एमालेकै सहयोगमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकेको भए उचित हुन्थ्यो: नेता नेपाल

|
फोटोः दीपक केसी/थाहाखबर

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सत्ता समीकरण टुटेको मन परेको छैन। पछिल्लो राजनीतिक अवस्थाले देशलाई अस्थिरताको भूमरीमा पुर्‍याउने विश्लेषण गर्ने नेता नेपाल समीकरण टिकाउन एमालेको बुद्धि नपुगेको बताउँछन्। उनको मूल्यांकनमा ओली सरकार केही अपवाद छोडेर काममा भन्दा गफमा बढी रह्यो। मुलुकको पछिल्लो राजनीतिक परिवेशबारे थाहाखबरका लागि तीर्थ कोइराला र अर्जुन खड्काले नेता नेपालसँग उनकै निवास कोटेश्वरमा शुक्रबार बिहान गरेको थाहासंवाद।

सरकार परिवर्तनको खेल कसरी सुरु भयो?

घटनाक्रम अहिले धेरै अगाडि बढिसक्यो। चलखेलको स्थितिबाट अघि बढेर मुलुक अविश्वासको प्रस्तावको स्थितिमा पुगिसक्यो। तर यो स्थिति एकाएक भएको होइन।

सरकार परिवर्तनको खेल किन भयो?

यो हाम्रो बुद्धि नपुगेर भयो।

हाम्रो भन्नाले?

नेकपा एमालेको।

कसरी?

समयमा विचार नपुर्‍याएर। हतारमा निर्णय गर्ने। विचार पुर्‍याएर निर्णय नगर्ने भएर हो। नेपाली कांग्रेसको हातबाट सरकार लिने बेलामा माओवादीसँग समग्र अवधिको सम्झौता गरेको भए, त्यो सम्झौताको आधारमा सबै पदको बाँडफाँड गरेको भए, राम्रो हुने थिएन?

यो सरकार अहिलेको स्थितिमा आइपुग्नुमा विगतमा कार्यान्वयन गर्नै नसकिने सहमति गरेर हो?

कुन बुँदा? कुन सहमति?

द्वन्द्वकालका मुद्दामा आममाफी दिने खालको व्यवस्था वा द्वन्द्वकालमा घरायसी कागजका आधारमा खरिदबिक्री गरिएका जग्गाको स्वामित्वलाई प्रस्तुत प्रमाणका आधारमा रजिस्ट्रेसन गर्ने लगायतका सहमति?

त्यो बैध छैन। त्यसो गरे अहिलेको गठबन्धन पनि टिक्दैन। अब त्यो विषय कति ‍औचित्यपूर्ण छ त्यसको विश्लेषण गर्नुपर्ने हुन्छ मैले राम्ररी बुझिरहेको छैन। जग्गाको मामिला, ठगीको मामिला वा धम्कीको मामिला र त्रासको कारण भएको कुराहरु त्यो संविधानत राज्यले स्वीकार गर्दैन।

राजनीतिको आडमा गैरराजनीतिक चलखेल धेरै भए भन्ने सुनिन्छ। सोही कारण देशको राजनीति सही बाटोमा जान नसकेको हो?

अवश्य पनि। तत्कालको सन्दर्भलाई छोडेर कुरा गर्दा पनि यो संविधानभित्र नै त्रुटीहरु छन्। संविधानभित्र नै हामीले समानुपातिकको कुरामा बढोत्तरी गरेका छौं। यसले कहिले पनि स्थिर सरकार दिन सक्दैन। अस्थिरता निम्तिरहनेछ। जहिले पनि सरकार बन्ने र ढल्ने क्रम जारी रहन्छ। साना दलहरुले अनुचित माग गरेर बखेडा खडा गरिरहने छन्। अनुचित काम रोक्न खोज्दा सरकार छाडिदिन्छु भनेर घुर्की लगाइरहन्छन्। अस्थिरताको प्रवृत्ति बोक्नेहरुको सोच हावी भएजस्तो देखिन्छ। म र नेकपा एमाले यसमा सहमत होइन। हामी त बाध्यतामा परेको किनभने जसरी पनि संविधान छिटोभन्दा छिटो ल्याउनुपर्दछ भन्ने सोच थियो। छिटो ल्याउनुपर्दा कतिपय कुरामा सम्झौता भएका हुन्।

सरकारहरु परिवर्तन भइरहने र नेताहरुको चाहना परिपूर्ति भइरहने। जनताको चाहना चाहिँ कहिले पूरा हुने त?

हामीले जुन समानुपातिक निर्वाचन प्रणाली लागू गरेका छौं। यो त्रुटीपूर्ण छ। यही तरिका हो भने हामीले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ। त्यो भयो भने पाँच बर्षसम्म एउटै प्रधानमन्त्रीले मुलुक चलाउने अवस्था आउँछ।

मैले दुइटा प्रस्ताव राखेको थिएँ। यदि राष्ट्रिय सहमतिको सरकार बनाउन नेपाली कांग्रेस तयार भए त्यो वातावरणको निम्ति अगाडि बढौं। त्यस्तो सरकार गठनको आधार, नीति तथा कार्यक्रम तय गरौं र अन्तिममा प्रधानमन्त्री को बन्ने टुंगो लगाऔं भनेको थिएँ। सुरुमै प्रधानमन्त्री को भनेर जाने काम नगरौं। यो मेरो पहिलो प्रस्ताव थियो।

दोस्रो हामो संसदमा संख्या पूरा छैन। कसैले साथ छोड्दा सरकार ढल्छ। यो स्थिति क्लियर छ। माओवादीलाई बरु मौका दिन सकिन्छ। अहिलेको गठबन्धनलाई कायम राख्न पर्छ भन्ने मेरो प्रस्ताव थियो। यसमा कमल थापाजीको पनि सहमति थियो र विजय गच्छदारले पनि मान्नुभएको थियो। अरुले पनि हुन्छ भनेका थिए। माओवादीलाई प्रधानमन्त्री दिन पनि मेरो प्रस्ताव यही सरकारलाई चार महिना रहन दिने थियो। चिनियाँ राष्ट्रपतिको प्रस्तावित भ्रमण पनि सम्पन्न होस्। त्यसपछि माओवादीलाई सरकारको नेतृत्व दिने। खास अवधिपछि माओवादीले फेरि एमालेलाई नेतृत्व सुम्पने। यो मेरो प्रस्ताव थियो।

किन लागू भएन त तपाईंको प्रस्ताव?

चासो देखाइएन। ध्यान दिइएन। या हाम्रो तर्फबाट डिलिङमा त्रुटी भयो कि के भयो?

एमाले ओभरकन्फिडेन्स भएको हो कि रणनीतिक रुपमा चुक्यो?

बुद्धि पुगेन। मान्छे भावावेशमा निर्णय गर्छ भने एकलकाँटे निर्णय गर्‍यो भने अनि यस्तै हुन्छ। सामूहिक छलफल गरेको भए सामूहिक रुपमा रणनीति बनाएको भए यो अवस्था आउने थिएन।

सत्ता समीकरण टुटनुमा एमालेबाहेक अरु कारण देख्नुहुन्छ?

समीकरण टुट्नुमा अर्को कारण माओवादी अध्यक्ष प्रचण्डको सत्ताको चाहना हो। त्यसभित्र अरु पनि कारण होलान् शान्ति प्रक्रियाका कुराहरु उहाँ अगाडि सार्नुहुन्छ। संख्यात्मक पक्ष हुनसक्छ। अर्को उहाँको प्रधानमन्त्री केपी ओलीप्रति गुनासो छ। प्रधानमन्त्रीको पनि उहाँप्रति गुनासो छ। दुवैको कुरा नसुनिकन यसै भन्न सकिँदैन। प्रचण्ड भन्नुहुन्छ - कुनै परामर्श भएन, सल्लाह नै नहुने एकलौटी काम हुने। दोहोरो छलफल हुँदै नहुने भन्ने प्रचण्डको गुनासो सुनिन्छ। प्रधानमन्त्री भने मैले पर्याप्त छलफल गरेकै थिएँ, उहाँ (प्रचण्ड) मा पदीय आकांक्षा जागेर आयो भन्नुहुन्छ। सबैका गुनासा आआफ्ना छन् अब आरोप प्रत्यारोप गरेर फाइदा छैन। राष्ट्रिय सहमतिको खाँचो छ।

समीकरण टुट्नुमा बाह्य शक्त्तिको हस्तक्षेप भएको भनिन्छ नि?

मलाई त्यस्तो लाग्दैन। हामी आफू ठीक हुनुपर्‍यो। बाहिर कसले के गर्‍यो भन्नुभन्दा आफू ठीक र सही ठाउँमा उभिनु पर्‍यो।

अब अहिले विदेशीको हस्तक्षेप नै थियो भने त्यो राम्रो होइन। मनमा चाहना राख्नु एउटा कुरा। कुनै विदेशीले कुनै पनि मुलुकप्रति सामिप्यता, धारणा, सद्भाव वा मूल्यांकन गर्न सक्छन्। एउटा सीमा नाघेर अघि बढ्नु हुँदैन। तर कोही सीमा नाघेर अघि बढ्दैछ भने त्यसलाई असफल पार्न त आफूले पनि बुद्धि पुर्‍याउनु पर्‍यो। यदि हामीले, नेकपा एमालेले बुद्धि पुर्‍याएको भए यो अवस्था आउने थिएन।

एमाले संसदीय दलको बैठकमै प्रधानमन्त्रीले त भारतको डिजाइन र हस्तक्षेपमा सरकार गिराउने चलखेल भयो भन्नुभयो नि?

उहाँले केही कुरा भन्नुभयो त केही तथ्यहरु, केही प्रमाण र केही आधारमा भन्नुभएको होला। त्यसबारे मलाई थाहा भएन र म भन्न सक्दिन। यसबारे उहाँलाई नै सोध्न उचित होला। बाह्य शक्त्तिले नेपालको मामिलामा हात हाल्न हुँदै हुदैन भन्ने मेरो धारणा हो। नेपालको मामिला हामी आफैंले हल गर्नुपर्छ। तर ती मान्छेहरु कस्ता होलान् जो विदेशीले उठभन्दा उठ्ने बस भनेपछि बस्ने। म त हाम्रै देशका नेताहरुलाई भन्न चाहन्छु सद्भाव कसैको कसैप्रति होला। कसैको कसैप्रति विमति होला। म प्रधानमन्त्री हुँदा युरोपिनयनहरुको हितमा काम नगरेकोले उनीहरु पनि मसँग रिसाएका होलान्। अनमिनलाई विदा गरेकोले कतिपयलाई चित्त नबुझेको होला। त्यति हुनु त स्वभाविक हो। त्यो दुईचार दिनको मात्र कुरा हुन्छ। हामीले हाम्रो देशको हित सोच्ने हो।

नेपालमा सरकार परिवर्तनमा अपवादबाहेक विदेशी दबाब भयो, भारतको हस्तक्षेप भयो भन्ने सुनिन्छ। तपाईंकै पालामा पनि सुनिएको थियो। त्यस्तै हो त स्थिति?

प्रचण्डजीले किन राजीनामा दिनुभयो त त्यतिबेला? म अरुलाई दोष दिन्न। हामी ठीक भए सब ठीक हुन्छ। तपाईं प्रधानमन्त्री बन्न वा सुविधा पाउन लल्लरी गाउनु हुन्छ, पदको मर्यादा राख्नु हुन्न भने तपाईंलाई हेप्छन् नै। हामी के गर्छौं जनतासँग पदीय अहम् राख्छौं पदीय मर्यादा ख्याल गर्नुपर्ने ठाउँमा ख्याल गर्दैनौं।

तपाईंहरु तीनवटा प्रमुख पार्टी मिलेर जारी गरेको संविधान अब तपाईंहरुले नै च्यात्ने हो?

होइन। अरुका चाहना आफ्ना ठाउँमा छन्। केपी ओलीको कसैसँग सम्बन्ध मीठो हुँदाखेरी उ अझै बसिदिए हुन्थ्यो भन्ने चाहना राख्नु, अलि तीतो हुँदा उ हटिदिए हुन्थ्यो भन्ने चाहना राख्नु आफ्नो ठाउँमा छ। त्यसलाई म ठूलो ठान्दिन। तर नेपालको हितलाई ध्यानमा राखेर हामी चल्नु पर्‍यो।

यो सरकारका प्रमुख उपलब्धी के ठान्नुहुन्छ?

यो सरकारभन्दा पनि एमालेको प्रमुख भूमिका संविधान ल्याउनमै रह्यो। नाकाबन्दी हटाउन भूमिका खेल्ने काम सरकारको महत्वपूर्ण हो। मधेसवादी दलहरुलाई नाका छोडेर जुनसुकै अवस्थामा भए पनि काठमाडौं र संसदसभा वरपर आउन प्रत्यक्ष वा परोक्ष रुपमा जुन भूमिका खेल्यो वा परिस्थितिले साथ दियो। यसलाई सकारात्मक रुपमा लिनुपर्छ। अनि राम्रो नीति तथा कार्यक्रम र बजेट आएको छ।

जनजिविकाको सवालमा नि?

काममा बढी जोड गएन कुरोमा बढी जोड भयो। कुरोसम्म ठीक भयो तर कामचाँहि ठीक भएन। जवकि कामको आवश्यकता अहिले छ।

पछिल्लो राजनीतिक कदमले देशलाई कहाँ पुर्‍याउँछ?

देशलाई अस्थिरताको भूमरी पार्छ।

अब के गर्नुपर्छ ?

हिजोका कतिपय कुराबाट माथि उठेर देशलाई कसरी नयाँ ढंगले देशलाई सहमतिका साथ अघि लैजान आवश्यक छ।

एमाले र माओवादीबीच फेरि सहमतिको संभावना छ?

माओवादीमात्र किन? कांग्रेससँग पनि मिलेर जानुपर्छ। मधेसवादी दल र सबै घटकहरुलाई समेत मिलाउनुपर्‍यो। कम्तीमा आगामी चुनावसम्म सहमतिका साथ अघि बढ्न सबैका लागि श्रेयष्कर हुन्छ।

प्रमुख दलहरुबीच नयाँ सहमति हुनेमा आशा गर्ने ठाउँ छ?

अहिलेलाई म धेरै आशावादी त छैन। तर प्रयास भने जारी राख्नुपर्छ।

प्रधानमन्त्रीले सरकार नै परिवर्तन हुँदैन। नयाँ संविधानअनुसार सरकार परिवर्तन हुनै सक्दैन भन्ने अभिव्यक्त्ति दिनु भएको छ। स्थिति त्यही हो?

उहाँले संविधानका जानकारहरुसँग परामर्श गरेर त्यसरी बोल्नुभएको होला। मैले त्यो ढंगले अहिलेसम्म हेरेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.