|
फाइल फोटो ।

काठमाडौं : विगत सात वर्षदेखि जारी रहेको बागमती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन। कात्तिक ८ गते महाअष्टमीका दिनसमेत महाअभियानलाई निरन्तरता दिइने भएको छ।

घटस्थापनाका दिन बागमती सफाइ महाअभियानको ३८८औँ हप्ताको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ। पशुपति क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो।

पशुपति क्षेत्रमा पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार रश्मी भट्टलगायतले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरेको उनले बताइन्‌। यसैगरी अभियानकर्मी डा. लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ। 

कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। सफाइमा प्रिया लामिछाने, रमशरण कार्की, खगेन्द्र कार्की, दुर्गा रावल लगायतका अभियानकर्मीको सक्रियता थियो।

गुह्येश्वरी माथिको बागमती सफाइको ३४९औँ हप्तामा गोठाटार पुल नजिकको साकुरा उद्यान क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ। यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी सफाइ गरिएको छ।

विसं २०७० जेठ ५ गते बागमती सफाइ महाअभियान शुरु भएपछि चाडपर्व, जाडो, झरी जस्तोसुकै अवस्थामा पनि अभियानकर्मी नदी किनारमा उपस्थित भई अभियानलाई निरन्तरता दिँदैआएका छन्। चैतदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरिएपछि नदी किनारमा बस्दै आएका अभियानकर्मी सुरक्षा विधि अपनाएर अभियानलाई निरन्तरता दिइरहेका छन्।

अन्य सफाइ अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा अभियानलाई निरन्तरता दिँदै आएका छन्। बागमती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै देशभर १०६ स्थानमा अभियान शुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.