जिल्लाका उत्तरी क्षेत्र पनि डुबे, निकासबिनाको विकासले समस्या ल्यायो

|

सर्लाही : हिजो आइतबार र आज सोमबार बिहान परेको मुसलधारे वर्षाले सर्लाही सदरमुकामसहित जिल्लाको दर्जनौं ठाउँमा डुबान समस्या देखिएको छ। पानीको निकास नहुँदा सदरमुकाम मलंगवामै घरहरु तथा सरकारी कार्यालयहरु डुबेका छन्। 

मलंगवाको बाल मन्दिर, नगरपालिका चोक, बसपार्क लगायतका क्षेत्र जलमग्न भएको स्थानीय उदय रायले जानकारी दिए। निरन्तर वर्षा भइरहँदा जिल्लाको दक्षिणी भेगका विभिन्न बस्तीका घरहरुमा पनि पानी पसेको छ। 

भारी वर्षाका कारण विपन्न, सुकुमबासी र दतिल परिवार बढी प्रभावित भएका छन्। जिल्लाको बाग्मती, लखन्देही, फूलजोर, सोती, कालिन्जोर, बाँके, मनुस्मारा, झिम लगायतका खोलामा जलसतह बढेको छ। 

खोलाले केही ठाउँमा खेतीयोग्य जमिनसमेत कटान गरेको किसानहरुले बताएका छन्। खोलामा पानीको सतह बढेसँगै नदी आसपास र तटीय क्षेत्रका बस्तीमा जोखिम बढेको बरहथवा नगरपालिका हजरियाका स्थानीय महेश बरालले चिन्ता व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले गहिरो स्थानमा रहेका र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको जानकारी दिए। यस्तै वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकहरु हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ।

पछिल्लो केही वर्षयता टोलटोलमा निकासबिना केही उचाइका साथ सडक कालोपत्रेको काम भएकाले उत्तरी क्षेत्रमा समेत डुबानको समस्या निम्तिएको हो। आइतबार सिमसिम परे पनि सोमबार बिहान ८ बजेदेखि चार घण्टाभन्दा बढी मुसलधारे वर्षा भएको थियो। 

उक्त वर्षाले उत्तरी क्षेत्रका ईश्वरपुर हरिवन, नयाँरोड, बागमती, लालबन्दीलगायत स्थानमा समेत कतिपय घरहरु डुबानमा परेका स्थानीयले गुनासो गरेका छन्। कतिपय ठाउँमा कालोपत्रे सडकसहित संरचनाहरुमा पानीले क्षति पु¥याएकोले एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्न कठिनाइ भएको स्थानीयले बताए। 

हरेक वर्षायाममा सदरमुकाम मलंगवासहित दक्षिणी क्षेत्रका बजार एवं गाउँहरु जलमग्न हुने तथा वर्षाको पानीबाट समस्या झेल्दै आइरहे पनि पछिल्लो दुई वर्षयता उत्तरी क्षेत्रमा समेत डुबानको समस्या देखिएको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.