|
सिटोनेलाको गोडमेल गर्दै

नवलपरासी : बिहान उठ्यो, घरको दैनिक काम गर्यो। परिवारका सवै सदस्यको खानपिनको काम सकेपछि सामुदायिक वनमा पुग्यो। फेरि घरमा आयो, बाँकी काम सक्यो।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की मनकुमारी क्षेत्रीले यसरी दैनिकी बिताउन थालेको झण्डै नौ वर्ष भयो। चुलोचौको र घरयसी काममै सीमिति हुने उनी सामुदायिक वनमा महिलाहरुको समूह बनाएर जडीबुटी खेती गर्न थालेसँगै दैनिकी फेरिएको र आफ्नो नेतृत्व तथा क्षमता विकास भएको मनकुमारीको अनुभव छ।

यस क्षेत्रका महिलाहरुले २०६८ सालमा लालीगुराँस महिला समूह गठन गरी समूहमार्फतनै चिसापानी सामुदायिक वनको जग्गामा जडीबुटी खेती सुरु गरेका थिए। त्यहाँ उत्पादित जडीबुटीले अन्तर्राष्ट्रिय बजारमा पनि स्थान पाउन थालेको छ। वनको जग्गामा लेमनग्रास, सिटोनेला खेती गर्दै आएका महिलाहरुले पछिल्लो एक वर्ष यता भने निजी जग्गा भाडामा लिएर मेन्था खेती गर्न थालेका छन्।

उनीहरुले उत्पादन गरेका जडीबुटीलाई प्रशोधन गरेर तेल बनाउन चिसापानी सामुदायिक वनले प्रशोधन प्लान्ट स्थापना गरी जडीबुटी प्रशोधन गरेर तेल बनाउने र तेलको बजारीकरणमा सहयोग गर्दै आइरहेको छ।

मन कुमारी मात्र होइन, चिसापानीकै माया परियारको दैनिकी पनि घरायसी कामकाजका अलावा सामुदायिक वनमा नै बित्ने गरेको छ। वनमा पुगेर जडीबुटीको गोडमेल, स्याहार गर्ने काम गर्दा निकै आनन्द आउने उनले बताइन्। सामुदायिक वनले पनि उपभोक्तामध्ये विपन्न वर्गका महिलाहरुलाई जडीबुटी खेतीमार्फत जीवनस्तर उकास्नका लागि प्रयत्न गर्दै आइरहेको छ। सामुदायिक वनसँग जोडिएपछि महिलाहरुको आम्दानीको बाटो पनि खुलेको छ।

वनमा जडीबुटी खेती गरेपछि आम्दानी मात्र होइन, वन जंगल संरक्षणमा पनि मन गएको मायाले बताइन्। कोही मानिस वन प्रवेश गरे किन प्रवेश गरे ? के गर्दैछन् ? कतै वनलाई क्षति हुने काम त गरिरहेको छैन भन्ने चिन्ता हुने उनको भनाइ छ। 

जडीबुटी खेती गरेको झण्डै ९ वर्षको समयमा कतिपय महिलाहरु समूहबाट बाहिरिए पनि १५÷१६ जना समूहमा आवद्ध भएर निरन्तर काम गरिरहेको मनकुमारी बताउँछिन्। उनीहरुले समूहमा मासिक २०० रुपैयाँका दरले बचत गर्दै आउँदा अहिलेसम्म करिब तीन लाख रुपैयाँ पुगेको समूहकी कोेषाध्यक्ष मनकुमारीले बताइन्। सामुदायिक वनमा जडीबुटी गरेर महिलाहरुले आम्दानी मात्र नभई आत्मबल पनि बटुलेको समूहकी उपाध्यक्ष माया बताउँछिन्। 

जडीबुटी खेती सुरु गर्दा सुरु सुरुमा उत्पादन भएको तेलका लागि बजारको समेत अभाव भएको थियो। धेरै अनुरोध गरेपछि बुटवलमा रहेको शिवशक्ति सोप इन्डष्ट्रिजसँगै स्थानीय स्तरमा बिक्री गरेको चिसापानी सामुदायिक बनका अध्यक्ष होम बहादुर गुरुङ्गले बताए। तर, अहिले विभिन्न निजी कम्पनीसँगै अन्तर्राष्ट्रिय संस्थाहरु पनि जोडिन आएपछि बजारको अभाव नरहेको गुरुङको भनाइ छ। सामुदायिक वनसँगै महिलाहरुको सक्रियता देखेर चौधरी बायोसिसले २२ लाख रुपैयाँ बराबरको प्रशोधन गर्ने मेसिन उपलब्ध गराएको गुरुङले बताए। सामुदायिक वनले पनि भेसल खरिद गरेको छ   सामुदायिक वनभित्रै प्रशोनध प्लान्ट बनाएपछि निकै सहज भएको उनको भनाइ छ।

सिटोनेला र लेमनग्रास बाट उत्पादन भएको तेल सुगन्धित कस्मेटिक वस्तु, साबुन,फिनेल, लामखुट्टे धपाउने धुप, सुगन्धित तेल बनाउन प्रयोग हुने गरेको गुरुङले बताए। हालको बजार मूल्यअनुसार सिटोनेलाको तेल प्रतिलिटर ३२ सय रुपैयाँ, लेमनग्रासको तेल प्रतिलिटरको ३४ सय रुपैयाँ र मेन्थाको तेल प्रतिलिटर ३६ सय रुपैयाँमा बिक्री हुने गरेको छ। मेन्थाको तेल भने भिक्स, औषधि, बवलगम, मिठाई बनाउन समेत प्रयोग गरिन्छ।

मेन्था प्रशोधन गर्ने तयारी गर्दै

अहिले चिसापानी सामुदायिक वनमा उत्पादन भएको जडीबुटीको तेलको माग राम्रो रहेकोले बजारका लागि भने कुनै समस्या नरहेको गुरुङले बताए। चिसापानी सामुदायिक वनमा मात्र २० हेक्टर क्षेत्रफलमा जडीबुटी खेती हुँदै आएको छ। उत्पादनलाई युरोपका बजारसम्म पुर्याउने काम भने निजी कम्पनीहरुले गर्दै आएका छन्।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला नवलपरासीले पनि विपन्न उपभोक्ताको जीवनस्तर उकास्नका लागि आवश्यक  कार्यक्रम सञ्चालन गर्न सहयोग गर्दै आइरहेको छ। २०६८/६९ देखि चिसापानी सामुदायिक वनलाई आधार बनाएर जडीबुटी खेतीको सुरुवात गरेकोमा अहिले जिल्लाका सातवटा सामुदायिक वनमा नौवटा महिला समूहमार्फत जडीबुटी खेतीसुरु गरेको छ। जन उदय सामुदायिक वन, बडेरा सामुदायिक वन, संसारकोट हरियाली सामुदायिक वन, चिसापानी सामुदायिक वन, पारिजात सामुदायिक वन, दाउन्नेदेवी सामुदायिक वन र सीतापोखरी सामुदायिक वनमा जडीबुटी खेती भैरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.