डोल्पा : देशभर ज्योतिषको साइतमा मात्र दशैँको टीका-जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा परापूर्वकालदेखि नै ज्योतिषको साइतअनुसार नलगाएर आफ्नै साइतमा टीका-जमरा लगाउने प्रचलन छ।
नेपालकै प्रशिद्ध शक्तिपीठ बाला त्रिपुरासुन्दरी मन्दिरमा औँशीदेखि सुरु भएको नवरात्रको पूजाआजा शुक्ल दशमीको दिनको बेलुकी मात्र सकिने भएकाले आज रातिदेखि मात्र टीका-जमरा लगाउन सुरु गरिने मन्दिरका पीठाधीश (मुख्य पूजारी) भानुचन्द्र उपाध्यायले बताए।
देशैभर ज्योतिषको साइतअनुसार टीका-जमरा लगाउने भए पनि त्रिपुराकोटमा देवीको पूजाआजापछि आज राति मात्र टीका-जमरा लगाउन सुरु हुने पूजारी उपाध्यायको भनाइ छ।
‘त्रिपुराकोटका स्थानीयले बिहानै जमरा मौलेर देवीलाई चढाउन मन्दिरमा लैजाने गर्छन्,त्यसपछि मध्यान्न (दिउँसो)को पूजाआजा गरिसकेपछि नवरात्रको पूजाआजाका लागि आएका पूजारी र ब्रामणहरुले एक अर्काबीच टीका-जमरा लगाएर शुभकामना आदान–प्रदान गर्नुको साथै दशैँको पूजाआजा विधिवत रुपमा बिसर्जन गरिसकेपछि बेलुकी मात्र घरघरमा लगाउन सुरु गरिन्छ’ उपाध्यायले भने।
अरू ठाउँमा ज्योतिषकै साइतअनुसार टीका
त्रिपुराकोटबाहेक जिल्लाका दुनै लिकु, पहाडा, रह, जुफाल, माझफाल लगायतका अन्य गाउँठाउँमा भने ज्योतिषकै साइतअनुसार टीका जमरा लगाइन्छ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान १० बजेर १९ मिनेटदेखि टीका-जमरा लगाउन सुरु गर्ने साइत तोकिएको छ।
त्रिपुरासुन्दरी मन्दिरमा नवरात्र अवधिभर पूजाआजा गर्नका लागि जिल्लाका विभिन्न गाउँहरूबाट ब्राह्मण तथा भक्तजनहरू आउने गर्दछन्।
देवीको पूजाआजा व्यवस्थापनका लागि ब्राह्मण, निसानी, छडिदार, फुलारा, दमाईं र कुलाललाई आ–आफ्नै जिम्मेवारी तोकिएको हुन्छ।
ब्राह्मणको पूजाआजा गर्ने, निसानीको निसान बोक्ने, छडिदारको राँगा बोका बलि काट्ने, फुलाराको देवीको फूलको डोला बोक्ने, दमाईंको बाजागाजा बजाउने र कुलालको राँगा बलिका लागि बावियोका डोरी बाँध्ने जिम्मेवारी तोकिएको हुन्छ।
दशैँको टीका-जमरा नेपालभर ज्योतिषको साइत अनुसार मात्रै लगाइने प्रचलन भए पनि त्रिपुराकोटमा परापूर्वकाल बेलुकी मात्रै टीका जमरा लगाइने प्रचलन नेपालमै नयाँ भएको पूजारीहरुले बताए।
त्रिपुरासुन्दरी मन्दिरमा दशैँको अन्तिम दिनको पूजापाठ सम्पन्न गरेर मन्दिर र प्रत्येक घरघरमा भित्र्याइएको फूलपाती खोलामा लगेर विधिवत बिसर्जन गरेपछि मात्रै दशैँ सम्पन्न हुने गर्दछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।