|

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा भएको वार्ता सकिएको छ। करिब ३ घण्टासम्म चलेको यो वार्ताले पनि सहमतिको बिन्दु पहिल्याउन नसकेको स्रोतले जनाएको छ।

पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल ६ दिनको संवादहीन अवस्थालाई तोड्दै छलफलमा जुटेका थिए। छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी थिए। 

पार्टीभित्रको विवाद समाधानका लागि आजबाट पुन: छलफलको क्रम सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिएका छन्। 

आजको बैठकलाई दुवै पक्षले संवादको सुरुवात भनेका छन्। तर वार्ता सकारात्मक या नकारात्मक भएकोबारे उनीहरु दुवै पक्षले खुलाउन चाहेनन्। यद्यपि यो छलफललाई निरन्तरता दिनेमा दुई नेता सहमत भएका छन्। 

प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्ति संघर्षका कारण पार्टी विभाजनको दिशातर्फ गइरहेको छ। शीर्ष नेताहरूबीच विवाद चुलिइरहेको बेलामा पार्टी एकता जोगाइ राख्नुपर्नेमा नेताहरुको बहुमत जुटिरहेको छ। 

सहमतिको लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटक पटक सहमतिको प्रयास भएपनि जुट्न सकेको छैन। पार्टीभित्रको आन्तरिक समस्याले गर्दा पार्टी फुटको सँघारसम्म पुगिसकेको छ।

दाहाल-नेपाल समूहले राखेको स्थायी कमिटी बैठकले ओलीसँग सहमतिको लागि अध्यक्ष दाहाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी दुवै नचलेको भएकाले दुवै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले माग गरेपछि विवाद उत्कर्षमा पुगेको हो। 

प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा दुवै पदबाट राजीनामा नदिने भन्दै मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। तर, अध्यक्ष दाहाल पक्षले ओलीको प्रस्ताव स्विकारेको छैन।

नेकपामा शक्ति संघर्ष चुलिएपछि ओली-दाहाल तिक्तता चुलिएको थियो। यस्तोमा दुई नेताबीच साउन १३ यता भेट भएको थिएन। १३ गते ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि दाहालले आफ्नो अध्यक्षतामा बैठक चलाउने कोसिस गरेका थिए। तर त्यस बैठकमा ओली पक्षका कुनै  नेता सहभागी भएनन्। अर्कातिर दाहाल-नेपाल समूहकै केही नेताहरु उपस्थित नभएपछि बैठककै औचित्यमा प्रश्‍न उठेको थियो। 

पार्टीभित्र विवाद बढ्दै जाँदा फुटको स्थिति निम्तिएपछि समस्या समाधानका लागि पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता खनालको पहलमा छलफल चलिरहेको थियो। शीर्ष नेताहरूबीच विवाद बढ्दै जाँदा असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक समेत बस्‍न सकिरहेको छैन। 

स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालसहितको नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ। साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक ओलीले एक निर्णयबाट स्थगित गरिदिएपछि दुई अध्यक्षबीच संवाद नै टुटेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.