डोल्पा : उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुन्डो स्वास्थ्य चौकी करार कर्मचारीको भरमा चलेको छ।
स्वास्थ्य चौकीमा कार्यरत तीन जना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुई जना करार कर्मचारीका भरमा स्वास्थ्य चौकी चलेको हो। अहिले स्थानीय पासाङ्ग टोमा रोकाया र हित कुमारी रोकायाले स्वाथ्य चौकी धानेका छन्।
शे–फोक्सुन्डो गाँउपालिका वडा नं ८ मा पर्ने उक्त स्वास्थ्य चौकीमा लामो समयसम्म पनि स्थायी कर्मचारी नआएपछि स्थानीय आक्रोशित भएका छन्। स्वास्थ्य चौकीमा कार्यरत अहेव पारस शाही, अहेव चन्द्रदेव यादब र अनमी नाज्मा बानु चार महिनासम्म पनि कार्यालयमा नपुगेको वडा नं ८ का स्थानीय तेजेन्द्र गुरुङले बताए।
'गत साउनदेखि शाही र बानु गायव छन्, स्वास्थ्य चौकी करार कर्मचारीका भरमा चलेको छ, चार महिनाको अवधिमा एकपटक पनि कार्यरत कार्यालयमा नपुग्नु कतिसम्मको गैरजिम्मेवारीपना हो?' गुरुङले प्रश्न गरे, 'सरकारी नुन पानी खाएर विकट क्षेत्रका जनताको स्वास्थ्यमा खेलबाड गर्न पाउँदैनन्, उनीहरू तुरुन्त स्वास्थ्य चौकीमा पुग्नुपर्छ, होइन भने हामी सम्बन्धित निकायसम्म पनि पुग्छौं।'
साउनमा घर गएका चन्द्रदेव यादव पनि असोज पहिलो सातामा आएर दुई हप्ता पनि नबसी घर फर्केको स्थानीयवासीको भनाई छ। स्वास्थ्य चौकीको हाजिरी रजिष्टार हेर्दा नभेटिएकाले उनीहरूले घरमै लगेको हुनसक्ने आशंका गरिएको स्थानीय गुरुङको भनाई छ।
स्वास्थ्य संस्थामा कर्मचारी फर्किने दिन कुर्दाकुर्दै पनि चार महिनासम्म नआएपछि बाध्य भएर मिडियालाई जानकारी गराइएको स्थानीयले बताएका छन्। तीनै जना कर्मचारीलाई स्वास्थ्य चौकीमा फर्कन बारम्बार ताकेता गरेपनि अझै नफर्किएको वडा नं ८ का अध्यक्ष निमा लामाले बताए।
'स्वास्थ्य चौकीमा औषधि छ या छैन, त्यो पनि थाहा छैन्,कति बिरामी आउँछन्, कस्ता बिरामी आउँछन्, त्यसको रेकर्ड पनि छैन, उनीहरूले नियमित कार्यालयमा नपुगेरै तलब खाने काम गरेका छन्,' लामाले भने।
स्वास्थ्यकर्मी नहुँदा वडा नं ८ मा पर्ने रिग्मा, सुम्दुवा, र्याँची, छेक्पा र ९ मा पर्ने पुग्मो गाउँका जनताले पाउने स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।