|
फाइल फोटो ।

पर्सा : सुरुमा विदेशतिर कोरोनाले मृत्यु भएको सुन्दा आङ सिरिङ्ङ हुन्थ्यो। तर पछि नेपालमा नै त्यस्ता व्यक्तिको शव व्यवस्थापन गर्नु पर्ने चुनौतिपूर्ण क्षण सेनालाई आइलाग्यो।

​राज्यले नै कोरोनाबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई सुम्पियो। त्यो जिम्मेवारीसँगै निकै ठूलो चुनौति आइपरेको सेनाले महसुस गर्‍यो। तर, काममा नेपाली सेना कहिल्यै पछि नपरेको इतिहासलाई यो क्षणमा पनि सेनाले निरन्तरता दियो।  

पर्सामा अहिलेसम्म कोरोनाबाट मृत्यु भएका ५१ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ। धुलिखेलपछि वीरगन्जमा रहेको चण्डी प्रसाद गणले पहिलो पटक​ कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन परेको थियो। गएको असार २८ गतेदेखि गएका तीन महिनामा मात्र कोरोनाका कारण मृत्यु भएका धेरै मानिसको शव व्यवस्थापन गरिएको चण्डी प्रसाद गण वीरगन्जका गणपति तथा प्रमुख सेनानी मदनजंग राणाले बताए। 

व्यवस्थापन गरिएका ५१ शवमध्ये १४ वटा महिलाका र ३७ वटा पूरुषका हुन्। सुरुका दिनमा सबै शव गाड्ने सरकारको निर्देशिका भए पनि ३३ वटा पछिका शव आफन्तको परामर्श अनुसार व्यवस्थापन गरिएको सेनाको भनाइ छ। पछि सरकारले पनि निर्देशिका संशोधन गरी धार्मिक परम्परा अनुसार जलाउन पनि मिल्ने भनेपछि अहिले सम्म व्यवस्थापन भएका १४ वटा शव जलाइएको प्रमुख सेनानी राणाले बताए।

व्यवस्थापन गरिएका शव मध्ये ४२ वटा वीरगन्ज महानगरपालिकाका मात्र रहेको सेनाको भनाइ छ। बाँकी ९ वटा भने जिल्लाका अन्य ठाउँका व्यक्तिको भएको सेनाले जनाएको हो। 

तीतो अनुभव !

शव व्यवस्थापनका क्रममा सुरुका दिनमा स्थानीयले बाटो प्रयोग गर्न समेत नदिएको तीतो अनुभव चण्डी प्रसाद गणका नेपाली सेनासँग छ।

नेपाल प्रहरीको समेत सहयोगमा लाठी चार्ज र अश्रु ग्याँस समेत प्रयोग गरी शव गन्तव्य सम्म पुर्‍याएको र जबरजस्ती शव व्यवस्थापन गर्नु परेको घटना सम्झिँदा आम नागरिकको सहयोग नपाएको झल्झली याद आउँछ गणपति राणाले विगत सम्झिए। 

कार्य सम्पादनका क्रममा सेनाका ७८ संक्रमित 

यत्रो जोखिमबीच नेपाली सेनाले आफ्नो जिम्माको काम सम्पादन गर्दा चण्डी प्रसाद गणका मात्र ७८ जना सुरक्षाकर्मी संक्रमित समेत भइसकेका छन्। तथापि शव व्यवस्थापन टोलीबाट भने अहिलेसम्म एकजना मात्र संक्रमित भएको घटनाले नेपाली सेनाको पूर्व तयारी निकै चुस्त रहेको टोलीमा खटिएका सुरक्षाकर्मीले बताए।

शव जलाउने क्रममा स्वास बन्द हुन खोज्दा त्यहि हातले माक्स सार्ने क्रममा एक जनामा भने संक्रमण भयो। बाँकी अरु सेनाबाट संक्रमित भएकाहरुमा स्वाब संकलन, भीड नियन्त्रण र राहत वितरण लगायतका कार्य सम्पादन गर्दा संक्रमण सरेको सेनाको ठहर छ। 

के–के थिए समस्या ? 

शव व्यवस्थापनका क्रममा स्थानीय पालिकाहरुले पनि व्यवस्थापन स्थलको पहिचान नगरिदिनु, शव लिएर व्यवस्थापनमा जाँदा सडकमार्ग प्रयोग गर्न अवरोध हुनु, स्थानीयमा संक्रमणसम्बन्धी चेतना अभाव, शव वाहनको कमी, पीपीइ सेटको अभाव, शव राख्ने ब्याग अभाव र शव घाटमा लैजान बाटो समेत कतै नहुनु (आधा/ एक घण्टा पीपीइ सेट लगाएर शव बोकेर नै लानुपर्ने बाध्यता) सेनाले भोग्यो। 

बल्ल केही सहज 

पछिल्लो समयमा भने बल्ल आफ्नो घाट प्रयोग गर्न दिन स्थानीय सहमत भएपछि केही राहत मिलेको चण्डी प्रसाद गणका प्रमुख सेनानी राणाले बताए। अझै पनि शव व्यवस्थापनका क्रममा पीपीई सेटको भने सेनालाई अभाव छ।

यसको अलावा सामाजिक सहयोग त जहिले पनि आवश्यक पर्छ। उचित ठाउँको सामूहिक पहिचान स्थानीय पालिकाहरुले गरिदिए मात्र शव व्यवस्थापनमा देखिएका समस्या हटेर जाने सैनिक अधिकारीहरू बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.