|

म्याग्दी : दुई दिनदेखिको भीषण वर्षासँगै आएको बाढीपहिरोले म्याग्दीका दर्जन बढी गाउँ पहिरोको उच्च जोखिममा रहेका छन्। आइतबारदेखिको अविरल वर्षासँगै पहिरो गएपछि सदरमुकाम बेनीबजारको मंगलाघाट, क्याम्पसचोक, बेनी नगरपालिका–६ डम्मर, बेनी–२ बगरफाँट, वडा नं ४ सुर्केमेलालगायत दर्जनौं बस्ती जोखिममा परेका छन्। साथै १५ भन्दा बढी व्यक्ति विस्थापित भएका छन्।

जथाभावी खनिएको सडक नै गाउँलेलाई उठिबास लगाउने पहिरोको कारण बनेको छ। भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तार लगायत विभिन्न कारणले सडक, विद्युत, खानेपानी, निजी तथा सार्वजनिक भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। प्राकृतिक प्रकोप तथा मानव सृजित विपद्का कारण सोमबार सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसँग जोडिने सडक अवरुद्ध भएको छ। 

बेनी नगरपालिका २ बगरफाँटमा पहिरो जाँदा एक घर भत्केको छ भने पाँचवटा घर उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। त्यसैगरी सदरमुकाम बेनीको क्याम्पसचोकमा माथिल्लो क्षेत्रबाट आएको बाढीले नाली फुटेपछि ढुंगा र लेदोले केही घरमा असर गरेको छ। 

बेनी–अर्थुंगे हुदै पाखापानी जोड्ने सडकबाट खस्ने बाढी व्यवस्थापनका लागि बनाइएको नालीमा ढुंगामाटो जमेपछि फुटेर करिब १२ घर, पसलमा असर गरेको स्थानीयले बताएका छन्। 

बेनी–महारानी थान जोड्ने सडकसमेत अवरुद्ध भएको छ। पहिरोका कारण उपल्लो मंगलाघाटका ८ घर उच्च जोखिममा परेका स्थानीय कमला जिसीले जानकारी दिइन्। त्यसैगरी बेनी–दरबाङ सडकखण्ड अन्तर्गत डम्मरामा पहिरोले बेनपा–६ का वडा अध्यक्ष कृष्णसिह बानियाँको कुखुरा फार्मलगायत आसपासका क्षेत्रमा असर गरेको छ भने निर्माणधीन अवस्थामा रहेको सडकले डम्मराको बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ।

जिल्लाको मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीहरु बाढीपहिरोको जोखिममा परेको स्थानीयको भनाइ छ। सडक विस्तारको क्रममा नाली व्यवस्थापन नहुदाँ पहिरोले बस्ती नै जोखिममा परेपछि प्रहरी सहित स्थानीय टोली मर्मतमा जुटेका छन्। यता छिमेकी पर्वतको जलजला गाउपालिका–३, वारीबेनीमा रहेको हरि अटोपार्टस्सको ग्यारेजमा पहिरोले क्षती पुगेको छ। 

फलाम प्रयोग गररी बनाइएको दुईतले भवन भत्किएको छ भने नजिकै रुख ढलेर बाटो अवरुद्ध भएको थियो। जिल्लाभर बाढीपहिरोबाट भौतिक क्षति भए पनि मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए। उनका अनुसार बाढीपहिरोबाट प्रभावित र विस्थापितको तथ्याङ्क संकलन भइहरेको छ। 

बगरफाँटका २० र सुर्केमेलाका १७ घर उच्च जोखिममा

बेनी नगरपालिका २ बगरफाँटका २० र बेनी नगरपालिका ४ सुर्केमेलाका १७ घर पहिरोको उच्च जोखिममा परेका छन्। सुर्केमेलामा ठूलो आवजसँगै निरन्तर पहिरो खस्न थालेपछि प्रहरीलाई जानकारी गराइएको छ। 

यता बेनी नगरपालिका २ बगरफाँटको अवस्था झन् विकराल बन्दै गएको छ। पुछारमा म्याग्दी नदी र शिरानमा विशाल पहिरो रहेको बगरफाँटमा डोजर लगाएर जथाभावि खनिएको मोटर बाटोका कारण पाँच घर, खेतीयोग्य जमिन पूर्ण जोखिममा परेको छ।​सुर्केमेलाको चिल बस्ने पहाडको टुप्पोमा धाँजा फाटेकोले जुनसुकै बेला पनि ठूलो विपत्ति निम्तिन सक्ने अड्कल गरिएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.