काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको आज हुने भनिएको भेटवार्ता स्थगित भएको छ।
मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा गत बिहिबारदेखि निरन्तर हुदै आएको भेटवार्ता स्थगित भएको हो। अध्यक्ष दाहालले आजको वार्ता नबसौँ भनेर आग्रह गरेपछि आजको वार्ता स्थगित भएको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।
‘खुमलटारबाट आजको छलफल स्थगित गरौँ भन्ने प्रस्ताव आएपछि स्थगित गरिएको हो। अब भोलि फेरि बस्छ’ उनले भने। बिहीबारदेखि निरन्तर भइरहेको बैठकमा दुवै नेताहरुको आफ्नै अडान राख्दै आएका छन्। अपवादबाहेक सबै मन्त्री हेर्नुपर्ने अध्यक्ष दाहालले अडान लिएका छन्। तर, प्रधानमन्त्री ओलीले केही मन्त्रीहरु मात्रै हेरफेर गरेर अगाडि बढ्ने अडान लिइरहेका छन्।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको आआफ्नै अडानको कारणले मन्त्रिपरिषद् पुनर्गठनमा केही ढिलाई हुने भएको छ। दुवै नेताले आफ्नो अडानबाट पछि नहटेपछि मन्त्रिपरिषद् हेरफेरको एजेण्डा थप पेचिलो बन्दै गएको छ।
प्रधानमन्त्री ओलीले केही मन्त्रालय टुक्राएर मन्त्री थप्ने पक्षमा छन्। मन्त्रालय थपेर ओलीले २४ मन्त्रालय पुर्याउने पक्षमा छन्। तर, २४ मा अध्यक्ष दाहालले पूर्व माओवादीको तर्फबाट १० मन्त्रालय दाबी गरेका छन्।
अध्यक्ष दाहालले उपाध्यक्ष वामदेव गौतमलाई पनि सरकारमा लाने चाहाना गरिरहेका छन्। तर, गौतमलाई सर्वोच्च अदालतले थप संवैधानिक अधिकार नदिन आदेश दिएको छ। आज गौतमको पेसी तोकिएका कारणले पनि ओली दाहाल भेटवार्ता स्थगित गरिएको बुझिएको छ।
बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलासमा हुदैछ। गौतमलाई थप अधिकार नदिन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चका रिट दायर गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई असोज १ गते राष्ट्रिय सभाको सदस्यमा मनोनयन गरेकी थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।