|

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट स्थित चौपत्तामा रहेको शहीद स्मृति सामुदायिक अस्पताल विकास प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी फिजियो थेरापिस्ट डाक्टर रोशनी नेपालीले आफूमाथि अपमानजनक व्यवहार भएको गुनासो गरेकी छन्। अस्पताल प्रशासनको तर्फबाट आफूलाई विना जानकारी सेवाबाट निष्कासन गरी अर्कै ढंगबाट फिजियोथेरापी संचालन गर्ने तयारी गरेको उनले आरोप लगाएकी छन्।
 

डा. नेपालीले अस्पताल भित्रै पत्रकार भेटघाट कार्यक्रम गरी आफूलाई अस्पतालले आत्मसम्मानमा ठेस पुग्ने काम गरेको र गैरकानुनी ढंगले फिजियोथेरापी संचालन गर्न खोजेको बताइन्।

' विगत २ वर्षदेखि शहीद स्मृति सामुदायिक अस्पतालमा फिजियोथेरापिष्टको रुपमा रहेकोमा कोरोना महामारीको समयमा फिजियोथेरापी बन्द भएपछि म अस्पतालमा आएकी थिइनँ', उनले भनिन्, ' लामो समयसम्म पनि अस्पताल प्रशासनले कुनै खबर नगरेपछि अस्पताल विकास समितिका अध्यक्ष निमान्द न्यौपानेलाई फोन गरी जानकारी लिन खोज्दा अस्पतालबाट हटाइएको भनी जानकारी गराउनुभयो।'
 
आफूलाई कुनै जानकारीविनै अस्पतालबाट हटाएर अस्पतालमा रहेको फिजियोथेरापीलाई ठेक्कामा संचालन गर्ने तयारी गरिएको भन्दै डा. रोशनीले त्यसरी फिजियोथेरापी संचालन गरिए त्यो गैरकानुनी हुनेसमेत बताइन्।

'अस्पताल प्रशासनले मेरै डकुमेन्ट प्रयोग गरेर नेपाल सरकारबाट फिजियोथेरापी संचालन गर्नका लागि अनुमति लियो तर अहिले मेरो  आत्मसम्मानमा ठेस पुग्नेगरी अस्पतालबाट हटाइ सकेपछि तत्कालका लागि फिजियोथेरापी कक्ष बन्द गरिनुपर्छ', डाक्टर रोशनीले भनिन्, 'कुनै पनि फिजियोथेरापिष्ट डाक्टर नआउन्जेल कानुन अनुसार पनि फिजियोथेरापी संचालन गर्न मिल्दैन अस्पताल प्रशासनले तुरुन्त डाक्टरको व्यवस्थापन गरेर मात्र फिजियोथेरापी संचालन गरोस त्यसमा मेरो कुनै आपत्ति छैन। तर, अहिले संचालन गर्न नमिल्ने भएकोले मैले फिजियोथेरापी बन्द भएको जानकारी गराउँछु।'

 अस्पताल विकास समितिका अध्यक्ष निमानन्द न्यौपानेले भने अस्पतालमा संचालनमा रहेको फिजियोथेरापी घाटामा गएको कारण डा. रोशनीलाई नआउन भनिएको बताए। डा. रोशनी साप्ताहिक रुपमा भिजिटमा आउने र अरु समय अस्पतालले राखेका अन्य कर्मचारीबाटै फिजियोथेरापी संचालन गर्दै आइरहेको न्यौपानेको भनाई छ।

न्यौपानेले फिजियो थेरापीमा ज्यालादारी हिसावले काम गराएको एक दुई महिना राम्रै चलेको तर त्यस पछि निरन्तर आर्थिक भार परेपछि समितिको निर्णय अनुसार उनलाई नआउनुस भनेर भनिएको बताए।

डा. रोशनी स्थायी कर्मचारी नभएको र उनी आउँदा प्रत्येक पटकको ज्यालाका हिसाबले मात्र भुक्तानी गर्ने गरेकोमा उनले फिजियोथेरोपी बन्द गर्न नमिल्ने न्यौपानेको दावी छ। अव समितिले प्रकृयामा गएर अर्को डाक्टरको व्यवस्थापन गर्ने र त्यो समय सम्मका लागि कसै संग पहिले जस्तै गरी ज्यालादारीमै भए पनि राखेर सेवा निरन्तरता दिइने न्यौपानेको भनाई छ।
 
अस्पताल विकास समितिका अध्यक्ष निमानन्द न्यौपानेले फिजियोथेरापी घाटामा संचालनमा रहेको बताउँदै गर्दा डा. रोशनीले भने फिजियोथेरामी आवश्यक पर्ने सबै उपकरण नेपाल सरकारबाट अनुदान प्राप्त भएको र दुईजना कर्मचारीलाई सरकारलेनै तलव दिने गरी राखिएकाले अहिले सम्म फिजियोथेरापी घाटामा नगएको जिकिर गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.