स्थानीय सरकार रमिते

|

विराटनगर : शौचालयमा लडेर घाइते भएकी मोरङ कानेपोखरीकी–५ की २३ वर्षीया गर्भवती सविना थापा दर्जीलाई आफन्तले बुधबार राति विराटनगर ल्याए। तर विराटनगरमा रहेका सरकारी र निजी अस्पतालले उनलाई भर्ना गर्न मानेनन्।

विराटनगरका अस्पताल चर्हादा पनि भर्ना लिन नमानेपछि एम्बुलेन्समा हालेर उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइयो। प्रतिष्ठानले सविनालाई भर्ना त लियो, तर आधा घण्टा नबित्दै बिहीबार उनको ज्यान गयो।

कोरोना भाइरस संक्रमणको बेला बिरामीलाई अस्पताल पुर्याउनै महाभारत हुने गरेको छ। बल्लतल्ल अस्पताल पुगेकालाई पनि गेटबाटै फर्काइन्छ। जसले कतिपय बिरामीले अकालमै ज्यान गुमाइरहेका छन्। तीमध्ये एक हुन् सविना। तर अस्पतालले उपचार नगरेका कारण ज्यान गुमाउने न उनी पहिलो हुन् न अन्तिम। 

कोरोनाको कहर सुरु भएदेखि विराटनगरका अस्पतालले भर्ना लिन नमानेर अकालमै ज्यान गुमाएका धेरैको फेहरिस्त छ। 

कोरोना लगायत विभिन्‍न कारण देखाउँदै विराटनगरका अस्पतालले बिरामीलाई गेटबाट फर्काउने गरेका छन्। सुत्केरीदेखि वृद्धसम्म उपचार नपाएर छटपटाइरहेका छन्। 

भात सर्किएर बेहोस भएकी चौदण्डीगढी नगरपालिका–६ उदयपुरकी ६५ वर्षीया डम्बरकुमारी बस्नेतलाई आफन्तले शनिबार राति विराटनगर ल्याए। तर ७ वटा अस्पताल पुर्‍याउँदा पनि उनलाई कुनैले पनि भर्ना गर्न मानेनन्। आफन्तले हार मानेर घर फर्काएको केही घण्टामै उनको मृत्यु भयो।

पथरी शनिश्चरे–१ का नवराज राईलाई जण्डिस भएपछि आफन्तले शुक्रबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगे। तर उनलाई भर्ना गरिएन, गेटमा ३ घण्टासम्म रोकेर फर्काइयो। घर पुगेको केही समयमा उनको मृत्यु भयो। 

पथरी शनिश्चरे नगरपालिका–२ की ६२ वर्षीया सानकुमारी राईको पिसाबमा समस्या देखिएपछि आफन्तले बुधबार उपचारका लागि झापा र मोरङका ६ वटा अस्पतालमा पुर्‍याए। तर कुनै पनि अस्पतालले भर्ना गरेनन्। बिहीबार बिहानीपख कोशी अस्पतालमा बल्लतल्ल भर्ना गरेको केहीबेरमा उनको मृत्यु भयो। 

यी माथि उल्लेखित घटनामा अस्पतालले भर्ना लिन नमानेका कारण मानिसले ज्यान गुमाउनु परेको पछिल्ला एक साताभित्र भएका प्रतिनिधि घटनामा मात्र विराटनगरमा अस्पताल धेरै छन्। तर उनीहरु कोरोना संक्रमणको जोखिम देखाउँदै जिम्मेवारीबाट पन्छिने गरेका छन्। त्यही कारण पहुँच भएकाले मात्र निजी अस्पतालमा उपचार पाउने अवस्था आएको धेरैको गुनासो छ।

स्थानीय प्रशासन रमिते

बिरामी भर्ना नगरे जनस्वास्थ्य ऐन २०७५ र फौजदारी संहिता २०७४ आकर्षित हुन्छ तर कारबाहीको अधिकार बोकेर बसेका प्रमुख जिल्ला अधिकारीले बिरामी फर्काउने अस्पताललाई कारबाही भने गरेका छैनन्।

अस्पतालले भर्ना नलिएको धेरै विषय प्रजिअसम्म पुग्ने गरेका छन्। तर मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला आफू समक्ष आएका घटनामा समन्वय गरेर उपचार गराउने भूमिकामा मात्र छन्।  

सविना,डम्बरकुमारी, नवराज र सानुकुमारीहरुको समस्या अहिले प्रजिअसम्म पुगेको छ। अस्पतालले समयमा उपचार नगरेका कारण नै बचाउन सकिएन भन्ने प्रशासनको पनि निष्कर्ष छ। तर पनि स्थानीय प्रशासन अहिलेसम्म रमिते बनेर बसेको छ।

निजी अस्पतालले मनलाग्दी गर्दा सर्वसाधारणले दुःख पाएका प्रजिअ निरौला पनि स्वीकार गर्छन्। ‘अस्पतालले बिरामी फर्काएको गुनासाहरू धेरै आइरहेका छन,’ उनले भने, ‘गुनासा आएलगत्तै सम्बोधन पनि गरेको छु।’

बिरामीको उपचार नगर्ने निजी अस्पताललाई स्थानीय प्रशासनले कारवाही गर्न सक्छ। जनस्वास्थ्य ऐन २०७५ अनुसार बिरामीलाई उपचारबाट वञ्चित गराउने अस्पताललाई कारवाही गर्न सक्ने प्रावधान छ। 

प्रदेश सरकार निरीह

विराटनगर प्रदेश १ को राजधानी पनि हो। र, विराटनगरलाई मेडिकल हब बनाउने नारा पनि दिइएको छ। तर विपन्‍न नागरिक अस्पताल डुलाउँदा डुलाउँदै ज्यान गुमाउन बाध्य हुँदा प्रदेश सरकार निरीह छ। अस्पतालले भर्ना नलिँदा एक सातामा पाँच जनाको मृत्यु भएको घटनाबारे प्रदेश सरकार थाहा पाएर नपाएको गरेर बसेको छ।

थाहै नपाएको भने होइन रहेछ। केही गुनासो आएको भन्दै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता हिक्मत कार्कीले घटनाको अध्ययन गरेर तत्काल सरकार ‘एक्सन’मा जाने बताए।

‘विभागीय मन्त्री कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नुभएको हालको अवस्था छ,’ मन्त्री कार्कीले भने, ‘सरकारी या निजी अस्पतालहरुले बिरामीलाई कुनै पनि बहानामा भर्ना लिन मिल्दैन भन्ने छुट छैन, यो कार्वाहीको विषय बन्छ, प्रदेश सरकार एक्सनमा जान्छ।’

मन्त्री कार्कीले यस विषयमा सामाजिक विकास मन्त्रालयका सचिवसँग कुरा गरेर एक्सन र कार्वाहीको कुरामा बढने बताए। मन्त्रालयका सचिव गोविन्द कार्कीले भने अस्पतालले भर्ना नगरेको गुनासो आए पनि लिखित उजुरी नआएको प्रतिक्रिया दिएका छन्। ‘गुनासाहरू छिटफुट रुपमा आएका छन,’ उनले भने, ‘लिखित निवेदन आएको छैन। लिखित आए सजिलो हुन्थ्यो।’

उपचार नपाएर बिरामीले मृत्युवरण गर्नुपरेका केही घटना

घटना : १ 

कोरोना कहर सुरु भएयता वैशाख ५ गतेदेखि हालसम्म सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लाका मानिस बिरामी भएर उपचारका लागि विराटनगर ल्याउँदा अस्पतालहरुले बिरामीलाई गेटैबाट फर्काउने सिलसिला सुरु भएको थियो।

पहिलो केस वैशाख ७ गते साँझमा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सुनसरी देवानगञ्ज–१ का २७ वर्षीय रवीन्द्र यादवको उपचार हुन नसक्दा मृत्यु भएको थियो। दुई दिनअघि विष सेवन गरेपछि विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा आइसियु सहित भेन्टिलेटर राख्नुपर्ने र यहाँ नभएपछि रेफर ग¥यो। उसलाई एक सय डिग्री ज्वरो आएकैले गर्दा नोबेल टिचिङ अस्पतालले भर्ना लिएन।

पुनः कोसी अस्पताल लगे पनि भर्ना लिन मानेनन् र घर लगे। रवीन्द्रका बुवा जोगीलाल यादवले पुनः बिहीबार विराटनगरको ग्रिनक्रस अस्पताल, न्युरो अस्पताल, लाइफगार्ड र गोल्डेन अस्पतालहरूले पनि १ सय डिग्रीमाथि ज्वरो भएकाले भर्ना लिन इकार गरेका थिए। केही नभएपछि धरान लगे पनि सुरुमा भर्ना लिएन र अन्तिम अवस्था भर्ना लिए पनि समयमा उपचार हुन नसक्दा उनको मृत्यु भयो।

घटना : २

उदयपुर बेलका नगरपालिका–४ की ५२ वर्षीया रत्नमाया तिम्सिना वैशाख १४ गते पुट दुखेर विराटनगरस्थित विराटनगर अस्पताल प्रालि (विराट नर्सिङ होम) उपचार गर्न आइन्। तर, तिम्सिनालाई आकस्मिक कक्षका  चिकित्सकले भर्ना नलिई गेटबाटै फर्काइदिएका थिए। कोसी अस्पतालबाट कोरोना भए नभएको रिपोर्ट लिएर आएपछि मात्रै भर्ना गर्ने भन्दै फर्काइदिएका उनको अन्तिम अवस्थामा कोसी अस्पताल लगेर उपचार गरिएको थियो। र उनको ज्यान गोगिएको थियो। 

घटना : ३

उदयपुरको बेलका नगरपालिका–५ की १६ वर्षीया समीक्षा मगर पनि यस्तै नियतिको भागिदार हुँदै दृष्टी गुमाएकी छिन्। वैशाख १२ गते खेतमा सिमल तरुल खन्ने क्रममा दाहिने आँखामा चोट लाग्यो। चोट लागेको राति खासै दुःख दिएन। भोलीपल्ट मगरको आँखामा समस्या भएपछि बुबा दलबहादुरले नजिकै रामपुर ठोक्सिला स्वास्थ्य चौकीमा लगे। त्यहाँ चिकित्सकले आँखाको नानीमा चोट भएकाले धरान बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान भने। आँखामा दुखाइ बढ्दै जाँदा शरीरमा तापक्रम बढ्यो। आँखाको उपचार गर्न बिपी पुगेको बिरामीलाई चिकित्सकहरूले कोरोनाको शंकास्पद तीन दिन आइसोलेसनमा राख्यो।

आइसोलेसनमा बस्दा सीमित औषधि प्रयोग गर्दा आँखाको राम्रो र समयमा उपचार हुन सकेन। ३ दिन आइसोलेसनमा बसेपछि समीक्षाको कोरोना रिपोर्ट नेगेटिभ आयो। त्यसपछि बिपीले आँखाको नानीमा समस्या जनाउँदै विराटनगरस्थित विराटनगर आँखा अस्पताल लैजान भन्यो। बिपीले १८ गते डिस्चार्ज दियो। थप उपचारका लागि विराटनगर आए पनि आँखामा नराम्ररी चोट लागेको कारण दृष्टि गुमिसकेको अस्पतालले जनाएको छ।

घटना : ४

विराटनगरको नोबेल टिचिङ अस्पतालले पनि बुधबार प्रसूतिका लागि अप्रेशन गर्न तयारी गर्दै गर्दा चिकित्सकले उदयपुरको ठेगाना देख्नसाथ उपचार नगरी रेफर गरेका छन्। अस्पतालले बिरामीको पुर्जीमा ‘रेफर टु कोसी हस्पिटल बिकाउज पेसेन्ट फ्रम उदयपुर’ लेखेर कोसी अस्पताल पठायो। मंगलबार प्रसूतिका लागि अस्पतालमा भर्ना भएकी उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटकी २९ वर्षीया सरस्वती रौनियारलाई शल्यक्रियाका क्रममा थिएटरबाट निकालिएको थियो।

नोबेलमा उपचार गर्न नमानेपछि उनलाई कोसी अस्पतालमा लगियो र त्यहाँ उनले दोस्रो सन्तानका रूपमा छोरोलाई जन्म दिएकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.