स्थानीय तहका स्वास्थ्यकर्मीलाई फोन आउन छाड्यो

|

काठमाडौं : लक्षण सहितको कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढेको छ। सरकारले होम आइसोलेसनमा बस्ने कार्यविधि ल्याएपछि सामान्य लक्षण भएका संक्रमित भने घरमै बसिरहेका छन्। होम आइसोलेसनमा संक्रमितले आवश्यक स्वास्थ्य हेरचाह र उपचार सुविधा पाइरहेका छैनन्‌।

​सरकारले कोरोना संक्रमितको उपचार गरेबापत शुल्क लिन थालेपछि अस्पतालमा भर्ना हुने संक्रमितको संख्यामा कमी आउन थालेको हो। उपचार खर्च लाग्ने भएपछि अस्पतालमा भन्दा घरमा बस्ने संक्रमितको संख्या बढिरहेको छ। सरकारी अस्पतालले दैनिक सात सय देखि २५ सय रुपैयाँसम्म बेड चार्ज लिन थालेका छन्।

अस्पतालमा बेड खाली भएपनि अधिकांश संक्रमितले सहजै उपचार पाएका छैनन्‌। सम्पन्न संक्रमित निजी अस्पतालमा र आर्थिक रुपमा विपन्नहरू अहिले पनि घरमै बसी कोरोनासँग जुधिरहेका छन्‌।

देशभर रहेका कुल संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामै रहेका छन्। उपत्यकाको तीनै जिल्लामा गरी १४ हजार ९८० संक्रमित होम आइसोलेसनमा छन्। सबैभन्दा बढी काठमाडौंमा ११ हजार ३५९, भक्तपुरमा एक हजार ७३० र ललितपुरमा एक हजार ८९१ सक्रिय संक्रमित छन्। होम आइसोलेसनमा रहेका सबै संक्रमितहरूमा सामान्यदेखि मध्यम लक्षण देखिएको छ।

संघीय राजधानी भएको काठमाडौंमा धेरै संक्रमित होम आइसोलेसनमा बसी कोरोनासँग जुध्‍न बाध्य छन्। राजधानीजस्तो सुविधा सम्पन्न ठाउँमा समेत १५ हजार बढी संक्रमित घरमै बसिरहेका छन्‌। ३५ भन्दा बढी निजी तथा सरकारी कोभिड अस्पतालमा संक्रमितको उपचार भइरहेको छ।

केन्द्र, प्रदेश र स्थानीय सरकारले समयमा उपचार केन्द्र निर्माण गर्न नसक्दा र भएकै अस्पतालमा पनि बेड उपलब्ध गराउन नसक्दा ठूलो संख्यामा संक्रमितहरू अस्पतालभन्दा बाहिर बसेर उपचार गरिरहेका छन्। कतिपय संक्रमितहरू अस्पतालको गेटसम्म पुग्दा पनि उपचार नपाएर मृत्युवरण गर्न बाध्य छन्‌।​

‘संक्रमितसँग निरन्तर सम्पर्कमा छौं’

काठमाडौं जिल्लाकै सबैभन्दा बढी संक्रमित रहेको स्थानीय तह काठमाडौं महानगरपालिका हो। यहाँ हाल सात हजार ७२७ संक्रमित होम आइसोलेसनमा छन्। सरकारले यससम्बन्धी कार्यविधि तयार गरेपछि महानगरका अधिकांश संक्रमित होम आइसोलेसनमा बस्न थालेका थिए।

होम आइसोलेसनमा हल्का र मध्यम लक्षण देखिएका संक्रमितहरू बसेका महानगरका कोरोना फोकल पर्सन ज्ञानु ओली बताउँछन्। संक्रमितलाई घरमा बस्न सक्ने वातावरण भएपछि मात्र महानगरले बस्न दिएको उनले बताए।

पछिल्लो समय सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लिन थालेपछि अस्पताल र संस्थागत आइसोलेसनमा जाने संक्रमितको संख्यामा कमी आएको छ। संक्रमितको उपचार गर्नलाई पैसा लिने कुरा सार्वजनिक भएसँगै अस्पताल भर्ना हुनको लागि संक्रमितबाट फोन आउन छोडेको ओलीले जानकारी दिए। उनले भने, 'नि:शुल्क हुँदा दैनिकजसो अस्पताल भर्ना हुनको लागि संक्रमितको फोन आउँथ्यो, अहिले भने कुनैपनि संक्रमितले अस्पताल जाने वा आइसोलेसनमा बस्नको लागि फोन गर्दैनन्।‘

महानगर संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रही उनीहरूको स्वास्थ्य अवस्था बुझिरहेको उनले दावी गरे। समस्या खेपिरहेका गरीब तथा विपन्नलाई उपचारमा आवश्यक प्रकृया पुर्‍याई सहयोग गरिरहेको उनले सुनाए।

सरकारले तोके भन्दा कम शुल्कमा उपचार गरिरहेको छौं

शुल्क लिन थालेपछि परीक्षण गर्न आउने मानिसको भीडभाड घटेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारी बताउँछन्। नि:शुल्क परीक्षण व्यवस्था हुँदा एउटै मानिस पाँच पटकसम्म परीक्षण गर्न आउने गरेको उनले बताए।

स्वास्थ्य मन्त्रालयको निर्देशन आएसँगै अस्पतालले कोरोना संक्रमितसँग शुल्क लिन थालेको छ। ‘शुल्क लिने गरेपनि उपचार गर्न आउनेको संख्यामा कमी आएको छैन,’ उनले भने,’ अस्पतालको सबै बेडमा संक्रमित छन, एकछिन खाली भएपनि बाहिरबाट उपचारकf लागि आइहाल्छन्‌।‘

अस्पतालमा बेडको अभाव भएकाले सकेसम्म बेड क्षमताअनुसार संक्रमितलाई भर्ना गरी उपचार गरिएको उनको भनाइ छ। सरकारले तोकभन्दा कम शुल्क लिएको उनले जानकारी दिए।

उपत्यकामा उपचार केन्द्र थप्दैछौं

उपचार गराउने संक्रमितको संख्या बढेकाले प्रत्येक कोभिड अस्पतालले बेड संख्या बढाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम बताउँछन्।

उपचार गराइरहेका अस्पताललाई पनि कोभिडका लागि छुट्टै उपचार केन्द्र थप्ने काम भइरहेको उनले बताए। अहिले अस्पतालमा लक्षणसहितका संक्रमित कम हुँदै गएकोले कोभिड अस्पताल खाली हुँदै गइरहेको उनले जानकारी दिए।  

सबै प्रदेशको कोभिड उपचारको लागि बेड थप्न बजेट छुट्याइसकेको प्रवक्ता गौतम बताउँछन्‌। उपत्यकामै सुरक्षाकर्मीका लागि प्रहरी अस्पताललाई कोभिड उपचार केन्द्र बनाइएको उनले जानकारी दिए। उनले भने, 'उपत्यकाका आइसोलेसनलाई अहिले उपचार केन्द्र बनाइएको छ। सबै ठाउँमा अक्सिजन सहितको बेड जडान गर्ने काम भइरहेको छ।'

होम आइसोलेसनमा बसिरहेका संक्रमितले अस्पतालमा उपचार गर्न चाहेमा जसरी पनि व्यवस्था गर्न सकिने उनको दाबी छ। उनका अनुसार होम आइसोलेसनमा लक्षण नभएका संक्रमितलाई बस्न अनुमति दिएको हो। अहिले पनि स्थानीय तहका स्वास्थ्यकर्मीले निगरानी गरिरहेको छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.