|

बुटवल : कुनै बेला नाटकका लागि प्रख्यात बुटवलमा धेरै वर्ष यता त्यस्ता गतिविधि शून्य थिए। नाट्य सम्राट बालकृष्ण समको स्मृति दिवस सकिए लगत्तै बुटवलमा नाट्य साहित्यको पुनरागमन भएको छ।

चर्चित साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेले २० को दशकमा लेखेको एकांकी नाटक भोको घर सोमबार बुटवलमा मञ्चन गरियो। राष्ट्रिय एकता र मेलमिलापमा खलल पुग्ने खतरा बढिरहेका बेला सामाजिक न्याय दिवसको सन्दर्भ पारेर मदन भण्डारी स्पोर्टस् एकेडेमीले नाटक मञ्चनको चाँजोपाँजो मिलाएको हो। हैसेमा होस्टे गरे वन वर्ल्ड थिएटर र थिएटर मलले।

कलाकार केदार श्रेष्ठको परिकल्पना र निर्देशन गरेको नाटकमा आकाश मगर, शान्ति गिरी, सुधांशु केएम, सञ्जिता सञ्जीव, अभय बरालले अभिनय गरे। मध्यम वर्गीय परिवारमा आर्थिक संकटले निम्त्याउने सामाजिक र पारिवारिक संकटको चित्रण नाटकमा छ।

लामो समय नाट्य साहित्यमा सुस्त रहेको बुटवलमा नाट्य क्षेत्रमा पुनर्जागरण ल्याउने उदेश्यले कार्यक्रम आयोजना गरेको एकेडेमीका अञ्चल अध्यक्ष मेघराज भट्टराईले जनाए। साहित्यकार मोदनाथ प्रश्रितले बुटवलमा नाट्य क्षेत्रमा पुनर्जागरण ल्याउन यस्ता नाटक मञ्चनलाई निरन्तरता दिनुपर्ने बताए।

थिएटर मलका केदार श्रेष्ठ र वन वर्ल्ड थिएटरका राजकुमार पुडासैनीले काठमाडौं बाहिर पनि नाट्य साहित्यमा रुचि रहेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए। नाटक मञ्चनअघि वागेश्वरी संगीतालय बुटवलका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.