|

बुटवल : १९ औं तिलोत्तमा गोल्डकपको उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र संकटा क्लब भिड्दै छन्। यो सिजनमा यी दुई क्लबको फाइनलमा तेश्रो भेट हो। तिलोत्तमा गोल्डकपको १९ औं संस्करणको उपाधि उचाल्न दुवै टीम तम्तयार छन्। आर्मी र संकटाले उपाधि आफुले जित्ने दाबी गरेका छन्।

यसअघि आर्मीले २ पटक २०५४ र २०६५ मा तिलोत्तमा गोल्डकप जितेको छ भने संकटाले अहिलेसम्म उपाधि हात पार्न सकेको छैन। चालु सिजनमा सबैभन्दा धेरै नकआउट फुटबल खेल्नेमध्येका यी दुई टीम पाँचौं पटक आमनेसामने हुदैछन्। सिजनको अहिलेसम्मका चार भेटमा तीन पटक संकटा र एक पटकमात्र आर्मीले खेल आफ्नो पक्षमा पारेको छ।   

चितवनमा भएको विकास रनिङ शिल्ड र अघिल्लो महिना बारमा भएको सिमरा गोल्ड कप दुवैमा संकटाले आर्मीलाई हराएको थियो। सुदूरपश्चिमको खप्तड गोल्डकपमा भेट भएका यी दुई टीमको खेलको शुरुवातमै आर्मीले हार बेहोर्‍यो भने हेटौडा गोल्डकपमा संकटासँग आर्मीले बदला लिएको थियो।

माघ २९ गते आठौं सिमरा गोल्डकपमा आर्मीलाई ट्राइबेकरमा ४–२ ले स्तब्ध बनाउँदै उपाधि जितेको संकटा यसपटक पनि आर्मीमाथि हाबी हुन खोज्नेछ भने आर्मीले त्यसको बदलास्वरुप तिलोत्तमा गोल्डकप उचाल्ने दाउमा छ। 

फागुन १४ मा पुलिससँग बुढासुब्बा गोल्डकपमा सडन डेथमा ३–२ को नतिजा निकालेर उपबिजेता भएको संकटा तिलोत्तमा गोल्डकपमा फर्ममा छ।  फर्ममा रहेको संकटाको अट्याकिङ पक्ष राम्रो छ भने आर्मी टीम वर्किङमा विश्वास राख्छ। संकटासँग पटकपटक आमनेसामने भएर कमजोर नतिजा निकालेको आर्मीले संकटालाई कम आँकेको छैन। तर संकटाको विजययात्रा यसपटक रोकिने आर्मीका प्रशिक्षक नवीन न्यौपानेले दावी गरे।

‘संकटा अहिले बलियो छ, अट्याकिङ र ब्यालेन्समा खेल्छ', आर्मीका  प्रशिक्षक नवीन न्यौपानेले भने–त्यसलाई माथ दिनेगरी हामी तयारी गरेका छौं, खेल प्रतिस्पर्धात्मक हुन्छ, हामी संकटासँगका  अहिलेसम्मको खेलको नतिजा उल्टाउँछौं।’ आर्मीले यो सिजनमा मात्रै ४ पटक खेल्दा ३ वटामा संकटासँग हार बेहोरेको छ। 

‘तिलोत्तमा गोल्डकपको फाइनलमा जितेर हामीले यो सिलसिला रोक्न चाहन्छौं' न्यौपानेले भने। आर्मीको भन्दा संकटाको मनोबल उच्च छ। संकटा आर्मीसँग जितको ह्याट्रिक गर्ने तयारीमा छ। ‘हामीले यसै सिजनमा आर्मीलाई दुईवटा फाइनलमा हराएर उपाधि जितेका छौं' संकटाका व्यवस्थापक राजेश तुलाधरले भने 'हामी ह्याट्रिक गर्नेमा आशावादी छौं।’ 

लगातार जित हात पारेपनि संकटाले आर्मीसँगको खेललाई हल्का रुपमा लिएको छैन। संकटाका कप्तान अमित तामाङ भन्छन् 'आर्मीलाई हामीले यसअघि हराएका कारण हाम्रो मनोबल उच्च छ, तर हामीले हल्का रुपमा लिएका छैनौं, आशा गरौं फाइनल रोचक हुनेछ, हामीले जित्नेछौं।’ 

आर्मीका बलिया खम्बा भरत खवास, नवयुग श्रेष्ठ र गोलकिपर विकेस कुथुसहितका ६ जना खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहनु आर्मीका लागि थप चुनौती हो। आर्मीसँग वैकल्पिक खेलाडीलाई अवसर दिनुको विकल्प छैन । तरपनि वैकल्पिक खेलाडी पनि फर्ममा आइसकेको आर्मीका कप्तान हिरण्य मगर बताउँछन्। ‘हाम्रा खेलाडी राष्ट्रिय टीममा रहेपनि वैकल्पिक खेलाडीहरुले पनि राम्रो गरिरहेका छन्,–उनले भने–‘यसअघिको प्रदर्शनमा सुधार गरेर हामी उपाधि जित्नेमा आशावादी छौं ।’ 

आर्मी र संकटाबीचको खेल शनिबार दिउसो देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा ३ बजेपछि शुरु हुने छ। गोल्डकपको बिजेताले ५ लाख ५५ हजार हात पार्दा उपविजेताको भागमा ३ लाख ३३ हजार पर्ने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.