७ जना पक्राउ

|

बुटवल :  युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या मनोज पुनकै योजनामा भएको प्रहरीले पुष्टि गरेको छ। घटना भएकै दिन गत पुस ४ गते फोन गरेर आफुले हत्या गराएको भन्दै जिम्मा लिएका पुनले बनाएको हत्या योजनाको फेहरिस्त प्रहरीले सार्वजनिक गरेको छ।

घटनामा प्रत्यक्ष संलग्न नभएपनि अरु ११ जनालाई हत्याका लागि खटाएका पुनलाई भने प्रहरीले पक्रेन सकेको छैन। 

हत्याका योजनाकार, सुटरलाई पनि प्रहरीले पक्रिन सकेन। हत्यामा संलग्न भएको अभियोगमा देवदह नगरपालिका ६ का ३१ वर्षीय वसन्तबहादुर चापागाई, तिलोत्तमा नगरपालिका १५ का २७ वर्षीय बुद्धिसागर यादव, सोही ठाउँका २४ बर्षीय राजेश यादव, तिलोत्तमा ८ का ३३ बर्षीय प्रयास भनिने खेमानन्द भट्टराई,  देवदह ८ का २३ बर्षीय सागर थापा, रुपन्देही धकधईका २८ बर्षीय अंगद थारु र देवदहका २८ वर्षीय ऋषिश्वर कुमाललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार सार्वजनिक गरेको हो।

मुख्य योजनाकार मानिएका देवदह नगरपालिका ६ का २९ बर्षीय मनोज पुन भन्ने मनोज बुढामगर, योजनाकारहरु भनिएका सिद्धार्थनगर नगरपालिका १३ का ४० वर्षीय विकास भन्ने सोमबहादुर आले, बारा गढीमाई नगरपालिका १ का ३० वर्षीय श्याम गुरुङ, तिवारीलाई गोली हान्ने थर र ठेगाना नखुलेका राजु, हातहतियार तथा गोली दिने देवदह ३ का २७ वर्षीय तुल बहादुर सिञ्जाली फरार छन्।

प्रहरीले हत्याका लागि प्रयोग भएका लु २८ प २११९, लु २५ प ८४४१ र बा ५१ प ८०७३ नम्वरका मोटरसाइकल र पेस्तोल समेत बरामद गरेको छ। फरार रहेका मुख्य योजनाकार, योजनाकारहरु र सुटरलाई छिट्टै पक्राउ गरी सार्वजनिक गर्ने रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र बहादुर धानुकले बताए।

घटना राजनीतिक भन्दा पनि अपराधिक मनोवृत्तिबाट व्यक्तिगत रिसइबीका आधारमा भएको उनले बताए  ।

हत्यामा कसको भूमिका के थियो?

१ . मनोज पुन भन्ने मनोज बुढामगर : (फरार), २९ वर्ष, जिल्ला रुपन्देही देवदह न.पा.–६, रुपन्देही

भूमिकाः घटनाको मुख्य योजनाकार।

२.  विकास भन्ने सोमबहादुर आले (फरार), ४० वर्ष, सिद्धार्थनगर न.पा.–१३, रुपन्देही

भूमिकाः घटनाको योजनाकार।

३. श्याम गुरुङ (फरार), ३० वर्ष, गढीमाई न.पा.–१, बारा

भूमिकाः घटनाको योजनाकार।

४. राजु (फरार)

भूमिकाः घटनाको सुटर

५. बाबु भन्ने तुल बहादुर सिञ्जाली (फरार), २७।२८ वर्ष, देवदह न.पा.–३  सेमराना, रुपन्देही

भूमिकाः हातहतियार तथा गोली दिने राख्ने।

६. बसन्तबहादुर चापागाई, ३१ बर्ष,  देवदह न.पा.६, रुपन्देही 

भूमिकाः मनोज पुन भन्ने मनोज बुढा मगरको निर्देशन बमोजिम घटनाको दिन दिनभर दुर्गा प्रसाद तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराउने।

७. बुद्धिसागर यादव, २७ वर्ष, तिलोत्तमा न.पा.१५, रुपन्देही

भूमिकाः घटना घटाउने उद्देश्यले मनोज पुन भन्ने मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा ५१ प  ८०७३ नं. को मोटरसाइकल लुकाई छिपाई केही महिना अघिदेखि आफ्नो घरमा राखिदिएको र घटना हुँदाको दिन आफ्नो भाई राजेश यादवसँग उक्त मोटरसाईकल पठाइदिएको। 

८. राजेश यादव, २४ वर्ष, तिलोत्तमा न.पा.१५, रुपन्देही

भूमिकाः दाजु बुद्धिसागर यादवले घरमा ल्याई राखेको बा ५१ प  ८०७३ नम्बरको मोटरसाइकल घटना हुँदाको दिन रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएको। 

९.  प्रयास भन्ने खेमानन्द भट्टराई : ३३ वर्ष, तिलोत्तमा न.पा.–८, रुपन्देही

भूमिकाः मनोज पुन (बुढा मगर) को निर्देशन बमोजिम घटना हुँदाको दिन मिति २०७३।०९।०४ गते बिहान सुटरलाई आफ्नो लु २८ प २११९ नं.को मोटरसाइकलमा राखी रोहणी पुलसम्म पुर्‍याएको र घटना पश्चात सुटर तथा सागर थापालाई सोही मोटरसाइकलमा रोहणी पुलबाट मणिग्राम सम्म पुर्‍याएको। सागर थापाको मोवाइल तथा सिम भाँचेर फालिदिएको। मणिग्रामबाट सुटरलाई पोखरातर्फ र सागर थापालाई पाल्पा हुदै गुल्मी रिडीतर्फ पठाएको।

१०.  सागर थापा, २३ बर्ष, देबदह न.पा. ८, रुपन्देही 

भूमिकाः राजेश यादव संगबाट बा ५१ प  ८०७३ नं. को मोटरसाईकल रिसिभ गरी सुटरलाई मोटरसाईकलको पछाडि राखी देवदह खैरेनीतर्फ आई साईकल पसलबाट पौडेल मिष्ठान भण्डार अगाडि रहेका दुर्गा प्रसाद तिवारीलाई वाच गरी निज दुर्गा प्रसाद तिवारी मोटरसाईकलमा जाँदै गरेको अवस्थामा निजको पिछा गरी देवदह ८ स्थित कोलिया मार्गमा पुगेको अवस्थामा निजले मोटरसाइकल दुर्गा तिवारी चलाएको मोटरसाईकलको केही अगाडी लगेपश्चात सुटरले दुर्गाप्रसाद तिवारीलाई गोली हानी सेमराना हुदै रोहणी पुलमा पुगी मोटरसाइकल रोहणी पुलमा छाडी खेमानन्द भट्टराईको लु २८ प २११९ नंम्बरको मोटरसाइकलमा मणिग्राम तर्फ गई निज सो दिन पाल्पा तर्फ लागेको।

११. अंगद थारु, २८ वर्ष, धकधई–८ परासी झुङगा, रुपन्देही

भूमिका : हातहतियार संकलन, ओसापोसार, फिरौती रकम उठाउने।

१२.  ऋषिश्वर कुमाल, २८ वर्ष, देवदह न.पा.९, रुपन्देही

भूमिकाः हातहतियार संकलन, ओसापोसार, फिरौती रकम उठाउने।

श्रोत : जिल्ला प्रहरी कार्यालय रुपन्देही

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.