरियाली प्रवर्द्धनलगायत क्षेत्रमा काठमाडौं महानगरपालिकाले काम गर्दै आएको छ,’ प्रमुख शाक्यले भने, ‘त्योसँगै हामीले खेलकुद, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेर निरन्तर काम गर्दै आएका छौँ।’

प्रमुख शाक्यले महानगरपालिका क्षेत्रका 'ए' डिभिजन क्लबलाई १०, 'बी' लाई तीन लाख र 'सी' लाई २ लाख रुपैयाँका दरले सहयोग गर्दै आएको जानकारी दिए। कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि काठमाडौं महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको बताइन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रशंसा गरे। ‘डिभिजन क्लबहरूलाई आर्थिक सहयोग गर्ने ऐतिहासिक परम्पराको थालनी काठमाडौं महानगरपालिकाले गरेपछि अहिले अन्य महानगरपालिकाले पनि त्यसलाई निरन्तरता दिएका छन्,’ शेर्पाले भने। काठमाडौंका खुला ठाउँहरूको खोजी गरी त्यहाँ खेल अभ्यासका लागि उपयुक्त स्थान बनाउनेबारे छलफल भइरहेको शेर्पाले बताए।

मच्छिन्द्र क्लबका अध्यक्ष प्रवोधविर सिंह कंसाकारले पनि खेल विकासका लागि महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.