कञ्चनपुर : भीमदत्त नगरपालिकाका तीनवटा वडा सिल गरिएका छन्। भारतबाट फर्किएर होम क्वारेन्टिनमा बसेका व्यक्तिहरुमा कारोना भाइरसको संक्रमण पुष्टि भएपछि वडा नम्बर १२, १३ र १७ सिल गरिएका हो।
होम क्वारेन्टिनमा बसेकामध्ये एकजनामा पिसिआर परिक्षणको नतिजा पोजेटिभ आएपछि वडानै सिल गर्नु परेको वडा नम्बर १२ का अध्यक्ष कृष्णसिंह देउपाले बताए।
‘कारोना पोजेटिभ देखिएका व्यक्ति साँझका बेला निर्धक्कसँग सार्वजनिक स्थलमा देखिएपछि उनको सम्पर्कमा रहेका ३४ जनाको पिसिआर परिक्षणका लागि स्वाबको नमुना संकलन गरी पठाइएका छौं,’ उनले भने, ‘स्वाब संकलन गरिएकाहरुको परीक्षणको नतिजा भने आएको छैन।’
तीनवटै वडामा स्वास्थ्य सेवाबाहेक अन्य सेवा अर्को सूचना जारी नहुँदासम्म बन्द गरिएको छ। अनावश्यक रुपमा वडामा हिँड्डुल गर्नमा समेत बन्देज लगाइएको छ। बजार व्यवसाय समेत बन्द गरिएको छ।
वडा नम्बर १२ लाई मंगलबारदेखि सिल गरिएको हो भने वडा नम्बर १३ लाई शनिवारदेखि र वडा नम्बर १७ लाई आइतवारदेखि शिल गरिएको छ। वडा नम्बर १३ का ३१ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको वडाध्यक्ष लालबहादुर शाहीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।