काठमाडौं : स्वास्थ्यलाई लिएर नेपाली समाजका दुई प्रवृत्ति देखिन्छन्। पहिलो : हामी रोग नलागेसम्म अरूका सुझाव सुन्दैनौँ। दोस्रो : जब रोग लाग्छ, तब बढी रोइलो गर्छौंं। रोगलाई सबैथोक सकिएको ढंगले चित्रण गर्नु हाम्रो समाजको विशेषता हो।
म आफैँ पनि कोरोना संक्रमण भएका व्यक्तिलाई स्वास्थ्यलाभको कामना र मुक्त भएर घर फर्केका व्यक्तिलाई बधाईका शब्द अर्पण गर्छु। यसमा कहीँकतै माया र ममता जोडिएको होला। तर, जारी संकटमा यस्ता शब्दले पनि रोगप्रतिको धारणा अर्कै बनाइदिएको छ। रोगलाई चाहिनेभन्दा बढी स्थान दिँदा यसबाट संक्रमित व्यक्तिको मनोबल घट्दो देखिएको छ। संक्रमित भएपछि म आफैँ १४ दिन क्वारेन्टाइनमा बसेँ। कोरोनामुक्त पुष्टि भएर २० गते डिस्चार्ज भएँ।
म मात्र होइन, मेरो साथीहरु लेखामा काम गर्ने विदुर गौतम, प्राविधिज्ञ आनन्द शाह र सद्दाम हुसेन एवम्र कार्यालय सहयोगी गणेश पौडेलका लागि नारायणी एफएम नै आइसोलेसन बन्यो। डिस्चार्ज भएर पुन: हामी एफएममै कार्यरत छौं।
कोरोना लाग्नुअघि यसबारे केही समाचार उत्पादन र प्रसारण गर्दा अभ्यस्त भैसकेको थिएँ। यद्यपी; कहिँकतै कोरोना लागिहाले के गर्ने भन्ने डर भने कायम थियो। कोरोना लाग्नुअघि रोगसँग डराउन जरूरी छ। जब लाग्छ : तब डर होइन, रोगसँग लड्ने इच्छाशक्ति र आत्मबल बलियो बनाउन जरूरी छ। रोग लागेपछि डराउन थालियो भने थप कमजोर होइन्छ र अशुभ समाचार बन्न सक्ने सम्भावना धेरै हुन्छ।
समाचार भन्ने व्यक्ति नै समाचार बनियो भने के गर्ने भन्ने डर कायम थियो। कार्यालयका केही साथीहरु कोरोना लागेर आइसोलेसनमा हुनुहुन्थ्यो त केही साथीहरु होम क्वारेन्टाइनमा। यस्तो अवस्थामा हामी ५ जनालाई कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आयो।
हामी आइसोलेसनमा गएको बखत सूचना प्रसारण गर्ने जिम्मेवारी पाएको एउटा सञ्चारसंस्था बन्द हुने सम्भावना रहन्थ्यो। जसले गर्दा हामीले आफ्नै कार्यालयलाई आइसोलेसन बनाउने निर्णय गर्यौं। लगातार काम गर्ने अठोट गर्यौं। यसमा संस्थाले हामीलाई पूर्ण साथ दियो।
बिना कुनै लक्षण कोरोना देखिएपनि केही साथीलाई आफू संक्रमित र कमजोर रहेको अनुभव भएन। सायद लक्षणबिना कोरोना देखिनु नै हाम्रा लागि भाग्य थियो।
कोरोना लागेपनि साथीहरूका नित्यकर्म जारी रहे। मैले चाहिँ आफ्नो दैनिकीमा पूर्ण फेरबदल गरेँ। जस्तै : छिटो उठ्ने, स्वस्थ रहन योगा तथा व्यायाम गर्ने, तातोपानी खाने, दूध नहालेको चिया पिउने तथा घरेलु आयुर्वेदिक औषधिको प्रयोग गर्ने क्रम चल्यो।
हामी नेपाली ज्यादै अल्छी हुन थालेका छौँ। घरमा हुँदा स्वास्थ्यका लागि कुनै पनि काम उचित तरिकाले गर्दैनौँ। बिरामी परेपछि मात्र त्यसलाई पालना गर्ने कोशिश गर्छौँ। म पनि हाम्रो सामाजिक चरित्रभन्दा परको मान्छे होइन। कोरोनाले मेरो खराब दैनिकीमा परिवर्तन ल्याइदिएको छ।
म बिहान ५ बजे उठेर रेडियोमा समाचारका लागि तयार रहन्थेँ। समाचार वाचन पश्चात् योगा गर्थेँ। तातोपानी पिउथेँ। शरीरलाई चाहिने आवश्यक प्रतिरक्षारत्मक औषधि खाने गर्थे। बिहानदेखि बेलुका ७ बजेसम्म म रेडियोको काममा नै सक्रिय रहन्थेँ। ७ बजे पछि कोरोना संक्रमित र कोरोना सम्बन्धी कार्यक्रम संचालन गरेर आम श्रोतालाई सूचना दिने काम पनि जारी राखेँ।
यस बीचमा मेरा कयौं आफन्त र शुभचिन्तकले मलाई खुबै ममता र उर्जा दिए। बिरामी भएका बखत कतिपयले रेडियोमा बोल्न बन्द गरेर आराम गर पनि भनेका थिए। रोगप्रति अनेक टिप्पणी पनि गरे। कतिले 'हामीले दिएको सुझाव मान, नत्र राम राम भन्न मात्र सक्छौं' पनि भने। यस्ता सल्लाह र सुझावले अनावश्यक डर र त्रास बढाउनेभन्दा अरू काम गर्दैनथ्यो। कोरोनाको लक्षण नदेखिए पनि भोलि केही पो भइहाल्छ कि ! भन्ने डर लागिरहन्थ्यो। कोरोना लाग्दा पनि रेडियोमा बसेर समाचार वाचन गर्नु नौलो अनुभव रह्यो।
कोरोना लाग्यो भनेर डराउनुभन्दा कोरोना यसविरुद्ध लड्न आत्मबल बलियो बनाउँ। नेपाली संस्कार भनेको परिवार र भीड रुचाउने हो। हामी भीडमा बसेर आफूलाई अभिव्यक्त गर्न रुचाउछौँ। अझ भनौं हाम्रो संस्कार भीड रुचाउने खालको छ। कमसेकम यो संकटमा दूरी कायम गरौं। यो संकटपछि हाम्रा मूल्य र मान्यताअनुसार नै जमघट गरौंला।
अहिले वीरगञ्जमा लक्षणसहितका र लक्षण बिनाका धेरै कोरोना संक्रमित हुनुहुन्छ। रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु अझ राम्रो काम हो।
कोरोना महामारी नियन्त्रण गर्न भन्दै सरकारले विभिन्न प्रोटोकल अवलम्बन गरेको छ। सुरुवाती चरणमा सो त्यो प्रोटोकलमा अपनाएपनि हामी रोगसँग बढी अभ्यस्त भएर हो कि, अहिले अपनाउन छोडेका छौं। कोरोनाको डर एकातिर छ, अर्कोतर्फ अनेक थरी मिडियामार्फत अफवाह फैलाउँदै नेपाली समाजलाई भयग्रस्त बनाउन खोजिएको छ।
जति अफवाह फैलन्छ : संक्रमण जोखिम त्यति नै बढ्छ। किनकी, त्यस्ता अफवाहमा मानिसलाई संक्रमणबाट बच्न उचित सल्लाह भन्दा पनि गलत सूचनाहरू फैलाइएको हुन्छ। यहाँ धेरै जसो मिडियाले विदेशमा मास्क नलगाई, सामाजिक दूरी कायम नगरी आफ्नो काममा लागेका समाचार प्रकाशन/प्रसारण गरिरहेका छन्। तर, त्यसको पछाडिका कारण बताइरहेका छैनन्।
विकसित देशमा पर्याप्त स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्री उपलब्ध हुन्छ। हाम्रो जस्तो देशमा सरकारसँग बिरामीका लागि आवश्यक पर्याप्त पूर्वाधार छैनन्। कतिपय व्यक्तिले उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको समाचार हामीले प्रसारण गरिरहनु परेको छ।
त्यसैले, आफ्नो देशको बाध्यता र समस्याहरु बुझेर रोगबाट सुरक्षित हुन विभिन्न उपाय अवलम्बन गर्न जरूरी छ। अन्त्यमा : रोग केही पनि होइन। तर, रोगसँग लड्न सकिएन भने काल पनि हो।
(कोरोनामुक्त भएका नारायणी एफएमका पत्रकार यादवसँग कुराकानी गरी तयार पारिएको ।)
तपाईंको ईमेल गोप्य राखिनेछ ।