|

 

बुटवल : ‘यानीमाया, बटौलीको बजारमा, यानी माया

यानीमाया, चुरेटाको दोकान, यानीमाया’

यो यात्री गीतसँगै देखा परे अमृत गुरुङ ।

नमस्ते छ है बुटवल।

बेलुकाको ७ बज्दै थियो । बुटवलको कालिका माविको मैदानमा अनाथ बालबालिकाको सहयोगार्थ ‘यस नेपाल’को आयोजनामा नेपथ्य टिमको प्रस्तुती हेर्न धेरैकफो भीड जम्मा भैरहेको थियो।

संगीतमा झुमिरहेका बुटवलबासीलाई अमृतले भने–यो बटौलीबजार, ठूलो हुँदैछ, बुटवल र भैरहवा जोडिएर ठूलो शहर बन्दैछ, त्यसैगरी यहाँका मान्छेहरुको मन पनि ठूलो बनोस् ।’

फेरि उनले शुरु गरे–

लाम् भने लाम् त नि

दुईचार मैना

घुमेर आम् त नि

हिमाल चुचुरे

गीत मात्रै गाउँदैनन् अमृत । एउटा अभियान बोकेर हिड्छन् । सन्देश बोकेर हिड्छन् । उनले बटौलीबासीलाई पनि यस्तै सन्देश छाडे ।

ल है बटौलीका दाजुभाई दिदीबहिनीहरु

चुनाब आउँदैछ

चुनाबमा तेरो मेरो

भन्ने हैन

हाम्रो भनेर हैन

राम्रो मान्छे छान्नुहोला

उसले हामीले भनेको सुनोस्

चुनाबमा तपाइँ हामी जनता लड्ने हैन

मिलेर चुनाव गर्ने है ।

उनले यसैमा थपे,

'गाउँ गाउँबाट उठ 

बस्तीबस्तीबाट उठ 

यो देशको मुहार

हेर्नलाई उठ ।'

अमृतले सन् २००३ मा बुटवल आएको घटनाको पनि पुनर्ताजगी गराए । ‘जतिबेला मुलुक द्वन्द्वमा डुबेको थियो । त्यतिबेला जताततै खतरा थियो । तरपनि यही ठाउँमा ‘सुन्दर शान्त नेपाल’ कार्यक्रम हामीले गरेका थियौं,'उनले  भने,'अहिले त्यस्तो छैन । हेर्नुस् त हामीहरु अहिले कसरी निर्धक्क भएर कार्यक्रम गर्न पाएका छौं, यस्तै रहीरहोस् है।’

उनले सबै नेपाली एकजुट हुन, दाजुभाइबीच भाइचारा राख्न आह्वान पनि गरे।

उनले भेडाको उनजस्तो, मेरो नेपाल,  जोगले हुन्छ भेट, मै नाँचे छम् छम्, कोशीको पानी लगायतका गीत प्रस्तुत गरे।

‘एकताको लागि संगीत’ नारा रहेको ‘एस नेपाल’ नामक संस्थाले आयोजना गरेको यो कन्सर्टबाट हुने मुनाफाको रकम ‘अभियान नेपाल चाइल्ड होम’को सहयोगार्थ प्रदान गरिने जानकारी आयोजक सन्तोष टण्डनले दिएका छन्। सधैझै बुटवलको कार्यक्रममा पनि अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.