सरकारको तीन वर्षे अवधिमा प्रचण्डले खुट्टा तान्नेबाहेक काम नगरेको तर्क

|

सर्लाही : सरकारले तोकेकै समयमा निर्वाचन सम्पन्न हुने उपप्रधानमन्त्री ईश्वर पोखरेलले ठोकुवा गरेका छन्। 

मंगलबार सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको प्रांगणमा ओली पक्षको नेकपाको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले २०७८ वैशाख १७ र २७ गते नै प्रतिनिधिसभाको निर्वाचन हुने दाबी गरे। 

साविक सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ तरंगित भइरहने, अवसरको खोजी र अन्तरविरोधमा खेलेर शक्तिमा मात्रै केन्द्रित भएकाले पार्टी एकता जोगाउन कठिन भएको बताउदै अन्तत विभाजनको स्थिति आएको उनले बताए।

सरकारको तीन वर्षको अवधिमा प्रचण्डले खुट्टा तान्ने बाहेक काम नगरेका समेत उनले आरोप लगाए। दुई तिहाइको सरकारले कामै गर्न सकेन भनेर गलत प्रचार गरी हिँड्ने बानीले अहिलेको अवस्था आएको उनको भनाइ थियो।

मुलुकको प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट संगीन आरोप लगाए पछि नयाँ जनादेशमा जानुको विकल्प नरहेकोले संसद विघटन गर्नुपरेको उनले सुनाए। कोरोनाका कारण नौ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमा पनि चाँडै खोल्ने उनले प्रतिबद्धता समेत जनाए। 

मन्त्रिपरिषदबाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भए बमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचनको मिति तोकिएको छ।  

तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धतासाथ लागिपरेको उनले बताए। कार्यक्रमलाई सहरी विकास मन्त्री प्रभु साह, कानुन मन्त्री लीलानाथ श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।

यता सभालाई सम्बोधन गर्न जाने क्रममा उपप्रधानमन्त्री पोख्रेललाई पूर्वपश्चिम राजमार्गस्थित नवलपुर र मलंगवाको शिवसागर चोकमा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताले कालोझण्डा देखाएका थिए। 

कालोझण्डा देखाउनेमा प्रचण्ड - माधव नेकपाका जिल्ला अध्यक्ष रेवती पन्त, जिल्ला इन्चार्ज डाचाराज वाग्ले, जिल्ला सचिव कमल बुढाथोकी लगायत थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.