चिया पसलदेखि नाकासम्म अनुगमन गरौं

|

आज राति १२ बजेदेखि राजधानी उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा लागु गरेका छन्। काठमाडौं उपत्यकाबाहेक देशका धेरै ठाउँमा पनि निषेधाज्ञा लागु भएको छ, हुँदैछ।

निषेधाज्ञा भनेको कर्फ्यु नै हो। संक्रमित थोरै हुँदा लकडाउन खुकुलो हुनुलाई स्वाभाविक मानिए पनि संक्रमण बढिरहेको समयमा गरिने निषेधाज्ञा फितलो नहोस्। जे गर्ने हो : त्यो सतप्रतिशत गर्नुपर्छ। जे नगर्ने हो : त्यसबारे स्पष्ट पार्नुपर्छ। यसो भएपछि आम जनतामा दोधार हुँदैन।

निषेधाज्ञा लागु तथा अनुगमन गर्ने काम ठूला सडकमा एवं बजारमा मात्र भयो भने कोरोना संक्रमण नियन्त्रणमा त्यसको कुनै प्रभाव हुँदैन। तसर्थ, सडकलाई ट्राफिक प्रहरीको जिम्मा तथा भित्री बस्ती र गल्लीलाई मुख्य सुरक्षाकर्मीको जिम्मामा दिइनुपर्छ।

जहाँ जनघनत्व हुन्छ, ती ठाउँमा अनुगमन तथा निगरानी हुनुपर्दछ। भित्री बस्ती, गल्ली, तरकारी बजार, भित्रि चोक, चिया पसल लगायतका ठाउँमा अनुगमन गर्ने हो भने निषेधाज्ञा प्रभावकारी हुन्छ।

नाकामा सेनाको गस्ती नहुने हो भने यो ३ हप्तामा संक्रमण किन बढ्यो? त्यो कारण खोजे प्रष्ट हुन्छ। त्यसैले सरकारले जति दिन जे गर्ने हो : त्यो पुरै गरोस्। गर्ने काम उद्देश्यमूलक र परिणाममुखी हुनुपर्छ।

सरकारले यी काम गर्नैपर्छ

स्थानीय निकायका वडालाई परिचालन गरेर होम आइसोलेसनमा बस्न सक्ने कति परिवार छन्? घर वा फ्ल्याटको आधारमा र कति परिवार आइसोलेसन केन्द्रमा बस्नुपर्ने हुनसक्छ? टुंगो लाउनु पर्छ। एउटा वा दुईवटा कोठामा बस्ने परिवार संख्याको आधार समेत हेरेर त्यो वडाभित्र आइसोलेसन केन्द्र कुन-कुन ठाउँमा बनाउन सकिन्छ भन्‍ने तथ्यांक लिनु उचित हुन्छ।

संक्रमण व्यापक रुपमा फैलियो भने काठमाडौं उपत्यकाका कुन-कुन भवन, होटल जस्ता ठाउँलाई आइसोलेसन केन्द्र बनाउन सकिन्छ भन्ने तथ्यांक र तयारी गरे सहज हुन्छ।

कुन-कुन अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउन सकिन्छ? आइसीयु संख्या कहाँ कति बेड थप्न सकिन्छ ? अक्सिजन प्लान्ट देशभरका कुन कुन अस्पतालमा स्थापना गर्न सकिन्छ ? त्यसको तयारी गरिनुपर्छ।

गम्भीर संक्रमितमा अक्सिजनको मात्रा निकै घट्ने भएकोले अक्सिजन प्लान्टको स्थापना तथा लिक्विड अक्सिजनको स्टक राख्नु आवश्यक छ। नेपालजस्ता देशमा भेन्टिलेटरमा पुगेको व्यक्ति फर्किने सम्भावना कम हुने भएकोले अक्सिजन प्लान्ट नै सर्वोत्तम विकल्प हो।

हाम्रोमा आइसीयु संचालन गर्ने तथा भेन्टिलेटर सञ्‍चालन गर्ने जनशक्ति कम भएकोले चिकित्सक तथा नर्सहरूलाई तालिम दिने व्यवस्था गरिनु पर्छ।

स्वास्थ्य संस्थामा सुरक्षित प्रसव, बालबालिकालाई खोप, दीर्घ बिरामीलाई नियमित सेवा तथा अन्य आकस्मिक उपचारको लागि नन कोभिड अस्पताल शीघ्र तोकिनु पर्छ।

कोभिड १९ को उपचारमा निजी अस्पतालले बिरामीसँग धेरै पैसा असुलेको समाचार आइरहेका छन्। कोभिड १९ उपचार कसैको अनुचित व्यापार नहोस् भन्नका लागि उपचारको शुल्क सरकारको अधिनमा राख्नुपर्छ। पैसा तिर्न नसक्ने नागरिकलाई सरकारले नि:शुल्क उपचारको प्रबन्ध गरेन भने जन असन्तोष बढ्छ। जन असन्तोष बढ्दा जे हुन्छ, सबैले बुझेकै कुरा हो।

अहिले सबै स्वास्थ्य संस्थामा मनोपरामर्श सेवा व्यवस्था गर्नु जरुरी देखिएको छ। विदेशमा भिसा सकिएका, बेरोजगार भएका र दीर्घ बिरामी नेपालीलाई यही अवधिमा नेपाल ल्याएर उनीहरूलाई आइसोलेसन केन्द्रमा राख्ने व्यवस्था गर्नुपर्छ।

आफ्ना नागरिकको पीडामा सरकार जिम्मेवार हुनैपर्छ। त्यसैले, भारतबाट नेपाल आउने नेपालीलाई राख्ने समेत होल्डिङ सेन्टरको व्यवस्था गरिनुपर्छ। भारतसँगका सिमाना पूर्णतया: शील गर्नु राम्रो हुन्छ। अन्तर प्रदेश तथा जिल्ला सिमानामा बिरामी बाहेक अन्य व्यक्तिलाई कडाइ गर्नुपर्छ।

संक्रमितको उपचार सम्बन्धित जिल्लामै गर्ने योजना अनुरुप जिल्लामा रहेका अस्पतालको क्षमता वृद्धि गर्नैपर्छ। संक्रमण उच्च भएका जिल्लाहरूमा संक्रमण कम भएका वा प्रशासनिक काम गरिरहेका चिकित्सकलाई खटाइएमात्र काम सहज हुनेछ।

कोभिड १९ नियन्त्रणमा स्वास्थ्य मन्त्रालय मात्र सक्रिय भएर पुग्दैन, अन्य देशमा जस्तै गृह मन्त्रालयको भूमिका बढाउनुपर्छ। लकडाउन वा निषेधको अवधिमा न्यून आय भएका नागरिकलाई पुग्दो राहत दिने र माइक्रोबसलाई एम्बुलेन्सको रुपमा विकास गरेर एम्बुलेन्स सेवामा आम नागरिकको पहुँच बढाउनेतर्फ पनि सोच्न सकिन्छ।

जनस्वास्थ्य चेतनाको एकरुपता तथा आधिकारिकताका लागि सिसिएमसी अन्तर्गत विज्ञ समूह गठन गरेर काम सुरु गर्नुपर्छ। किनभने कोभिड नियन्त्रणका काम राजनीति र प्रशासनिक कामबाट मात्र सम्भव हुँदैन।

अहिले सबैतिरबाट माग भएअनुसार पीसीआर परीक्षण जसरी र जति सकिन्छ, अधिकतम गर्नसके जनभावनाको कदर हुने मात्र होइन, उपचार पनि सहज हुनेछ।

अन्त्यमा सबैकुरा सरकारले मात्र गर्ने होइन, समुदाय र आम नागरिक पनि संक्रमण हुनबाट बच्नको लागि सतर्क, सजग र जिम्मेवार हुनु जरुरी छ भन्ने कुराको बोध गराइनुपर्छ। केही समय कष्ट सहेर भएपनि जीवन रक्षाको लागि सरकारको निर्देशन पालना गर्नु नागरिकको दायित्व हो।

सरकार र नागरिकको एकताबाट नै हामीले कोरोनाको युद्ध जित्न सक्छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.