|

पर्वत : जलजला गाउँपालिका–३ माझफाँट स्थित वारी बेनीका ३० वर्षीय सुमनबहादुर खत्रीले मालपोत कार्यालय पर्वतमा बिहीबार दिउँसो तोडफोड गरेको समाचार बाहिरियो।​ ​कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, हाजिरी मसिन, ल्याप्चे मसिन, फोटोकपी मसिन, फोटो खिच्ने मसिन लगायतमा क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार आफ्नो काम समयमा नभएको भन्दै ती युवाले कार्यालयमा रहेका सामग्रीमाथि हातपात गर्दा कम्प्युटर लगायतका सामग्रीमा क्षति पुगेको विवरण संकलन गरिएको छ भने केही कागजातहरू पनि च्यातिएका छन्।

‘उहाँको विषयमा अनुसन्धान भइरहेको छ। सामग्रीमा क्षति पुगेको केही कागजातहरू च्यातिएको भन्ने छ’, उनले भने, ‘अदालतबाट म्याद थप गरेर काम भइरहेको छ। उहाँ हाम्रो हिरासतमा हुनुहुन्छ।’

सुमन परिवारका जेठा छोरा हुन्। उनलाई ६२ वर्षीय बुबा श्यामबहादुर खत्रीले एउटा घर राजीनामा पास गरिदिन लागेका थिए। यसको सिलसिलामा सुमन, श्रीमती कमला र बुबा गत कार्त्तितक १४ गते मालपोत कार्यालय पर्वतमा आएका थिए। एकै दिनमा काम सकिएला भन्ने त उनीहरूलाई लागेको थिएन। त्यही पनि बढीमा दोस्रो दिनसम्ममा नामसारीको काम सकिएला भन्ने उनीहरूको मनमा थियो।

यस्तो छ खत्रीकी श्रीमती कमलाको भनाइ

‘छिटो काम गर्नुपर्ने थियो। तर कर्मचारीहरूले ढिला गरिदिनुभयो। पहिले भइसकेको कामलाई डिलिट गरिदिनुभयो। मूल्यवृद्धि भएको भनेर पहिले तयार भएको फर्मेटलाई डिलिट नयाँ बनाउनुपर्ने भन्नुभयो।

कात्तिकको १४ गते जाँदा काम भएन, १८ गते जाँदा पनि भएन, २६ गते जाँदा पनि भएन, मङ्सिरको २ गते जाँदा पनि भएन, फेरि भोलि आउनु भनेर तीन गतेलाई बोलाउनुभयो। म्याग्दीबाट पटक पटक ट्याक्सी रिजर्भ गर्दै आउँदै गरियो। हामीलाई यति धेरै किन झुलाइएको हो? २ गते मेरो पेपरहरू दिनुहोस् भन्दा हामीलाई कागजात पनि फिर्ता दिइएन।

२ गते ४ बज्न लाग्दा पनि काम भएन। फेरि भोलि आउन भनियो। २ गते हाम्रो काम जसै सकिन्थ्यो। तर एउटाले तैँले गर अर्कोले तैँले गर भन्दै उनीहरू हाम्रो काम गर्नबाट पन्छिए। लेखेको मात्रै चार हजार रुपैयाँ माग्नुभएको थियो। बाहिर बुझ्दा हजार रुपैयाँ मात्र दिए हुने रहेछ।

मेरो श्रीमानले लेखनदासलाई अरूको लेखेको हजार हामीले किन चार हजार दिने? भनेर उनीहरूलाई सोध्नुभयो। त्यो बेलासम्म फोटो खिच्ने, फिङ्गर प्रिन्ट लिने लगायतका काम भइसकेका थिए। दुई गते दुई बजेपछि लेखनदास आउनुभयो अनि कति धेरै काम हुन्छ यति चार हजारले तपाईँको काम हुँदैन भन्नुभयो। यो त थोरै हो अरुले छ हजार १० हजार पनि दिन्छन् भन्नुभयो। हामी वेटीङ एरियामा बसिरहेका थियौँ। हामीलाई केही थाहा थिएन।

लेखनदासले मेरो श्रीमानसँग भएका पेपरहरू मागेर लग्नुभएछ। लेखनदासहरूले के कुरा मिलाए थाहा भएन तर तपाईँहरूको त मूल्य परिवर्तन गर्नुपर्ने रहेछ भने। यसमा मूल्य वृद्धि गर्नुपर्छ भने। हामीलाई बोलाएर लैजानुभयो। अनि पहिले तयार पारेका सबै फर्मेटहरु डिलिट गर्नुभयो। तीन बजे पेपर भित्र दिएपछि उनीहरूले कुनै काम नै गरेनन्। मेरो श्रीमानले काम सकाइदिन भनेर धेरै पटक रिक्वेस्ट पनि गर्नुभएको हो। बच्चा स्कुलमा छोडेर आएका हो छिटो काम गरिदिनु भनेर मैले पनि धेरै पटक भनेकी थिएँ। यही कारण असह्य भएर मेरो श्रीमानले यस्तो गर्नुभएको हो।’

यस्तो छ मालपोत कार्यालयको भनाइ

घटना भएपछि मालपोत कार्यालय विज्ञप्ति जारी गरेर अभियुक्त सुमनले पालो आउनुपूर्व नै आफ्नो काम सक्न खोजेको दाबी गरेको छ। कोभिड-१९ को उच्च जोखिममा समेत प्रक्रिया पुगी आएका कामलाई तोकिएकै समयमा पूरा गर्ने गरिएको समेत कार्यालयले बताएको छ।

सुमनका बुबा श्यामबहादुरले दिएको द.नं. २४८९ रहेको निवेदनको पुस दुई गते स्रेस्ता संशोधनको निवेदन पेस गरी सोही दिन कार्यसम्पादन भएको तर रजिस्ट्रेसन फाँटमा पुगा न्यूनतम मूल्य नपुगेकोले पुन संशोधित लिखित बनाइएको कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।

'दिउसो ३: ४० बजे लिखित पुन प्राप्त भए पछि पालो अनुसार मोठ, कम्प्युटर जाँच हुँदै जाँदा निजको पालो भन्दा पहिल्यै कार्यालय समय समाप्त भई बाँकी सबै कार्य भोलि हुने जानकारी गराएपछि चार बजेर पाँच मिनेटमा खत्रीले आवेशमा आई एकद्धार प्रणाली कक्षाको ढोका खोली कार्यकक्षमा रहेको सिपियु, मनिटर, बायोमेट्रिक डिभाइस, स्क्यानर मसिन, ई–हाजिरी मसिन, रिभल्भिङ चियर, किबोर्ड तोडफोड गरी कागजातहरू च्यातिएको छ।'

कार्यालय प्रमुख मुकुन्द शर्मा लामिछानेद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सेवा प्रवाहका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा गुनासो सुन्ने अधिकारी वा कार्यालय प्रमुख समक्ष गुनासो वा उजुरी गर्न सकिने कानुनी व्यवस्था हुँदाहुँदै कार्यालय समय पश्चात बलपूर्वक सरकारी कार्यालयभित्र प्रवेश गरी सार्वजनिक सम्पत्तिलाई क्षति पुर्‍याएकोमा यस्तो निन्दनीय कार्यालाई निरुत्साहित गर्न सम्बन्धित सबैमा ध्यानाकर्षण गराउन चाहान्छौँ।’ 

अभियुक्तमाथि गर्व गर्छन् नागरिक

सरकारी कार्यालयहरूले काममा ढिलासुस्ती गर्दा कार्यालयमा आक्रमण गर्नुपर्ने अवस्था आएकोले सुमनले बाध्य भएर तोडफोड गर्नुपरेको सेवाग्राही बताउँछन्।
देशमा लोकतन्त्र आए पनि सामान्य नागरिकले काम लिन भने पुरानै शैली अपनाउनु परेको, कार्यालयहरूले समयमा सेवा प्रवाह नगरेको लगायतका कारण आम नागरिकले अन्यायका विरुद्धमा जुरमुराउन पर्ने बेला आएको मालपोत कार्यालय नजिकै बस्दै आएका एक जना स्थानीयले बताए।

‘अदालतमा एक पानाको निवेदन लेखेको ३५ सय रुपैयाँ लिएको मैले देखेको छु। यहाँ गरिब र असाह्यहरुलाई लुटपाट गरिएको छ।​ अड्डाहरूमा वैधानिक तरिकाले मान्छेलाई ठगिएको छ। कार्यालयहरूले समयमा सेवा नदिएपछि मान्छेले रिस धान्न सक्ने अवस्था रहँदैन’, उनले भने, ‘अब सबै नागरिक सचेत हुने बेला आएको छ। सुमनले तोडफोड गर्नु गल्ती हो म मान्छु तर उसलाई तोडफोड गर्न बाध्य बनाइएको हो भन्ने कुरा सबैले थाहा पाउनुपर्छ।’

सामाजिक सञ्जालहरूमा समेत सुमनलाई तोडफोड गर्न बाध्य पार्ने अवस्था आउनुको दोष कार्यालयहरूले गर्ने सेवा प्रवाहको अवस्था रहेको बताएका छन्। ‘सबै प्रश्नको उत्तर तिनै युवा जानुन् या मालपोतका कर्मचारी जानुन्।

हामीले जान्ने कुरा यो हो कि आजको दिनमा पनि त्यति टाढाबाट सेवा लिन आएको सेवाग्राहीको काम चार दिनसम्म पनि नसकिएर पाँचौ दिन कुर्नुपर्‍यो र उनले आफैँलाइ कन्ट्रोल गर्न सकेनन्। विद्रोह गरे! उनलाई ससम्मान छोडिनुपर्छ र राज्यले कुनैपनी सेवाग्राहीको काम एक दिनमै सक्ने म्यानपावर र प्रविधि सुरु गर्नुपर्छ!’

सामाजिक सञ्जाल फेसबुकको एउटा ग्रुरुपमा लेखिएको छ, ‘आजको केशमा मालपोत कर्मचारी र ती युवाभन्दा पनि राज्यव्यवस्थाले अपराध गरेको छ! जेल ती युवालाई हैन राज्यका शासकहरूलाई हाल्नुपर्छ! ती युवाले अति भएर आफलाइ सम्हाल्न नसकेको हुँदा प्रहरी, प्रशासन र अदालतले ती युवालाई ससम्मान रिहा गर्नुपर्छ!’

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.