|

बुटवल : नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले 'पहाडियाले मधेसीलाई दुश्मन देख्ने' र 'मधेसीले पहाडियालाई दुश्मन देख्ने' खालका विचार हाबी हुन थालेको बताएका छन्।

बुटवलको दीपनगरमा निर्माण भएको वी.पी. कोईराला अध्ययन प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा वी.पी. स्मृति स्मारिकाको विमोचन गर्दै सभापति देउवाले पहाडी र मधेसी जनताका बिचमा द्वन्द्व सिर्जना गराउने षडयन्त्र भैरहेको आरोप लगाए।

उनले कांग्रेसले त्यस्तो षड्यन्त्र चिर्ने दाबी गरे। 'पहाड विरोधी र मधेस विरोधी भावना सिर्जना गराएर मुलुकलाई द्वन्द्वमा धकेल्न खोजिएको छ। यसलाई कांग्रेसले भावनात्मक हिसाबले जोडेर सबैले अपनत्व महसुस गर्ने राष्ट्रवादको धारबाट अघि बढाउने छ,' उनले भने।

उनले मधेस,पहाड र हिमाललाई एक बनाउने काम कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरे। 'जिम्मेवार दलहरु नै नेपाली नेपालीबीचमा रहेको एकता खल्बलाउने प्रयास गरिरहेका छन् उनले एमालेतर्फ इङ्गित गर्दै भने,'देशमा अतिवादीहरु हाबी भैरहेका छन्, अतिवादले दुर्घटना गराउछ।'

मधेसी जनताको भावनालाई आधार मानेर संविधान संसोधनको तयारी भैरहेको उनले बताए। उनले तोकिएको मितिमा चुनाव गर्नका लागि सरकारले तयारी गरिसकेको बताए। स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए।

कार्यक्रममा रक्षा मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारले घोषणा गरेको स्थानीय निर्वाचन कुनै पनि बहानामा नरोकिने बताए। 'सबैसँग निरन्तर वार्ता भैरहेको छ, सबैलाई मिलाएर चुनाबमा जाने हो, सरकारले घोषणा गरेको मिति (बैशाख ३१) मै निर्बाचन हुन्छ निश्चिन्त रहनुहोला,' उनले भने।  

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले देशमा अतिवादीले भ्रम छरिरहेको भन्दै दुवैप्रकारका अतिवादबाट देशलाइ जोगाएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए। प्रष्ठिानले बनाएको अढाइ तले भवन करिब ६० लाख लगानीमा निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष युवराज गिरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.