|

पर्वत : आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि देश राजनीतिको रापमा परेको छ।

संसद् विघटन भएपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेता तथा कार्यकर्ताको जमात एकातर्फ एकत्रित भएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता तथा कार्यकर्ताको अर्को जमात छ।

पछिल्लो समय नेकपाभित्र भइरहेको खटपटले नेता र कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा त विभाजित गराएको थियो नै अब भने भौतिक रूपमै विभाजन देखिएको छ। यही सिलसिलामा दुवै पक्षले पर्वत सदरमुकाम कुस्मा बजारमा आइतबार र सोमबार नाराबाजी गरे। यसलाई धेरैले शक्ति प्रदर्शनको रूपमा पनि व्याख्या गरेका छन्।  

संसद् विघटनको विरोध गर्दै आइतबार साँझ अनेरास्वबियू पर्वतको नेतृत्वमा नेकपाको पार्टी कार्यालय नजिकै मैत्री चोकबाट सुरु भएको विरोध र्‍याली शिवालय चोकमा पुगेर कोणसभामा परिणत भयो।

कोणसभामा बोलेका विद्यार्थी नेताहरूले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई मिचेको, देशलाई खाडलमा हालेको, पार्टीकै अन्य नेताहरूको कुरा नसुनी एकलौटी निर्णय गरेर अतिवादको ब्यहोरा देखाएको बताए। उनीहरूले प्रधानमन्त्रीको बिरुघमा नाराबाजी गर्दै पुत्लासमेत जलाएका थिए।

प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरूले सडकमा देखाएको शक्ति नियालेका ओली पक्षधरका नेता तथा कार्यकर्ताहरूले सोमबार मोटरसाइकल जुलुस निकालेर आफ्नो पक्षको शक्ति देखाए।

पार्टी कार्यालय नजिकैबाट मोटरसाइकलको हर्न बजाउँदै बजार परिक्रमा गरेका कार्यकर्ताहरू प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरूले कोण सभा गरेकै ठाउँ शिवालय चोकमा पुगेर कोणसभामा सहभागी भए। कोणसभामा बोलेका वक्ताहरूले प्रधानमन्त्री ओलीले लिएको निर्णय नै अहिलेको आवश्यकता रहेको भन्दै उनले चालेको कदमको विरोध गर्नुको कुनै तुक नरहेको तर्क गरे।

दुईतर्फी शक्ति प्रदर्शन चलिरहँदा पनि यसलाई शक्ति प्रदर्शनका रूपमा भने नलिइएको नेकपाका नेताहरूको भनाइ छ। नेकपा कुस्मा नगर कमिटीका अध्यक्ष शङ्कर गिरीले यसलाई शक्ति प्रदर्शनको रूपमा भन्दा पनि सरकारले गरेका निर्णयको पक्ष र विपक्षमा भएको प्रदर्शन भन्न रुचाए।

‘यो निर्णय बदनियत पूर्ण तरीकाले भएको छ। यो अलोकतान्त्रिक पद्धति हो, संविधानमाथि कु गरिएको हो। संविधानमा संसद् विघटनको गुञ्जायस नै छैन, तर यो निर्णय भयो नि! यो भनेको तानाशाही प्रवृत्ति हो,’ उनले भने, ‘संसद् विघटन त भएकै छैन। व्यक्तिले संविधानभन्दा माथि उठेर लहडको भरमा बोल्दैमा विघटन भएको हुँदैन। संविधानमै नभएको चिज ल्याएर, विश्वव्यापी प्रचलन हो भन्न पाइन्छ? यहाँ बूढी  मरीभन्दा पनि काल पल्केको पिर हो। चुनाव हुन्छ भन्ने कुनै ग्यारेन्टी पनि त छैन।’ 

पार्टी फुट्न सक्ने सम्भावनाका बारेमा सोधिएको सवालमा उनले पार्टी फुटाल्न सम्भव नरहेको बताए। कम्युनिस्ट आन्दोलनको लागि पार्टी फुटाल्नु गलत हुने बताउँदै गिरीले पार्टी, देश र जनताको हितको पक्षमा काम नगर्नेहरू पार्टीबाट निक्लनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कु’ गरेको भनी गिरीले बताइरहँदा युवा सङ्घका केन्द्रिय सदस्य विमल लामिछानेले भने पार्टीभित्रैका नेताले चौतर्फी घेराबन्दीमा पारेपछि ताजा जनादेशमा जानुको विकल्प नरहेको दाबी गरे।

देशको समृद्धिका लागि काम गर्दै गर्दै निहित स्वार्थको लागि प्रधानमन्त्रीलाई घेराबन्दीमा पारिएको उनको भनाइ छ। नेकपाका सचिवालय सदस्य शिव पौडेलले दुई तिहाइको जनमतलाई प्रचण्ड–माधव समूहले सम्हाल्न नसकेको आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.