|

गुल्मी :  तानसेनबाट गुल्मी प्रवेश गर्ने सवारी साधनहरूमा तानसेन नगरपालिकाले नियम बिपरित लिएको करको गुल्मीका व्यवसायीहरूले विरोध जनाएका छन्।

गुल्मी प्रवेश गर्ने सवारी साधनमा तानसेन नगरपालिकाले स्थानीय पूर्वाधार सडक उपभोगको नाममा शुल्क उठाउने कार्य तत्काल बन्द गर्नुपर्ने भन्दै गुल्मी उद्योग बाणिज्य संघले गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत पाल्पाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो। 

तानसेन नगरपालिकाले आफूहरूको फाइदाका लागि मनोमानी रूपमा सवारी धनीलाई मर्का पर्नेगरी र विद्यमान कानून विपरीत शुल्क उठाएको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए। नगरपालिकाले उठाउँदै आएको सवारी करलाई तत्काल खारेज गर्नुपर्ने व्यवसायीहरूले माग गरेका छन्‌।

संविधानको धारा २३६ अनुसार एक प्रदेश वा अर्को स्थानीय तहमा हुने बस्तुको ढुवानी वा सेवाको विस्तारमा कुनै किसिमको बाधा-अवरोध गर्न वा कर, शुल्क , दस्तुर वा महसुल लगाउन , बस्तुको सेवा वा ढुवानी सेवा विस्तारमा कुनै किसिमको भेदभाव गर्न पाइने छैन भनी उल्लेख गरिएको छ। 

नगरपालिकाले हल्का सवारी साधन प्रवेशमा २० र फर्किदा २० रुपैयाँ असुल्दै आएको छ भने भारी सवारी साधन प्रवेशमा ४० र फर्किदा ४० रुपैयाँ तिर्न बाध्य भएको संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए। 

दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको ध्यान आकर्षण गराउँदा पनि समस्या समाधान नभए प्रदेश सरकार समक्ष आफूहरू जान बाध्य हुने अध्यक्ष भलामीले बताए। 

यस्तै, पछिल्लो समयमा गुल्मी जिल्लामा अपराधका घटनाहरू बृद्धि हुँदै जानु र अपराधीहरू पत्ता नलागेकोप्रति समेत उद्योग बाणिज्य संघको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी शर्माले पाल्पाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पठाउने र समस्या समाधान गर्न पहल थाल्ने बताएकी छिन्‌।

​व्यवसायीले बुझाएको ज्ञापन पत्र :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.