|

खोटाङ : खोटाङमा डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको हो।

ल्याब स्थापना भएपछि खोटाङबाट सुनसरीको झुम्का प्रयोगशालामा लगेर माटो परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ। सोल्मामा स्थापना गरिएको प्रयोगशालामार्फत ४८ घण्टामै परीक्षणको रिपोर्ट आउने बताइएको छ।

यसअघि परीक्षण रिपोर्ट आउन एक महिना कुर्नुपर्ने बाध्यता थियो। पशुतर्फ कृत्रिम गर्भधारण, पशुपक्षीको स्वास्थ्य परीक्षणलगायत काम ल्याबबाट नै प्रवाह हुने नगर प्रमुख दीपनारायण रिजालले बताए। नगरपालिकाले गत शनिबार नै नगरभित्रका १५ वटै वडा कार्यालयलाई चार लाख बराबरको माटो परीक्षण उपकरण हस्तान्तरण गरेको छ।

नगरपालिकाको चार लाख ९६ हजारको लागतमा वडा नं २ सोल्मास्थित प्रांगारिक मल तथा बायो ग्यास उद्योगसँगै डिजिटल सोयल टेस्टिङ मिनी ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरेको हो। 

त्यस्तै गरी जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ४९ जना किसानलाई बोयर तथा खरी जातको बाख्रा वितरण गरेको छ। स्विस विकास सहयोग नियोग (एसडिसि)को आर्थिक सहयोग एवं नेपाल कृषि सेवा विकास कार्यक्रम (प्रयास)सँगको साझेदारीमा गाउँपालिकाले बोयर बाख्रा वितरण गरेको  हो। 

व्यवसायिक रुपमा बाख्रापालन गरिरहेका दुई किसानलाई एक/एक वटा शतप्रतिशत शुद्धता भएको बोयर बोका, सात जना किसानलाई एक/एक वटाका दरले ५० प्रतिशत बोयर बोका, बाख्रा पालनमा मेहनत गरिरहेका ३० जना अतिविपन्न तथा सीमान्तकृत महिलालाई जनही चार वटाका दरले १ सय २० वटा खरी जातको बाख्रा र कोभिड–१९ का कारण वैदेशिक रोजगार गुमाएका १० जना युवालाई जनही पाँच वटाका दरले ५० वटा खरि बाख्रा वितरण गरिएको गाउँपालिका गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईलले बताए।

गाउँपालिकाले अतिविपन्न तथा सिमान्तकृत समुदायका महिला, कोरोना भाइरसका कारण रोजगार गुमाएर विदेशबाट फर्किएका युवा तथा गाउँमै व्यवसायिक रुपमा बाख्रा पालनमा क्रियाशील बाख्रापालक किसानलाई १ सय ८९ वटा बोका तथा बाख्रा वितरण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.