हेलिकोप्टरले ओसार्ने
हेलिकोप्टरले ओसार्ने
काठमाडौं : उत्तरी गोरखाको मनास्लु पद मार्गमा पर्यटन व्यवसायीहरुले व्यवसायीक स्याउ खेती सुरु गरेका छन्।
पर्यटन व्यवसायी लाक्पाढुण्डुप लामाको समूहले इन गोरखा प्रोडक्ट कम्पनी मार्फत स्याउको वृहत खेती गरेका हुन्। उनीहरुले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ प्राेकमा स्याउका चार हजार ३ सय ७० बिरुवा रोपेका छन्। गत बैशाख जेठमा गरेर चार हजार वटा विरुवा सारेका उनीहरुले अहिले फल दिन थालेकाे लाक्पाढुण्डुपले जानकारी दिए। सामुन्द्रीक सतहबाट २ हजार ६ सय ५० मिटर उचाइमा खेती गरेका हुन्।
‘हामीले गत बैशाख जेठमा स्याउ रोपेका थियौँ,’ उनले भने, ‘तीनसय रोपनीमा इटालियन स्याउ रोपेका छौँ। म अनि केही यूवा साथीहरुको सहयोगमा काम गरिरहेका छौँ।’ उनले चारहजार इटालीबाट फुजी, गोल्डेन र डेलिसियस र गोल्डेन जातका विरुवा रोपेको जनाएका छन्। ‘बैशाख जेठमा रोपेका हौँ अहिले त फल्न थालिसकेको छ।’ उनले भने, ‘हाम्रो उदेश्य भनेको व्यवसायीक खेती नै हो। यहाँ आउने पर्यटकलाई यहीँको उत्पादन खुवाउने उदेश्य हो। हामी स्याउ मात्रै हैन अरु पनि खेती गर्छौँ।’
उनका अनुसार स्याउको विरुवा खरिदका लागि गण्डकी प्रदेश सरकारले ७० प्रतिशत अनुदान दिएको थियो। उनीहरुले फार्म र विरुवाका लागि डेड करोड खर्च गरेको बताएका छन्।
‘हामीले विदेशीलाई यहाँ अर्गानिक फलसँगै जुस जाम र वाइन उत्पादनको लक्ष्य लिएका छौँ,’ उनले भने। उनीहरुले विरुवा ल्याउँदा भने लकडाउनको मार खेप्नु परेको थियो। ‘लकडाउनका कारण इटालीबाट झिकाइएको बिरुवा तीन महिना भारतको कलकत्तामा रोकिएको थियो,’ लाक्पाले भने, ‘लकडाउनले ल्याउन ढिला भएपनि अहिले स्याउ फल्न थालिसक्यो।’
उनीहरुको अध्ययनले अहिले फल दिन सुरु गरेको विरुवाले अर्काे वर्ष १५ किलोसम्म फल दिने छ। ‘यो स्याउले सारेको पाँच÷छ महिनामा नै फल दिन थालिसक्यो,’ लाक्पाले भने, ‘अर्काे एउटा विरुवाबाट १५ किलो स्याउ फल्ने अनुमान छ। यो स्याउले रोपेको ३५ वर्षसम्म फल्छ।’ कम्पनीले जग्गा भने २६ वर्षको लागि गाउँलेसँग भाडामा लिएको छ।
उनीहरुले स्याउ मात्रै होइन त्यसलाई एकीकृत कृषि फार्मको रुपमा विकास गर्नका लागि जडीबुटी पनि खेती पनि गरेका छन्। लाक्पाका अनुसार सतुवा, वन लसुन, अलैंची आदि जडीबुटी रोपेका छन। उनीहरुको फार्ममा अहिले २५ जना स्थानीयले रोजगारीसमेत पाएका छन्।
सडक सञ्जाल नजोडिएको त्यस क्षेत्रमा उत्पादीत स्याउ बिक्रीका लागि उनीहरुले काठमाडौं, पोखरा, गोरखा लगायतका क्षेत्रलाई बजारको रुपमा हेरेका छन्। त्यस क्षेत्रमा जोड्ने सडक अहिले नेपाली सेनाले धमाधम निर्माण गरिरहेको छ।
मनास्लु पद मार्गका पर्यटक पनि उनीहरुको स्याउका ग्राहक हुनेछन्। ‘केही वर्षमा यहाँसम्म सडक आइहाल्छ,’ उनले भने, ‘त्यो बेलासम्म हेलिकोप्टरबाटै ओसारेर बिक्री गर्छौँ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।