धादिङ ः वर्षायामको बेला खोला र नदीमा पसेर बालुवा निकाल्दा मानिसहरुको ज्यान जाने क्रम बढ्दै गएपछि धादिङमा मजदुर लगाएर नदी र खोलाबाट बालुवा निकाल्न रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभरका नदी र आसपासका खोलाहरूबाट बालुवा लगायत कुनैपनि प्रकारका नदी र खोला जन्य बस्तु उत्खनन गर्न रोक लगाउने निर्णय गरेको छ। वर्षाको बेला नदी र खोलामा मेसिनको प्रयोग गरी नदी जन्य उत्खनन गर्न नपाइने नियम भएपनि रातको समयमा लुकीछिपी मेसिनको प्रयोग गर्ने र दिउँसो मानिस लगाएर नदी र खोलाबाट बालुवा निकाल्ने क्रम बढेपछि स्थानीय प्रशासनले खोला र नदीमा मानिसको प्रयोग गरि बालुवा निकाल्न रोक लगाएको हो।
वर्षात्को समयमा त्रिशूली नदीमा बाढी आउनासाथ बालुवा निकाल्ने मानिसहरुको दिनहुँ भिड लाग्ने गर्छ। कुनै सुरक्षा उपाय समत नअपनाई नदीमा मजदुर पस्दा वर्षेनी नदीले बगाएर मजदुरहरुको ज्यान समेत जाने गरेको छ।
मजदुरहरुको जीउ धनको सुरक्षाका साथै नदिजन्य बस्तुहरुको अबैध उत्खनन रोक्नका लागि सरोकारवाला निकाय संग समन्वय गरी जिल्ला प्रशासन कार्यालय धादिङले यस्तो निर्णय गरेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताए ।
धादिङ जिल्लाको त्रिशूली नदी र अन्य खोलाबाट बालुवा निकाल्ने मजदुरहरुलाई ठेकेदारहरूले काम लगाउने र नदीले बगाएर ज्यान गएमा आश्रित परिवारले कुनै क्षतिपूर्ति समेत नपाउने समस्या बढ्दै गएको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल बताउँछन्।
देशका विभिन्न ठाउँबाट आएर धादिङ जिल्लामा पर्ने त्रिशूली नदी र अन्य खोलामा मजदुरी गर्ने कार्यमा ३ हजार भन्दा बढी मजदुर संलग्न रहने गरेका छन्। मजदुरकै सुरक्षाका निम्ति स्थानीय प्रशासनले नदीमा पसेर बालुवा निकाल्न मजदुरलाई रोक लगाएको भएपनि बालुवा ठेकेदारीमा संलग्न भएकाहरुले भने मजदुरको चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनको विरोध जनाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।