विश्वका नेताद्वारा निन्दा

|

अमेरिकाको संसद भवन क्यापिटल हिलमा राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकले तोडफोड गरेका छन्।

गत निर्वाचनमा ट्रम्पलाई पराजित गर्दै विजयी बनेका जो बाइडेनको विजयी घोषणा गर्न आयोजित विशेष बैठकमा ट्रम्प समर्थकहरु सुरक्षा घेरा तोडेर प्रवेश गरेका थिए। चुनावी परिणाम रोक्न नाराबाजी गर्दै पुगेको भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ।

यो घटना प्रजातन्त्रमाथिको सबैभन्दा ठूलो हमला भएको बताउँदै सत्ता हस्तान्तरणको कार्य शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विश्वका नेताहरुले अपील गरेका छन्। 

बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले यसलाई अत्यन्तै शर्मनाक घटना भन्दै निन्दा गरेका हुन्।स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टरगनले पनि ती दृश्यहरु भयावह भएको प्रतिक्रिया दिएकी छन्। 

स्पेनका प्रधानमन्त्रीले चाहिँ आफू अझै पनि अमेरिकी प्रजातान्त्रिक शक्तिमा विश्वास गर्ने भन्दै ट्वीट गरेका छन् र जो बाइडेनको नयाँ प्रशासनले यस तनावग्रस्त माहोलबाट देशलाई बाहिर निकाल्दै अमेरिकी जनतालाई एकिकृत गर्ने बताएका हुन्।

जर्मनीका विदेश मन्त्रीले चाहिँ ट्रम्प र उनका समर्थकहरुले चुनावको हार स्वीकार गर्नैपर्ने बताउँदै अमेरिकी मतादाताहरुलाई विश्वास गरि प्रजातन्त्रलाई कुल्चिन नदिन अपील गरेका हुन्।

युरोपियन काउन्सिलका अध्यक्ष चाल्र्स माइकेलले पनि अमेरिकाले शक्ति हस्तान्तरण शान्तिपूर्ण ढङ्गमा हुने सुनिश्चित गर्न सक्नेमा विश्वास जनाएका हुन्। 

उता युरोपेली युनियनकी प्रमुख उर्सला भोनले चाहिँ डेमोक्रेट र बाइडेनसँग आगामी दिनहरुमा साथ काम गर्ने अपेक्षा जनाएकी छन्।  नाटोका सचिव जेनेरल जेन्स स्टोल्टनबर्गले निर्वाचनको परिणामलाई सम्मान गर्न अपील गरेका छन्।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रिड्युले चाहिँ प्रजातन्त्रमाथि सिधा हमला भएको देखेर आफू अत्यन्तै दुःखी र निराश भएको बताएका हुन्। 

अष्ट्रेलियाका प्रधामन्त्री स्कट मरिसनले पनि ती हिंसात्मक दृश्यहरु भयावह रहेको भन्दै आफूले शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनेमा विश्वास रेहको बताएका हुन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.