|

काठमाडौं : नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूत होउ यान्छीसँग जोडेर आपत्तिजनक र अनर्गल समाचार सामग्री प्रसारण गरेको जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले आफ्नो विवादित ट्‍विट डिलिट गरेका छन्। 

जी न्युजका प्रधान सम्पादक चौधरीले नेपालमा भारतीय समाचार टेलिभिजन च्यानललाई प्रतिबन्ध गरेपछि अशोभनीय टिप्पणीसहित बिहीबार एउटा विवादित ट्‍विट गरेका थिए। 

प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको चरित्रमाथि नै प्रश्‍न उठाउँदै जी न्युजले समाचार सामग्री बनाएपछि नेपालका मल्टी सिस्टम अपरेटरहरूले दूरदर्शन न्यजुबाहेक अन्य भारतीय समाचार च्यानल प्रसारण बन्द गरिदिएका छन्। त्यसैको आक्रोशमा उनले नेपालबारे अशोभनीय टिप्पणीसहित ट्‍विट गरेका थिए।

उनले बिहीबार साँझ गरेको ट्वीटमा नेपाल भारतीय समाचार च्यानलका प्रस्तोतासँगै डराएको भन्दै कटाक्ष गरेका थिए।

‘नेपालले भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्यूज च्यानलका एंकरसँगै डरायो त! सेना त अघि त सर्नै परेन।’चौधरीले उक्त भनाइ ट्‍विटरमा सार्वजनिक गरेपछि उनी नेपालीको घेराबन्दीमा परेका थिए। कतिपय भारतीयले समेत उनको उक्त टिप्पणीको विरोध गरेका थिए। आफ्नो भनाइलाई लिएर भारतीयहरुसमेत विरोधमा उत्रिएपछि उनले उक्त ट्‍विट शुक्रबार माफी माग्दै हटाएका हुन्। 

उनले आफ्नो ट्वीटले नेपाली दर्शकहरुप्रति चोट पुगेको जनाउँदै हटाएको जनाएका छन्। ‘मेरो ट्वीटले नेपालका दर्शकलाई चोट पुगेको छ । मलाई थुप्रै भारतीयले पनि यो विचार सही नभएको बताएका छन्', उनले भने, 'मैले नेपालमा भारतीय समाचार च्यानल प्रतिबन्ध भएको खबर पाएपछि आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको हुनुपर्छ। यो मञ्च अभिव्यक्तिको हो, कसैलाई चोट पुर्‍याउनु होइन। त्यसैले दु:ख व्यक्त गर्दै यो ट्वीट हटाउँदै छु।’

जी न्युजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यान्छीबारे आपत्तिजनक सामग्री प्रसारण गरेको बारेमा भने उनले केही पनि बोलेका छैनन्। यता नेपाल प्रेस काउन्सिलले पनि जी न्युजलाई कारवाही गर्न भन्दै भारतीय प्रेस काउन्सिललाई पनि शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.