६ जना मात्रै बोकेर आयो सीताको जहाज
६ जना मात्रै बोकेर आयो सीताको जहाज
ताप्लेजुङ : टिकट काटेका ४ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि ६ जना मात्रै यात्रु लिएर सीता एयरको जहाज ताप्लेजुङ आएको छ। सोमबार ताप्लेजुङ आउन टिकट गरेका १० मध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो।
ताप्लेजुङबाट भने ७ जना यात्रु लिएर जहाज काठमाडौं फर्किएको छ। आन्तरिक उडान सुरु भएसँगै सुकेटार विमानस्थलमा सीता एयरले पहिलो उडान गरेको हो।
कोरोनालाई ध्यान दिँदै यात्रुको पिसिआर जाँचदेखि अन्य स्वास्थ्य सुरक्षाका आवश्यक उपाय अपनाएर नियमित उडान सुरु गरिएको सीता एयरका रिजेश थापाले बताए।
थापाका अनुसार काठमाडौंबाट अन्यत्र उड्ने यात्रुलाई पिसिआर जाँच गर्नुपर्ने सरकारले भनेको छ। पिसिआर जाँचका लागि सीता एयरले ५ सय रूपैँया छुटसमेत दिएको छ।
जाँचका लागि बाँकी खर्च यात्रुले नै बेहोर्नुपर्छ। सरकारले यात्राका लागि पिसिआर जाँच अनिवार्य नभने पनि स्वास्थ्य सुरक्षाका लागि सीता एयरले सतर्कता अपनाएको हो।
यता लामो समय बन्द रहेको सुकेटार विमानस्थलमा उडान सुरु भएसँगै यहाँको स्वास्थ्य सुरक्षामा ध्यान दिइएको ताप्लेजुङ नागरिक उड्डयन कार्यालय प्रमुख सूर्यबहादुर खत्रीले बताए।
सीता एयरले गत मंसिरदेखि सोमबार र शुक्रबार नियमित काठमाडौं ताप्लेजुङ उडान सुरु गरेको थियो। लामो समयपछि पुनः उडान सुरु भएपछि सोमबार ताप्लेजुङबाट ७ जना यात्रु लिएर जहाज फर्किएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।