सबै उमेर समूहकालाई उत्तिकै जोखिम हुने चिकित्स‍कको भनाइ

|

विराटनगर : सुनसरी इटहरी–६ का ८१ वर्षीय मेहरमान बस्नेतलाई मुटु र उच्च रक्तचापसम्बन्धी रोग छ। ७ वर्षदेखि यी दुई स्वास्थ्य समस्याका कारण नियमित औषधि खाइरहेका बस्नेतलाई यही बीचमा कोेरोना संक्रमण भयो।  

प्राय बजार घुमफिरमा निस्कने बस्नेतलाई कसरी संक्रमण भयो, पत्तै छैन। उनमा गएको साउन २८ गते संक्रमण भएको पुष्टि भएको थियो। सामान्य ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि साउन २४ गते स्वाब संकलन गरिएको बस्नेतको चार दिनपछि रिर्पोटमा कोरोना देखिएको थियो। तर उनको घरका अन्य सदस्य कसैमा पनि कोरोना देखिएको पुष्टि भएन।  

कोरोना संक्रमण देखिएपछि पनि उनी घरमै बसे। अर्थात् होम आइसोलेसनमा। दुई सातापछि उनको रिर्पोट नेगेटिभ आयो। उनी अहिले कोरोनामुक्त भएका छन्।कोरोना देखिए पनि उनी कहिले निरास भएनन्। होम आइसोलेसनमा बस्दा दीर्घरोगको नियमित औषधि भने उनले खाइरहे। 

मेहरमानले भने, ‘उमेरले ८० काटेको मान्छे म, त्यसमा पनि दीर्घरोगी, नियमित औषधि सेवन गरिरहेको थिएँ।’ कतै नबाँचिने पो हो कि भन्ने भइ भने कहिलेकाहीँ हुने गरेको उनले अनुभव सुनाए। 

तर परिवार र आफन्तले दिएको हौसालाले उमेरमा पनि कोरोनालाई परास्त गर्न सकिएको उनको बुझाइ छ। ‘कोरोना पनि अरु जस्तै सामान्य रोग हो, अरु रोगलाई ठिक पर्न औषधि सेवन गर्नुपर्छ,’ भने, ‘सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक सोच रहेछ।’ औषधिभन्दा ठूलो आत्मबल रहेको उनलाई लाग्छ। 

बुढ्यौली उमेरमा कोरोनाबाट सहजै मुक्ति पाएर रोगलाई जित्न आत्मबल उच्च राख्नुपर्छ भन्ने उदाहरण उनी मात्र होइनन्। मेहरमान भन्दा पनि उमेरले निकै बढी मोरङ विराटनगर–६ की ९० वर्षीया मधुदेवी भट्टराईले पनि कोरोनालाई सहजै जितिन्। 

उनमा पनि मधुमेह, उच्च रक्तचाप र नसासम्बन्धी रोग छ। उनमा पनि कोरोना संक्रमण कतिबेला भयो अहिलेसम्म खुल्न सकेको छैन। महानगरपालिकाले स्वाब लिएको ठाउँमा गएर साउन ५ गते स्वाब दिएको र ७ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो। 

तर पनि उनले ९० वर्षको उमेरमा विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १० दिनको बसाइपछि कोरोनालाई जितिन्। पहिला मधुदेवीका नाति सार्थक र त्यसपछि बुहारी नीलमसगै मधुदेवीमा कोरोना देखिएको थियो। त्यसपछि परिवारका अन्य सदस्य छोरा किरणकुमारमा पनि कोरोना पोजिटिभ देखिएको थियो।

नातिनी श्रृष्टिबाहेक परिवारका अरू सदस्यमा संक्रमण देखिँदा पीर लागे पनि अन्य रोगका औषधि नियमित सेवन गर्ने उनलाई अस्पताल जान एम्बुलेन्स चढ्दा भने मनमा अलिक चिसो पसेको थियो।

उमेर पनि निकै पार गरेको बुढो शरीर कतै कोरोनासँग लड्न नसकेर उतै बितिने हो कि भन्ने आफूलाई लागेको उनले बताइन्। तर १० दिनको अस्पताल बसाइपछि कोरोना संक्रमण जितेर उनी घर फर्किइन्।

उनी हाल घरमा पहिलेजस्तै सामान्य जीवनयापन गरिरहेकी छन्।। यो उमेरमा कोरोनाबाट सहजै मुक्ति पाएर रोगलाई जित्न आत्मबल उच्च राख्नुपर्छ भन्ने अर्को एक उदाहरण उनी पनि हुन्। 

कोरोना संक्रमणलाई परास्त गरी सामान्य जीवनमा फर्किएकी मधुदेवी भन्छिन्, ‘संक्रमण नहुनेले कोरोनालाई सामान्य नठान्नुहोस्, सुरुमा बच्ने काम गरौं। लागेकाले पनि अन्य रोगजस्तै यो रोग लाग्यो, सामान्य हो निको भइन्छ भन्ने सोचौं। खानपानमा ध्यान दिऊँ र सबैभन्दा ठूलो कुरा म बारम्बार भन्छु, आत्मबल उच्च राखौं। सकारात्मक सोचौं। अहिले हल्ला भएजस्तो  कोरोना भएपछि मरिनै हालिन्छ भनेजस्तो पनि हैन। 

चिकित्सक भन्छन् : जुनसकुै उमेर समूहकालाई उतिकै जोखिम

विश्व लगायत नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेका अधिकाश वृद्ध छन्। प्राय कुनै न कुनै दीर्घ रोग भएकाको यसबाट ज्यान गएको छ। तर उपचारमा संलग्न चिकित्सकले भने कुनै पनि उमेर समूहका मानिसलाई उत्तिकै जोखिम हुने बताउँछन्। चिकित्सकका अनुसार पछिल्ला समय त अझ बुढाबुढीभन्दा पनि युवा उमेरकामा संक्रमण दर बढिरहेको र मृत्युदर पनि सोही हिसाबले भइरहेको चिकित्सको सुझाव छ।

कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रका संयोजक डा दीपक सिग्देलले कोरोनाका कारण मृत्युवरण गर्नेमा जुनसुकै उमेर समूहका पनि उत्तिकै जोखिममा रहेका बताए। वरिष्ठ फिजिसियन डा सिग्देलले संक्रमण देखिएका जुनसुकै उमेर समूहका मानिसमा दीर्घरोग रहेमा उनीहरुमा धेरै स्वास्थ्य समस्या आउने भएकाले बचाउन कठिन हुने बताए।

‘संक्रमित मानिसको उमेर भन्दा पनि यसको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कस्तो छ भन्ने कुराले ठूलो अर्थ राख्छ,’ डा सिग्देलले भने, ‘स्वाभावैले वृद्धवृद्धामा रोग प्रतिरक्षा (इम्युनिटी पावर) कमजोर हुन्छ, तर यस्ता धेरै ७० वर्ष माथिका संक्रमित आमा–बुबाले कोरोना जितेर जानुभएको छ। तसर्थ कोरोना संक्रमण हुने बितिकै वृद्धवृद्धालाई जोगाउन कठिन हुन्छ।’

७० माथिका निको हुने दर उत्साहजनक

प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेश एकमा ७० वर्ष उमेर कटेका धेरैले कोरोना परास्त गरी सामान्य जीवनमा फर्किसकेको छन्।ओखलढुङगा, मोरङ, झापा, सुनसरीलगायत जिल्लामा ७० माथि उमेर समूहकाले कोरोना जित्ने दर ६३ प्रतिशत छ। 

त्यसैगरी अहिले पनि विभिन्न कोभिड अस्पतालका साथै होम आइसोलेसनमा ६१ जना ७० माथि उमेर नाघेका उपचाररत छन्। प्रदेश १ मा उमेर समूहमा ६० देखि ७१ वर्ष उमेर समूहका ४१ महिलासहित कुल १ सय ११ जना संक्रमित छन्। अन्य उमेर समूहभन्दा यो उमेर समूहका मानिसमा २ दशमलव ९५ प्रतिशत संक्रमण दर छ। 
त्यसैगरी ७० वर्षमाथि २६ महिलासहित कुल ६१ जना रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.