|

पर्सा : वीरगन्ज महानगरपालिका भित्र समुदायसम्म सरेको ठानिएको कोरोना संक्रमण विस्तारै जिल्लाका अन्य पालिकातर्फ पनि सर्दै गएको भेटिएको छ। पर्सामा गएराति र आज बिहान थप   ६४  जना नयाँ संक्रमितको थपिएको नारायणी अस्पतालले जनाएको छ। 

शनिबार राति ४५ जना र आज बिहान २३ जना थपिएका नयाँ संक्रमितमा ४ जना भने बाराका रहेका छन्। बाराका भने पन्टोखाका, कलैया १ र १२ तथा महागढिमाई नगरपालिका ५ कबहीका ४ गरी जना पुरुष रहेको नारायणी अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा.निरज कुमार सिंहले बताए। यी चार बाहेक सबै पर्साका रहेको उनको भनाइ छ। 

थपिएका नयाँ संक्रमितहरुमा कन्ट्याक्ट ट्रेसिङमा परेका र स्वेच्छाले आफ्नो परिक्षण गराएका पनि रहेको डा सिंहले बताए।  संक्रमित मध्ये ८ वर्षका बालकदेखि ७० बर्षीय महिला सम्मका रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए। ती संक्रमितहरुमा १७ महिला र ५१ पुरुष रहेको उनको भनाइ छ।

गाउँतर्फ सर्दै संक्रमण 

सुरुका दिनमा वीरगन्ज महानगरपालिका क्षेत्र भित्र मात्र संक्रमित बढि भेटिने गरे पनि पछिल्लो समयमा जिल्लाको पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिका, र बिन्दबासिनी गाउँपालिकाका पनि संक्रमित देखिएका छन्।

यसै गरी महानगरपालिकाका पनि ग्रामिण वडाहरु सोलखपुर, परवानीपुर, इनर्वा जस्ता क्षेत्रका संक्रमित देखिएको नारायणी अस्पतालले जनाएको छ। पछिल्ला तथ्याँकले कोरोना पर्साको सदरमुकामबाट विस्तारै ग्रामिण बस्तितर्फ सर्दै गएको देखिएको छ।

अस्पताल र औषधि उद्योगका कर्मचारी पनि संक्रमित 

नारायणी अस्पताल, नारायणी बयोधा अस्पताल र प्राइम फार्मास्यूटिकल्स प्रा.लि.का  कर्मचारीको पनि रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ। नारायणी अस्पतालको स्त्री तथा प्रसुति रोग वार्डका २ महिला कर्मचारी, सामाजिक सुरक्षा शाखा १ पुरुष र एक महिला गरी २ जना कर्मचारी, एक जना सुरक्षा गार्ड, पेडीयाट्रिक विभागकी एक जना महिला कर्मचारी, ओपीडी काउन्टरका एक जना स्टाफ गरी ७ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ।

उता नारायणी वयोधा अस्पतालका एक जना हाउस कपीङ स्टाफ, एक जना प्रशासन शाखाका र एक जना स्टोरका गरी ३ जना कर्मचारीमा पनि संक्रमण देखिएको छ। उद्योग तर्फ पनि प्राइम फार्मासुटिकल प्रा.लि.का ५ जना कर्मचारी पनि संक्रमण देखिएको डा सिंहले बताए।

डायलासिस गराइरहेका विरामीमा पनि कोरोना पोजेटिभ

नारायणी अस्पतालमै डायलिसिस गराईरहेका ४२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। त्यसै गरी अस्पतालकै आइसीयु कक्षमा भर्ना गरिएका एक २२ वर्षीय युवकमा पनि संक्रमण देखिएको छ। युवकलाई श्वास प्रश्वासमा समस्या भइरहेको नारायणी अस्पतालले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.