|

बुटवल : फाइनलमा निराजन खड्का चम्केपछि सिएमजी क्लब संकटाले १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आर्मीलाई २–१ गोलअन्तरले हराउँदै संकटाले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हात पार्‍यो।

देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा शनिबारको फाइनलमा संकटाका लागि दुवै गोल निराजन खड्काले गरे। खेलमा अग्रता भने आर्मीले लिएको थियो। ३०औं मिनेटमा राजीव गुरुङको गोलमार्फत आर्मीले अग्रता लियो। तर पहिलो हाफको इन्जुरी समयमा निराजनले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

दोस्रो हाफको अधिकांश समय दुबै टोलीले गोल गर्न सकेनन्। खेल सकिनु अन्तिम ५ मिनेटअघि निराजनले गरेको गोल निर्णायक साबित भयो। उनको गोलसँगै संकटा उपाधि जित्न सफल रह्‍यो। 

यो सिजन संकटाले जितेको यो तेस्रो नकआउट फुटबल प्रतियोगिता हो। संकटाले ३ फरक-फरक गोल्डकप जित्ने क्रममा आर्मीलाई नै हराएको छ। यसअघि चितवनको विकास रनिङ शिल्ड र रुस्लान सिमरा गोल्डकपको फाइनलमा पनि आर्मी संकटासँग नै पराजित भएको थियो।

कसले के-के जिते ?

उपाधिसहित संकटाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ जित्यो। उपविजेता आर्मीको भागमा ३ लाख ३३ हजार रुपैयाँ र शिल्ड पर्‍यो।

टुर्नामेन्टको उत्कृष्ट खेलाडी आयोजक रुपन्देही ११ का गोलरक्षक दिलिप क्षेत्री घोषित भए।  उनले स्कुटर जिते। उत्कृष्ट गोलरक्षकको अवार्ड संकटाका विनय श्रेष्ठले पाए। फाइनलमा निर्णायक दुई गोल गर्ने निराजन खड्का उत्कृष्ट मिडफिल्डर चुनिए।  आर्मीका हिरण्य मगरले उत्कृष्ट डिफेन्डरको अवार्ड जिते।  आर्मीकै दिप लामाले सर्वाधिक गोलकर्ता बने। व्यक्तिगत विधामा उत्कृष्ट ठहरिएका प्रत्येक खेलाडीले  जनही १५–१५ हजार रुपैयाँ जिते।

संकटाका सल्यान खड्गी उत्कृष्ट प्रशिक्षक घोषित भए। उनले नगद २० हजार रुपैयाँ जिते। विजयी खेलाडी तथा प्रशिक्षकलाई खेलकुद मन्त्री दलजित श्रीपाइलीले पुरस्कार वितरण गरे। रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा फागुन १२ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका २ सहित १० टोली सहभागी थिए।

यो पनि पढ्नुहोस् : पञ्चायतकालमा चलेको त्यो गोल्डकप 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.