कञ्चनपुर : कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएको छ। समायोजनसँगै आगामी शैक्षिकशत्र देखि विश्वविद्यालयका पाठ्यक्रम अनुसार पठनपाठनको कार्य हुने भएको छ।
क्याम्पस र विश्वविद्यालयबीच १ सय १० वटा दरबन्दी स्वीकृत गर्ने सहमति भएको विश्वविद्यालयका रजिष्ट्रार गोविन्द विष्टले बताए। उनका अनुसार सम्झौता अनुरुप क्याम्पसका सबै सम्पत्ति अब विश्वविद्यालय मातहत जानेछ
सात वर्षअघि विश्वविद्यालयको सभाले १५ वटा क्याम्पस समायोजन गर्ने निर्णय गरेपनि कैलाली बहुमुखी क्याम्पस बाहेक १४ वटा क्याम्पस मात्रै समायोजनमा आएका थिए। विश्वविद्यालय सभाले ऐन परिमार्जन गरेसँगै कैलाली बहुमुखी क्याम्पस समायोजनमा आएको हो। वि.सं. २०७० मा भएको विश्वविद्यालयको दोश्रो सभाले कैलाली बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको थियो।
‘विसं २०७४ साल पछि विश्वविद्यालयको सभा बस्न नसक्दा क्याम्पस समायोजन प्रकृया अगाडी बढन सकेको थिएन,’ क्याम्पस प्रमुख पदमराज जोशीले भने, ‘२०७७ को विश्वविद्यालय सभाले टुङ्गो लाग्न नसकेका विषयमा छलफल गरी निष्कर्षमा पुर्याएपछि समायोजन प्रकृयामा गएका हौँ।’
सुदूरपश्चिम विश्वविद्यालयमा यसअघि टीकापुर, दुर्गा लक्ष्मी, जगन्नाथ, जनता, दार्चुला, गोकुलेश्वर, मणिलेक, पाटन, घण्टेश्वरसेती, सीताराम, त्रिवेणी, जयपृथ्वी र बाजुरा बडिमालिका बहुमुखी क्याम्पस समायोजन भएका थिए। समायोजनमा आएका क्याम्पसका चार सय ४४ दरबन्दी स्वीकृत गरिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।