भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदैछ। संसारकै ठूलो लोकतन्त्र भनिएको भारतको गणतन्त्र दिवस यो वर्ष त्यति सुखद देखिएको छैन।
दिवस मनाउने क्रममा सरकारले आज सैन्य परेड र हातहतियार प्रदर्शन गर्दैगर्दा देशभर आन्दोलनरत किसानहरूले दिल्लीको सीमामा रहेका ब्यारिकेड तोड्न थालेका छन्। निजी लगानीकर्ता पोस्नेगरी सरकारले विवादास्पद कृषि कानुन ल्याएपछि भारतका किसानहरू महिनौंदेखि आन्दोलनमा छन्।
समाचार एजेन्सी एएनआइका अनुसार कृषि कानूनको विरोधमा ट्याकटर जुलुस निकालेका किसानहरूले दिल्ली–हरियाणा टिकरी बोर्डरको ब्यारिकेड तोड्ने कोशिस गरिरहेका छन्।
भारतीय किसान आन्दोलनकाे एक तस्वीर : जसले विश्व हल्लाइरहेछ |
किसान एकता मञ्चका नेताहरूले सबै किसानहरूलाई शान्तिपूर्वक र्याली निकाल्न आग्रह गरेका छन् र आजको आन्दोलनलाई नै अन्तिम नसम्झिन पनि सम्झाइरहेका छन्। तर, सरकारविरुद्ध आक्रोशित किसानहरूले गणतन्त्र दिवसकै दिन आन्दोलनलाई निर्णायक बनाउन खोजिरहेका छन्।
किसान नेताहरूले भने सरकारले हिंसा भड्काएर आन्दोलनमा फुट ल्याउन चाहेकाले सतर्क हुन आग्रह गरेका हुन्।
सिंघु बोर्डरमा पनि किसानहरूको ट्याक्टर र्याली शुरु भएको छ। टिकरी बोर्डरमा भइरहेको आन्दोलनमा वृद्धभन्दा युवा किसानहरूको वाहुल्यता देखिएको छ।
सीमा प्रवेश नाकामा सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।