|

काठमाडौंं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने विषयमा आफ्नो सहमति नभएको बताएका छन्। 

आइतबार बिहान वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटी सदस्यहरुसँगको छलफलको क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।  

‘बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो। तर, त्यस बिषयमा मैले सहमति जनाएको छैन’ खुमलटार भेलालाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने,  ‘मैले सहमति नजनाएको बिषयमा बाहिर कसले यस्तो हल्ला चलायो। मलाई जानकारी छैन।’ 

‘बाहिर आफ्नो पनि मंसिरमा महाधिवेशन गर्ने भन्नेबारे सहमति भइसकेको समाचारहरु आएपछि आफ्नो सचिवालयमार्फत कुनै सहमति नभएको जानकारी समेत गराएको हुँ’ अध्यक्ष दाहालले भने, ‘पार्टीभित्रको समस्या समाधानका लागि जुटिरहेका छौँ। तर, अहिलेसम्म प्रधानमन्त्री ओलीसँग कुनै सहमति भएको छैन।’

पार्टीभित्रको विवादले विभाजनको अवस्थासम्म पुगिसकेपछि समस्या समाधानको जिम्मा प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई दिइएको छ। तर, ओली र दाहालबीचको वार्ताबाट निकास निस्कन नसकेपछि शनिबार सचिवालयको बैठक बसेको थियो। 

शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। पार्टीभित्रको विवादको कारणले असार १० गतेबाट पटक पटक स्थगित हुदै आएको स्थायी कमिटीको बैठक आजबाट निरन्तरता दिने सहमति बनेको छ। 

प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन  गर्ने प्रस्ताव गरेपछि स्थायी कमिटीमा कसरी अघि बढ्ने भन्नेबारेमा दाहाल–नेपाल पक्षबीच छलफल भएको स्रोतले बतायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.